काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावबारे छलफल गर्न नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
एमाले अध्यक्ष केपी ओलीले आजै साँझ ६ बजेका लागि सचिवालय बैठक बोलाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। बैठक अध्यक्ष ओलीको निवास बालकोटमा बस्ने तय भएको छ।
अध्यक्ष ओलीले भोलि बिहान ११ बजेका लागि संसदीय दलको बैठक पनि बोलाएका छन्। बैठकमा प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावबारे छलफल हुने जनाइएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा जबरालाई पदीय आचरणअनुसार काम नगरेको लगायत २१ वटा आरोप लगाइएको छ।