बुधबार, भदौ ३, २०८३

कमल थापा बने राप्रपा नेपालको अध्यक्ष, फागुन ७ गते घोषणासभा

राष्ट्रिय प्रजातन्त पार्टीमा विद्रोह गरी दलत्याग गरेका पूर्वअध्यक्ष कमल थापाले नयाँ दलको नाम घोषणा गरेका छन्। आफूले विगतमा बनाएकै दल 'राप्रपा नेपाल'मा उनी अध्यक्ष बनेका हुन्।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त पार्टीमा विद्रोह गरी दलत्याग गरेका पूर्वअध्यक्ष कमल थापाले नयाँ दलको नाम घोषणा गरेका छन्। आफूले विगतमा बनाएकै दल 'राप्रपा नेपाल'मा उनी अध्यक्ष बनेका हुन्। 

‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरुको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ। केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ,' नेता थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस कार्यलाई सम्भव तुल्याई दिनुहुने तथा अन्तरिम र संक्रमणकालिन अवस्थामा राप्रपा नेपाललाई जीवन्त तुल्याई राख्न महत्वपूर्ण योगदान दिनुहुने राप्रपा नेपालका नेता लाक्पा तामाङप्रति म हार्दिक आभार व्यक्त गर्दछु।'

२०६३ सालको राजनीतिक परिवर्तनपछि थापाले नै राप्रपा नेपाल गठन गरेका थिए। पछि राप्रपासँग एकीकरण गरिएको राप्रपा नेपालमा थापा अध्यक्ष बनेका थिए। तर पार्टीको गत महाधिवेशनमा थापा अध्यक्षमा पराजित भएपछि नयाँ दलमा समाहित भएका हुन्। राप्रपा नेपालमा थापा नै अध्यक्ष बन्नेछन्। 

राप्रपा नेपालले हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई मूल एजेन्डा बनाएको छ। राप्रपा नेपाल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियताका साथ सहभागी हुने  थापाको उद्घोष छ। फागुन ७ गते काठमाडौंमा घोषणासभा गरिने थापाले जानकारी दिएका छन्। 

यस्तो छ थापाको विज्ञप्ति

देशको धरातलिय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरुको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ। केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ। यस कार्यलाई संभव तुल्याई दिनुहुने तथा अन्तरिम र संक्रमणकालिन अवस्थामा राप्रपा नेपाललाई जीवन्त तुल्याई राख्न महत्वपूर्ण योगदान दिनुहुने राप्रपा नेपालका नेता लाक्पा तामाङ प्रति म हार्दिक आभार व्यक्त गर्दछु। 

राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तन पछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति हो। नेपाली जनताको विश्वास जितेर छोटो समयमा नै राप्रपा नेपाल देशको भरपर्दो शक्ति बन्न सफल भयो। २०७० सालको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरु पछिको तेस्रो ठूलो शक्तिको रुपमा राप्रपा नेपाल देखा प¥यो। राप्रपा नेपाललाई जनताले आशा, विश्वास र भरोसाको नजरले हेर्न थाले।

तर, २०७३ सालदेखि हामीले बाटो विरायौँ। पार्टी ठूलो बनाउने नाममा अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा प¥यौ। गंभीर राजनीतिक भुलका श्रृखंलाहरु शुरु भए। असहज र गलत प्रवृत्तिहरुसंग सम्झौता गर्न थाल्यौं। फलस्वरुप हामी करिव पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिव करिव निस्क्रिय, प्रभावविहिन हुन पुग्यांै। 

नियतिले अन्ततः फेरि हामीलाई ठीक ठाउँमा ल्याईपु¥याएको छ। विगतका त्रुटि, कमजोरीहरुबाट पाठ सिकेर तथा गल्तिहरु सच्याएर फेरी एकपटक आफ्नो गन्तव्यतर्फ अग्रसर रहने अवसर हामीले पाएका छौँ। बिचमा अवरुद्ध भएको हाम्रो यात्रा अब नयाँ उर्जा र अठोटका साथ अघि बढने छ। राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित “सम्बद्र्धनवाद” को मुल शक्ति राप्रपा नेपाल हो भन्ने कुनै द्विविधा छैन। 

राप्रपा नेपालको विरासतलाई निरन्तरता दिंदै अबदेखि “हिन्दुराष्ट्र, सुशासन र समृद्धि” राप्रपा नेपालको मुल एजेण्डा हुनेछ। जनताको भावना र देशको धरातलिय यथार्थलाई दृष्टिगत गर्दै केही मान्यताहरु, प्राथमिकताहरु र कार्यनीतिमा हामी समयानुकुल परिमार्जन गर्नेछांै।

आगामि स्थानीय तहको निर्वाचनमा हामी सक्रियताका साथ सहभागी हुनेछौँ। राप्रपा नेपालको घोषणासभा २०७८ साल फागुन ७ गते काठमाण्डौमा हुनेछ।

राप्रपा नेपालको यो अभियान र यात्रामा सहभागी हुन म सबै साथीहरुमा आह्वान गर्दछु। विगतमा सँगै काम गरेका साथीहरुलाई विना कुनै द्विविधा राप्रपा नेपालमा आवद्ध हुन म आग्रह गर्दछु। हिन्दुराष्ट्र, सुशासन र समृद्धिको मान्यता प्रति विश्वास गर्नु हुने स्वतन्त्र बुद्धिजिवि, नागरिक समाज, तथा विभिन्न दलहरुमा आवद्ध रहेकाहरुलाई पनि राप्रपा नेपाललाई साथ दिन, सहभागी हुन र मार्गदर्शन गर्न सविनय अनुरोध गर्दछु। राप्रपा नेपाललाई देशको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्ने संकल्पमा साथ र समर्थन दिन म नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अपिल गर्दछु। धन्यबाद।

प्रकाशित: Feb 13, 2022| 14:59 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...