काठमाडौं– संघीय संसद्का ९८ जना सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको अगुवाइमा सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर सांसदहरुले प्रस्ताव दताए गराएका हुन्।
संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार ३ जना प्रस्ताव र ९५ जना समर्थक सांसदले हस्ताक्षर गरेका छन्।
नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङका अनुसार प्रधानन्यायाधीशलाई २१ बुँदे अभियोग लगाइएको छ। न्यायालयको कार्यभार सम्हाल्न नसेको, न्यायालयलाई निकास दिन नसकेको, न्याय सम्पादनमा गम्भीर समस्या आइपरेको, न्यायालयमा स्वच्छ छवि कायम गर्न नसकेको आदि अभियोग लगाइएको गुरुङले बताए।
सांसदहरुले प्रधानन्यायधीशविरुद्ध लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएका छन्। त्यसैगरी
प्रधानन्यायधीशले सर्वोच्च अदालत र न्यायलयभित्रै निजको कार्यकालमा अतिशय विकृति विसंगति तथा भ्रष्टाचार तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप पनि राणामाथि लागेको छ।
महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश राणा स्वतः निलम्बित भएका छन्। नेपालको संविधानमा प्रधानन्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव दर्ता भए स्वतः निलम्बित हुने उल्लेख छ।
सचिवालयमा दर्ता भएको प्रस्ताव अब संसद् बैठकको कार्यसूचीमा पर्नेछ र आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। संसद् बैठक भोलि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ।