काठमाडौं– संघीय संसद्का ९८ जना सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।
कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको अगुवाइमा सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर सांसदहरुले प्रस्ताव दर्ता गराएका हुन्।
संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार ३ जना प्रस्ताव र ९५ जना समर्थक सांसदले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर गर्नेमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरू छन्।
महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश राणा स्वतः निलम्बित भएका छन्। नेपालको संविधानमा प्रधानन्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव दर्ता भए स्वतः निलम्बित हुने उल्लेख छ।
सचिवालयमा दर्ता भएको प्रस्ताव अब संसद् बैठकको कार्यसूचीमा पर्नेछ र आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। संसद् बैठक भोलि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ।