काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दाबी गरेका छन्।
सत्तारुढ माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको पनि उनले बताए।
काठमाडौंमा शनिबार आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने बताए।
मन्त्री पौडेलले भने, ‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन कम्प्लिट गर्छ। र, यही गठबन्धनले एक वर्ष भित्रमा सबै चुनावहरु गरेर स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीयसरकार निर्वाचनको प्रक्रियाबाट नयाँ नबन्दासम्म सकुशल निर्वाचन गर्ने गरी यो गठबन्धनले आफ्नो कार्यसूचि अघि बढाएको छ। अब सर्वोच्च अदालतले गरेको फैसलाको आधारमा संघ र प्रदेशको निर्वाचनको मिति पनि स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै घोषणा हुन्छ। यो एक वर्ष निर्वाचनको वर्ष हुनेछ। हाम्रो पार्टी सकेसम्म गठबन्धनकै रुपमा निर्वाचनको प्रतिस्पर्धामा जानेछ।’
मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान चाहेको र गठबन्धन दलका शिर्ष नेताहरुबीच पनि सोही सहमति भएको बताए। उनले एमसीसी सम्झौता राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढने बताएका छन्। उनले त्यसका लागि सत्तारुढ दलहरुले कार्य दल बनाएर छलफल अघि बढाएको र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि निरन्तर छलफल अघि बढाइएको बताए।
मन्त्री पौडेलले आफूले सार्वजनिक शिक्षालाई सबलीकरण गरेर अघि बढाउन जोड दिएको बताए।