बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कार्यसम्पादन समितिमा शेखरको प्रस्ताव– कांग्रेसले कांग्रेसलाई नै भोट हाल्न पाउनुपर्छ

कार्यसम्पादन समितिमा शेखरको प्रस्ताव– कांग्रेसले कांग्रेसलाई नै भोट हाल्न पाउनुपर्छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पाँच बुँदे प्रस्ताव राखेका छन्।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पाँच बुँदे प्रस्ताव राखेका छन्। पार्टी मुख्यालय सानेपामा जारी कार्यसम्पादन समिति बैठकमा उनले आफ्नो प्रस्ताव प्रस्तुत गरेका हुन्।  

बिना भेदभाव पार्टी सञ्चालन गर्ने, भ्रातृ संस्थालाई विधिअनुसार काम गर्ने स्वतन्त्रता दिने, अन्य दलसँग चुनावी गठबन्धन नगर्ने, एमसीसी अनुमोदन गर्ने र क्रियाशील सदस्यता वितरण अहिलेदेखि नै सुरु गर्ने प्रस्ताव कोइरालाले अघि सारेका छन्।

प्रस्तावमा उनले देशकै नेतृत्व गर्ने लोकतान्त्रिक पार्टी कांग्रेसको नेतृत्व संकीर्णता र गुटमा आधारित हुँदा त्यसले सिंगो पार्टीलाई कमजोर बनाउने उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘महाधिवेशन सकेलगत्तै हामी चुनावी वर्षमा प्रवेश गर्न लागेका छौं। पार्टीभित्रको एकता, सद्भाव र साथीहरूको न्यायोचित व्यववस्थापन नै हाम्रो शक्ति हो। हाम्रा घरभित्रका सानातिना घरेलु समस्या, आपसी रिसराग, मनमुटाव र असन्तुष्टि भन्दा माथि उठेर एक ढिक्का हुँदै चुनावी अभियानमा लाग्नुको विकल्प छैन। मैले यो विषयलाई यसकारण प्रारम्भमै राखेको हुँ कि पार्टीको केन्द्रीय समितिमा मनोनयन तथा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दा सभापतिज्यूबाट कति न्याय र विवेक अपनाइयो भन्ने विषय बहसमै छ।’

उनले देशकै नेतृत्व गर्ने पार्टी गुट र भागबण्डामा रमाउँदा त्यसले पार्टी र लोकतन्त्रलाई नै कमजोर पर्ने उल्लेख गरेका छन्। ‘मेरो अपेक्षा के हो भने देशकै नेतृत्व गरिरहेको लोकतान्त्रिक पार्टीमा संकीर्णता अपनाउने, भागबण्डामा रमाउने र पार्टीका धेरै साथीहरूको लामो योगदानलाई भुलेर पूर्वाग्रह र भेदभाव गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। यसकारण सभापतिज्यूले सानातिना कुराबाट माथि उठेर न्यायोचित र सम्मानजनक निर्णय गर्नुहुन्छ भन्ने विश्वास लिएको छु,’ कोइरालाले भनेका छन्।

भ्रातृ तथा शुभेच्छुक संस्था पार्टीका शक्ति भएको भन्दै उनले भनेका छन्, ‘आम समुदायलाई पार्टीको मूलधारसँग जोड्ने प्रमुख माध्यम हुन् भ्रातृ संस्था। त्यसकारण विधि, विधान र लोकतान्त्रिक प्रकियाबाटै यी संस्थाहरुको नेतृत्व चयन हुनुपर्छ। अहिले कतिपय भ्रातृ संस्थाका सभापतिहरु केन्द्रीय समितिमा हुनुहुन्छ। विधानतः यी संस्थाहरु नेतृत्वविहीन छन्। कतिपय भ्रातृ र शुभेच्छुक संस्थाहरुको समयावधि सकिएको वर्षौं भइसक्यो। ती सबै भ्रातृ संस्थाहरुलाई विधानअनुसार अधिवेशनको प्रकियामा लैजानुपर्छ। कुनै पनि बहाना वा पार्टी विधानको धारा निलम्बन गरेर अगाडि जान हुँदैन। हामीले निष्ठापूर्वक पार्टी विधानको पूर्ण पालना गर्नुको विकल्प छैन।’ 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै फागुन १० गतेभित्र विधानसम्मत ढंगले बाँकी रहेका जिल्लाहरुको अधिवेशन गर्नुपर्नेमा पनि कोइरालाले जोड दिएका छन्।

स्थानीय तहको निर्वाचनमा गाउँदेखि सहरसम्म सबै स्थानीय तहमा लोकप्रिय, क्षमतावान, इमान्दार र पार्टीमा योगदान गरेका साथीहरुलाई बिना भेदभाव, न्यायोचित र पूर्वाग्रहरहित तरिकाले उम्मेदवार चयन गर्न उनले प्रस्ताव गरेका छन्। साथै उनले ‘कांग्रेसले कांग्रेसलाई नै अर्थात् रुख छापमै मतदान गर्न पाउनुपर्छ’ भन्दै आएको तथ्य स्मरण गराएका छन्।

‘यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्श विपरित अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरुको न्यायोचित व्यवस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ। यही जितको बलले प्रदेश र संघीय निर्वाचनमा समेत कांग्रेसले एक्लै बहुमत प्राप्त गर्न सक्छ भन्ने मेरो मान्यता छ। मैले यो विषय आफ्नो व्यक्तिगत धारणाका रुपमा भन्दा पनि तल्लो तहमा बसेर काम गरिरहनुभएका पार्टीका साथीहरुसँगको अन्तरक्रियाबाट प्राप्त सुझाव र उहाँहरुको भावनालाई जस्ताको त्यस्तै राखेको हुँ,’ कोइरालाले भनेका छन्।

एमसीसीलाई सम्भव भए राजनीतिक दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसद्मा संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्ने उनले बताएका छन्। 

प्रकाशित: Feb 11, 2022| 16:27 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...