बुधबार, भदौ ३, २०८३

एमाले एमसीसीप्रति नरम, गठबन्धनप्रति सधैं गरम

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ५५ अर्बको अमेरिकी अनुदान एमसीसी सहायता सम्झौताप्रति नरम देखिएको छ भने सत्तारुढ गठबन्धनप्रति गरम देखिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरूहरूलाई विभिन्न आरोप लगाएका छन् भने एमसीसीलाई संसदमा प्रस्तुत गरेर छिनोफानो गर्नुपर्ने पक्षमा अभिव्यक्ति दिएका छन्।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ५५ अर्बको अमेरिकी अनुदान एमसीसी सहायता सम्झौताप्रति नरम देखिएको छ भने सत्तारुढ गठबन्धनप्रति गरम देखिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरूहरूलाई विभिन्न आरोप लगाएका छन् भने एमसीसीलाई संसदमा प्रस्तुत गरेर छिनोफानो गर्नुपर्ने पक्षमा अभिव्यक्ति  दिएका छन्।

ओलीले चुनावमा एमाले  एक्लैले बाँकी दललाई हराउने दाबी गरे भने माधवकुमार नेपालको दल नेकपा एसप्रति आक्रोश व्यक्त गरे। शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी कार्यक्रमको उद्घाटन गर्दै ओलीले समसामयिक विषयमा एमालेको धारणा प्रष्ट पारेका हुन्। 

एमसीसीबारे एमाले 

एमसीसी सम्झौता संसद्‌मा पेस हुनुपर्ने एमालेको धारणा रहेको अध्यक्ष ओलीले प्रष्ट पारे। यसमा सभामुख अग्निप्रसाद सापकोटाले अनाधिकृत रुपमा रोकेको आरोप एमालेको छ। 

'सरकारले निर्णायर्थ दर्ता गरेको कुरा रोक्छु भन्नु सभामुखको अधिकार र कर्तव्य होइन। अनाधिकृत रुपमा काम भइरहेको छ। सीमाभन्दा बाहिर गएर हस्तक्षेप भएको छ,' एमसीसीप्रति नरम देखिएका ओलीले सभामुख सापकोटाको भने चर्को आलोचना गर्दै आएका छन्। 

एमसीसीलाई विकास परियोजना भएको बताउँदै त्यसलाई भूराजनीतिक द्वन्द्व बनाउने कोसिस गरिएको उनको ठहर थियो। 'एमसीसी विकास परियोजनालाई भूराजनीतिक द्वन्द्व बनाउने कोसिस गरियो,' ओलीले थपे, 'एमसीसीमा गठबन्धन स्पष्ट नभएका कारण समस्या सिर्जना भएको हो।'

एमसीसी संसद्मा प्रस्तुत गर्नुपर्ने बताएका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथमा एमसीसीलाई म्याद थप्ने भन्दै पत्र पठाउनु चाहिँ कुटनीतिक मर्यादा विपरीत भएको उल्लेख गरे। 

उनीहरुको दुईजिब्रे चरित्रले राष्ट्रिय हित गम्भीर संकटमा परेको ओलीको ठहर थियो। 'उता दुईटा नेताले गोप्य पत्राचार गर्छन्। उता पास गर्ने किटानी पत्र पठाउने तर यता भ्रमित पार्ने काम गरिरहेका छन्,' प्रचण्डप्रति ओलीको टिप्पणी छ। 

सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउँदा एमसीसीका विषयमा कुनै विषय उल्लेख नगरेको तर लुकीलुकी गोप्य पत्र पठाएको उनको आरोप थियो। 'न्यूनतम साझा कार्यक्रममा उल्लेख गर्दैनन्। त्यहीबेला प्रश्न गरेको हो- एमसीसीबारे गठबन्धनको दृष्टिकोण के हो भनेर। बोलेनन्। जनतासँग अर्कै कुरा र अमेरिकासँग अर्कै कुरा गर्छन्,' गठबन्धनका नेताहरूप्रति उनको टिप्पणी थियो। 

गठबन्धनका नेताहरूको धोकापूर्ण र दुईजिब्रे चरित्र देखा परेको उनले उल्लेख गरे। 'सत्ता गठबन्धनकै अभिव्यक्तिले भूराजनीतिक द्वन्द्वको विषय बनाउन कोसिस गरेका छन्। एमसीसीका अधिकारीहरूलाई गोप्य पत्र लेखेका छन्। ४-५ महिनाको समयभित्र पास गर्छौँ भनेर किटानी गर्छन्। यता जनतालाई उचाल्छन् र भ्रमित पार्छन्,' ओलीले थपे, 'एउटा नेता पक्षमा कुरा गर्छन्। अर्का नेता विरोध गर्छन्। न्यूनतम साझा कार्यक्रममा एमसीसीलाई उल्लेख गर्दैनन्। उनीहरूको कुनै जवाफ पनि छैन। गठबन्धनमा यसप्रकारको धोकापूर्ण, दुईजिब्रे चरित्र देखा पर्‍यो। यसले राष्ट्रिय हितलाई गम्भीर संकटमा धकेल्ने काम भइरहेको छ।'

एमसीसीमा गठबन्धन नै स्पष्ट नभएका कारण समस्या सिर्जना भएको एमालेको ठहर छ। शेरबहादुर देउवाले एमसीसी मुख्यालयलाई लेखेको पत्र राष्ट्रियताको हिसाबले गलत काम भएको ओलीको भनाइ थियो। ‘प्रधानमन्त्रीको हिसाबले एउटा संस्थालाई पत्र लेख्ने कुरा आफैंमा अपमानजनक हो। अध्यक्षको हैसियतले लेख्ने हो भने पार्टीका अध्यक्षलाई लेख्नुपर्थ्यो। दुई अध्यक्षले लेख्ने कुरा अरु अध्यक्षलाई थाहा छ कि छैन,’ उनले भने, ‘देश गम्भीर खेलवाड, खेलाचीको सिकार भइरहेको छ।’

उनले एमसीसीका बारेमा सत्ता गठबन्धनका नेताहरुले दिएको विरोधाभाष अभिव्यक्तिले मुलुकलाई भू–राजनीतिक द्वन्द्वमा फसाउन भूमिका खेलेको आरोप लगाए। 

सभामुख सापकोटा क्षेत्राधिकार बाहिर

सभामुख अग्निप्रसाद सापकोटा अधिकार क्षेत्रभन्दा बाहिर गइरहेको एमालेको टिप्पणी छ। 'उनले (सभामुखले) अनाधिकृत रुपले बलमिच्याइँ गरेका छन्। गठबन्धनको पद लोलिपुतामा छ,’ सभामुख सापकोटाप्रति ओलीको टिप्पणी छ, ‘को अधिकारको सीमाभन्दा बाहिर गइरहेको छ, त्यो विषयमा सरकार बोल्न सक्दैन।’

उनले यसअघिका सभामुखले पनि अनाधिकृत काम गरेको भन्दै अहिलेकाले पनि त्यसै गरिरहेको बताए।

‘संसद्‌ले के गर्छ त्यो अधिकार त दिनुपर्‍यो नि, त्यो रोकेर त राख्न भएन। कानुन तोडेका कुरालाई मर्यादाको दायरामा ल्याउनुपर्‍यो। सरकार बोल्न सकिरहेको छैन,’ उनले भने, ‘सरकार यसप्रति गम्भीर होस् भन्ने कुरा म दोहोर्‍याउन चाहन्छु।’

प्रतिनिधिसभा तानाशाही प्रकृतिमा चलेको ओलीको आरोप थियो। 'व्यवस्‍थापिका संसद् तानाशाही अधिनायकवादी पेलाइका साथ चलिरहेको छ। भत्ता पचाउने हिसाबले संसद् अस्तित्वमा छ। संसद भेन्टिलेटरमा छ, ज्यूँदो छैन भने ज्यूँदै छ, तर काम गरिरहेको छैन,' उनको टिप्पणी छ।

एमाले संसद्‌मा सहभागी हुन चाहे पनि सभामुख अग्निप्रसाद सापकोटाले वातावरण नबनाएको आरोप ओलीले लगाए। 'प्रभावकारी ढंगले काम गर्ने अवसर सरकारले हामीलाई दिएको छैन। सभामुख हाम्रो पार्टी फोड्ने षड्यन्त्रमा सहभागी हुन्छन्। प्रतिपक्षको मोर्चाबन्दीमा लाग्छन् र हाम्रोविरुद्ध मुद्दा लड्न अदालत पुग्छन्। पदीय मर्यादा ख्याल गर्दैनन्।' उनले संसद्‌को बहुमूल्य समय खेर गएको ओलीको टिप्पणी छ। 

सत्ता गठबन्धनले संसद् भेन्टिलेटरमा पुर्‍याएको आरोपसमेत उनले लगाए। 

नेकपा एसप्रति आक्रोश

षड्यन्त्रपूर्वक पार्टी फुटाएर जानेहरुसँग कुनै तालमेल र पार्टी एकता हुने कुनै सम्भावना नरहेको ओलीले प्रष्ट पारे। ‘साउन २५ गते हामीले निष्कासन गरेका मानिसहरुलाई कारबाही गरेको सूचना टाँस नगरेर षडयन्त्रपूर्वक जसरी पार्टी फुटाइयो। देशविरोधी तत्वहरुसँग न चुनावी तालमेल हुन्छ न पार्टी एकीकरण। तपाईंहरु भ्रममा नपर्नुहोला,’ कार्यकर्ताहरूलाई ओलीको आग्रह थियो।

माधवकुमार नेपाललगायतका नेताहरूतर्फ संकेत गर्दै ओलीले थपे, 'त्यस्ता तत्वलाई पार्टीमा कुनै इन्ट्री हुँदैन। हामी एक्लै निर्वाचन लड्छौं। स्थानीय तहले कहीँ कतै तालमेल गरेछ भने त्यो बेग्लै कुरो होला। राष्ट्रियस्तरमा स्थानीय तहमा कुनै शक्तिसँग तालमेल गरेर जाने बाला छैनौं।’

गठबन्धनप्रति गरम, निर्वाचनप्रति शंका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने कल्पना नगर्न सत्ता गठबन्धनलाई चेतावनी दिएका छन्। गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरमा मतपत्र च्यातेर प्रचण्डकी छोरी रेणु दाहाललाई मेयरमा जिताएको विषयतर्फ लक्षित गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन्।

पाँच वर्षअघि पनि सत्ता गठबन्धनसँग लडेरै स्थानीय तहमा एमालेले जितेको ओलीले स्मरण गरे। एमालेले यसपाली पनि बहुमत ल्याउने ओलीको दाबी थियो। स्थानीय तहमा मात्र नभएर प्रदेश र संघीय निर्वाचनमा समेत एमालेले बहुमत ल्याउने उनको दाबी थियो। 

'पहिले ४१.२८ प्रतिशत ल्याउँदा त यस्तो छ। अब बहुमत जित्छौं। के गर्लान् विचराहरु? भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ,' ओलीले चेतावनी दिए। 

यस अघिको निर्वाचनमा पनि सत्ता गठबन्धनसँग लडेर पालिकाप्रमुख २९४, उपप्रमुख ३१२ जना र २ हजार ५५९ जना वडाअध्यक्ष जितेको उल्लेख गरे। यसैगरी, खुला सदस्यमा ५ हजार ४५८, महिला २ हजार ७७७ र दलित महिला २०३८ जितेको ओलीको भनाइ थियो। 

'२०७४ कै निर्वाचनमा एमालेको वर्चश्व पचिरहेको छैन। त्यतिबेला नै जितेको पचेको छैन। आउँदो निर्वाचनमा हामी बहुमत जित्छौं। अनि कसरी पचाउलान्,’ ओलीले भने, ‘भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ। संघीय र प्रदेशमा पनि हामीले आगामी निर्वाचनमा बहुमत ल्याउँछौं। गठबन्धन तोडेर होइन गठबन्धन कायम रहे पनि हामी बहुमत ल्याउँछौं।’

उनले गठबन्धनले चुनाव हार्ने डरले सार्न खोजेको समेत आरोप लगाए। ‘वर्तमान गठबन्धन आफ्नो स्वार्थमा केन्द्रित भएको छ। स्थानीय तहमा एमालेको वर्चश्व कायम रहेका कारणले गर्दा पनि सरकारलाई स्थानीय तहप्रति मैत्रीपूर्ण भाव छैन। उनीहरु तयार भइरहेका छैनन्। बुझ्न सकेका छैनन्,’ उनले भने। स्थानीय तहका जनप्रतिनिधिले महत्त्वपूर्ण काम गरेको भन्दै त्यसको प्रशंसासमेत गरे।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते ठूलो राजनीतिक फैसलाको प्रारम्भ हुने बताए। 'हामी वैशाख ३० को तयारीमा जुटेका छौं। ठूलो राजनीतिक फैसलाको प्रारम्भ वैशाख ३० ले गर्नेछ । तर यो नै अन्तिम फैसला होइन। जनादेश र परमादेशबीचको फैसलाको सुरुवात हो,' उनले भने। 

सार्वभौमिकता सम्पन्न जनता र त्यसको उपहास गरेर पार्टी फोड्नेहरुको अवस्था देखिने पनि बताए। माओवादी केन्द्र र एकीकृत समाजवादीलाई लक्ष्य गर्दै उनले भने, 'जनादेशलाई लत्याएर, पार्टी फोडेर, सरकार ढालेर प्रतिक्रियावादीको सेवामा समर्पित हुन जाने हुनेहरुलाई जनताले सही ठाउँमा पुर्‍याउनेछन्।' 

उनले प्रगतिशीलता बामपन्थ र देशभक्तको खोल ओढेका तत्त्व र तिनका मतियारलाई जनमतको माध्यमबाट पराजित गर्ने दाबी गरे। 'सर्वोच्च न्यायाधीश जनताबाट न्याय प्राप्त गर्ने अभियान वैशाख ३० मा सुरु हुनेछ,' उनले थपे, 'राष्ट्रिय राजनीति सकारात्मक दिशामा लैजाने प्रयास त्यहीँबाट गर्नेछौं।'

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० मै निर्वाचन हुनेमा अझै एमाले ढुक्क नरहेको बताएका छन्। 

विगतमा पनि निर्वाचनका विरुद्ध कोही अदालत जाने र कसैले प्रतिगामी भन्ने गरेको उल्लेख गर्दै विथोल्ने र विगार्ने प्रयास अझै हुने ओलीको आशंका छ। 'निर्वाचन पर सार्न र असंवैधानिक तवरबाट स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउने प्रयास भए। अहिले पनि त्यस्तो हुन सक्छ, ’उनले भने, ‘तपाईं हामी सबै सजग भएर अघि बढ्नुपर्ने जरुरी देखिन्छ,’ ओलीको भनाइ छ, ‘निर्वाचन नगराउने षड्यन्त्र हुन सक्छन् त्यस भन्दा पछि पनि कोही अदालत जाने कोही निर्वाचन हुनै नसक्ने भन्ने गर्न सक्छन्,’उनले भने,‘निर्वाचन प्रतिगामी हो भन्न सक्छन्। एकै चरणमा निर्वाचन गर्ने भनेर घोषणा गरिसकेपछि पनि गठबन्धनबाट त्यस्ता कुरा आइरहेका छन्। अहिले पनि प्रयासहरु जारी छन्।’

निर्वाचन तोकिएको समयमा स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष गराउने विषयमा सजग हुनुपर्छ। परमादेशवादीहरुका दुस्प्रयासहरु असफल पार्ने तर्फ केन्द्रित हुनुपर्ने ओलीको भनाइ छ।

स्वास्थ्यमन्त्रीको राजीनामा 

काठमाडौं- ‍ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको राजीनामा माग गरेका छन्। महामारीका बेला २४ लाख खोप हराएको विषयमा नैतिक जिम्मेवारी लिएर स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्ने उनको माग छ। 

शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी कार्यक्रमको उद्घाटन गर्दै ओलीले सरकार महामारीप्रति गम्भीर नभएको आरोप लगाउँदै मन्त्री खतिवडाको राजीनामा माग गरेका हुन्। 

'२४ लाख डोज सानातिना कोठामा अट्दैन। ट्रकमा अड्दैन। यस्तो कुरा मन्त्री राजीनामा दिँदैन। कोही जिम्मेवार हुँदैन। कसैले प्रश्न उठाउँदैन,' ओलीले थपे, '२४ लाख डोज झ्वाम्म खायो। कुनै अप्ठेरो छैन। २४ लाख डोजको हिसाब चाहियो। कसैले पनि झ्वाम्म यत्रो खोप खान पाउँदैन।' 

प्रकाशित: Feb 11, 2022| 16:10 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...