काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीका विषयमा भएको भ्रम चिर्न आग्रह गरेका छन्।
नेपाल टेलिभिजनका नवनियुक्त कार्यकारी अध्यक्ष समीरजंग शाहको स्वागतमा शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा महतले भने, ‘हामीलाई पूर्वाधारको क्षेत्रमा सहयोग चाहियो भनेर अल्पविकसित देशहरुले माग गरे। त्यसपछि अमेरिकाले त्यो माग सम्बोधनका लागि एमसीसी सुरु गरेको हो। सन् २०१२ बाट नेपाल पनि त्यसमा प्रवेश गरेको हो। बाबुराम भट्टराईको पालामा नेपालले पनि आवेदन दियो। नेपालले निश्चित मापदण्ड पूरा गरेपछि एमसीसी अन्तर्गत सडक र विद्युत प्रसारण लाइनको निर्माण गर्न चाहियो भनेर पैसा मागेको हो। त्यसमा सबै राजनीतिक दलहरुको सहभागिता भयो। संसद्बाट अनुमोदन गर्ने कुरा पहिले थिएन, केपी ओलीको पालामा संसदीय अनुमोदनको बुँदा थपियो र त्यही समयमा संसद्मा टेबेल भएको हो। नेपालमा जे प्रश्न गर्नुपर्ने हो त्यहाँ प्रश्न गरिँदैन तर अन्य विषयमा अतिरञ्जना गराउने गरेका छन्।’
एमसीसी नेपालकै संविधान र कानुनअनुसार सञ्चालन गरिने भन्दै महतले इण्डो प्यासिफिक रणनीति र सैन्य प्रयोजनका लागि नभएको दाबी गरे। महतले भने, ‘यो कुनै देशको विरोधमा आएको होइन। यही सम्झौताको मोडलमा अन्य मुलुकले सहयोग गर्छन् भने हामी लिन तयार छौं। सभामुखले एमसीसीलाई संसद्मा लैजानुपर्छ, त्यही दूधको दूध पानीको पानी हुन्छ। त्यही छलफललाई नेपाली जनतामा लाइभ गरे भयो नि।’
प्रेस युनियनले चाहेर पनि महाधिवेशन गर्न नसकिरहेको भन्दै महतले यसमा पार्टीको हस्तक्षेप नहुने बताए। भने, ‘स्वतन्त्र रुपमा महाधिवेशन गर्नुहोला।’
महतले पार्टी प्रवक्ताको पद आफूले नमागेको बरु दिइएको जिम्मेवारी स्वीकार गरेको बताए। प्रवक्ताका रुपमा पार्टीका धारणालाई स्पष्ट रुपमा राख्ने बताए। महतले भने, ‘पार्टीका कतिपय कुराहरु स्पष्ट नहुँदा कांग्रेसप्रति अन्योल सिर्जना हुने गरेको थियो। अब त्यस्तो भ्रम पैदा हुन नदिन काम गर्नेछु। सत्य कुराको मुख बन्द हुन दिनेछैन। कांग्रेस व्यक्ति केन्द्रित हुँदा जनतामा अन्योल पैदा भएको छ। यो अन्योल हटाउने कोसिस गर्नेछु। सञ्चारमाध्यममा सक्रिय साथीहरुको मूल उद्देश्य भनेको सत्यतथ्य बाहिर ल्याउने हो। म सबै पत्रकार साथीहरुसँग घनिभूत सम्बन्ध कायम राख्नेछु।’