बुटवल– रुपन्देहीको तिलोत्तमामा नेपालमै समुदायस्तरको पहिलो ‘इनडोर स्केट पार्क एवं रिसोर्स सेन्टर’ निर्माण सुरु भएको छ। स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा नगरपालिका वडा न. ४ मा स्केट पार्क निर्माण सुरु गरेको हो।
तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको करिब १० कठ्ठा क्षेत्रफलमा तीन महिनादेखि स्केट पार्क निर्माण सुुरु भएको हो। फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गरी लुम्बिनी प्रदेश र नेपालमै स्केट पार्क निर्माण गरेर नयाँ खेलमा नयाँ पुस्तामा परिचत गराउने गरि निर्माण थालिएको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए।
उनले नेपालमा भर्खर मात्र आरम्भ भएको तर यूरोप अमेरिका लगायतका देशबाट युवावर्गमा लोकप्रिय हुँदै गएको स्केट खेलको विकासका लागि स्केट पार्क कोशेढुंगा सावित हुने बताए। नेपालमै समुदाय स्तरमा पहिलो पटक विभिन्न खेल क्षेत्रका व्यक्तिहरुको सहयोगमा स्केट पार्क तिलोत्तमामा निर्माण थालिएको अध्यक्ष पहाडीले बताए।
उनका अनुसार पहिलो चरणमा स्केट पार्क निर्माण गरिएको छ। दोस्रो र तेस्रो चरणमा पार्कलाई इन्डोर बनाउने गरि योजना बनेको अध्यक्ष पहाडीले बताए। स्केट पार्कको पहिलो चरणको ८० प्रतिशत काम पूरा हुँदा ४० लाख खर्च भएको उनले बताए।
फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रका करिव ६० जना व्यक्तिहरुले स्वयसेविक रुपमा निर्माणमा सहभागी उनले बताए। पार्क निर्माणका लागि स्थानीय सरकार तिलोत्तमा नगरपालिका, वडा कार्यालय र स्थानीयहरुको सहयोग अमूल्य रहेको बताउँदै बालबालिकाहरुलाई केन्द्रीत गरि प्रशिक्षणहरु निःशुल्क रुपमा सञ्चालन गरिने उनले बताए। निर्माणधिन स्केटले खेलाडीहरुमा खुुसी ल्याउने स्केट एडका अन्र्तराष्ट्रिय निर्देशक एंव स्केट खेलाडी ग्याविरियल रोमा सन्तोषले बताए। उनले नेपालका लागि स्केट परिचित नभएको बताउँदै पार्कले नयाँ नयाँ खेलाडीलाई जन्माउने विश्वास लिए।
नेपालमा स्केट खेलप्रती बालबालिकाहरुको बिशेष रुची रहेको खेलाडी तथा प्रशिक्षक समिक्षा राईको भनाइ छ। उनले स्केटको अभ्यास गर्ने थलो नहुँदा पनि नेपालका खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरेको बताइन्। स्केटका लागि व्यवस्थित मैदान बनेकाले स्केट खेलाडीहरुका लागि ठूूलो अवसर भएको खेलाडी विजय तामाङले बताए।
सन २०२३ सम्म सम्पन्न गर्ने गरि शुरु गरिएको पार्क सम्पन्न हुँदा करिव साढे २ करोड लागत लाग्ने फाउण्डेशनले जनाएको छ। जर्मन कम्पनीको डिजाईनमा शुरु गरिएको पार्क सम्पन्न भएपछि समुदाय तहबाटै खेलाडीहरु उत्पादन हुने आयोजकले अपेक्षा लिएका छन्। पार्कमा प्रशिक्षण, तालिम एंव होस्टेल र कार्यक्रम हल, पुस्ताकालय समेत निर्माण गरि निशुल्क सेवा प्रदान गरिने अध्यक्ष पहाडीले बताए।
पहिलो चरणको निर्माण सम्पन्न भएपछि आउँदो फागुन २१ मा औपचारीक शुभारम्भ गर्ने आयोजकले जनाएको छ। एशियन प्रतियोगितामा समावेश रहेको यो खेलमा नेपालले विभिन्न प्रतियोगितामा भाग लिदै आएको छ। दक्षिण एसियामा नेपालको खेल उत्कृष्ट रहेको छ। नेपालमा काठमाडौ, धरान, पोखरा, बुटवलमा गरि २ सय बढि खेलाडी छन्।