एमसीसीको सकस
सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता सम्झौता एमसीसी संशोधन नगरी संसद्बाट पारित नहुने बताएका छन्।
बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले यथास्थितिमा एमसीसी पारित नहुने स्पष्ट पारेका हुन्।
आफूहरूले अमेरिकी सहयोग लिनै नहुने कुरा नभनेको तर एमसीसीका केही प्रावधान संशोधन हुनुपर्छ मात्र भनेको उनको प्रष्टोक्ति थियो। तर संशोधन नभएमा एमसीसी पारित नहुने उनको ठोकुवा छ।
एमसीसीकै कारण गठबन्धन टुट्ने कुरा हल्ला मात्रै भएको भन्दै प्रचण्डले गठबन्धन कमजोर नभएको जिकिर गरे। नेकपा एमालेले एमसीसीलाई देखाएर गठबन्धनभित्र खेल्न खोजेको प्रचण्डको आरोप थियो।
स्थानीय तहको निर्वाचन आगामी जेठमा हुन उल्लेख गर्दै प्रचण्डले पार्टीलाई गाउँ केन्द्रित बनाउनसमेत निर्देशन दिए।
सभामुखविरुद्ध महाअभियोग लगाउन प्रस्ताव
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए आफूहरूले पनि सहयोग गर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सचिव रायमाझीले सभामुख सापकोट देशको कानुन अनुसार नचलेको बताउँदै काँग्रेसलाई एमालेको साथ हुने बताएका हुन्। सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले धारणा प्रस्ट पार्ने बताए।
सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाए ।
मलद्वारमा लुकाएर सुन तस्करी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब एक करोड रूपैयाँ बराबरको अवैध सुन र मोबाइल बरामद गरेको छ।
९९ लाख २९ हजार ६९८ रुपैयाँ मूल्य पर्ने १ किलो १५० ग्राम सुन र ५ थान मोबाइलसहित तीन जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमध्ये दुईजना दुबई र एक जना साउदी अरबबाट नेपाल आएका हुन्।
पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१० सोबगाढाका ३२ वर्षीय सुनिल कुमार साह, मकवानपुरको मनहरी–७ का २८ वर्षीय नवराज परियार छन्। यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का ३९ वर्षीय दावा छिरिङ शेर्पा पनि पक्राउ परेका हुन्।
साहको साथबाट प्रहरीले चार थान आईफोन, एक थान सुनको बेरुवा औँठी र १५० ग्रामका सुनको सिक्री बरामद गरेको छ। यस्तै, परियारको साथबाट आईफोन १ थान र दुई थान सुनको बेरुवा औंठी बरामद भएको प्रहरीको भनाइ छ। साह र परिवार दुबईबाट हिमालय एयरलाइन्समार्फत् नेपाल आएका व्यक्ति हुन्।
सारजहाबाट आएका शेर्पाको साथबाट बेलनाकार बनाइएको १ किलोग्राम ५५ ग्राम सुनका बरामद भएको छ। उनले मलद्वारभित्र लुकाएर उक्त सुन नेपाल भित्र्याउन लागेका थिए। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।
जनवरीमा भित्रिए १७ हजार पर्यटक
सन् २०२२ को पहिलो महिना जनवरीमा विभिन्न देशबाट करिब १७ हजार पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा हवाई मार्ग हुँदै १६ हजार ९७५ जना पर्यटक नेपाल भित्रिएका हुन्। यो महिना भारतबाट सबैभन्दा बढी ३ हजार ९१६ पर्यटक नेपाल आएका छन्। त्यसैगरी बंगलादेशबाट १२ सय ३६, चीनबाट ३२१, दक्षिण कोरियाबाट २०९, फ्रान्सबाट २८३, जर्मनीबाट ३६५ र बेलायतबाट १८ सय २४ जना पर्यटक नेपाल भित्रिएको तथ्यांक छ।
बोर्डका अनुसार अस्ट्रेलियाबाट १२ सय १३, अमेरिकाबाट ३२ सय ५७ र क्यानडाबाट ३६१ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेका हुन्।
यस वर्षको जनवरीमा आएका पर्यटकको संख्या गत वर्षको जनवरीभन्दा ९१.३ प्रतिशत बढी हो। गतवर्षको जनवरीमा ८ हजार ८७४ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेका थिए।
डा गोविन्द केसीले राखे माग
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री विरोध खतिवडालाई सात बुँदे मागपत्र बुझाएका छन्।
बिहीबार मन्त्रालयमा भएको भेटमा डा केसीले उक्त मागपत्र बुझाएका हुन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न माग गरी जनशक्तिको अभाव पूर्ति गर्नुपर्ने, दाङलगायत मधेश र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गर्न डा केसीको माग छ।
देशभरिका स्वास्थ्य चौकीदेखि प्रदेश र केन्द्रीय अस्पतालले नियमित र रुपमा निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने पनि उनले माग गरेका छन्।
नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजलगायतले विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त लाखौं रुपैयाँ असुल्ने प्रयास अहिले पनि जारी रहेको भन्दै डा केसीले चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशन विपरीतका काम रोक्नुपर्ने माग अघि सारेका छन्।
द्रुतमार्गका कुरा
काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) लाई निर्धारित समयमै सम्पन्न गराउन थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवालाहरूसँग छलफल गर्ने भएको छ।
फास्ट ट्र्याकको अवलोकन भ्रमणसमेत गरेको राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन समितिले थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकाल्दै सो रकमको व्यवस्थापनका लागि सरोकारवाला मन्त्रालयसँग छलफल गर्ने भएको हो। बिहीवार बसेको समितिको बैठकपछि सभापति रामनारायण विडारीले द्रुतमार्ग सम्पन्न गर्न रकम सुनिश्चितताका लागि मन्त्रालयहरुसँग छलफल गरिने बताए।
उनले विभिन्न मन्त्रालयहरुबिच समन्वय नभएका कारण काम गर्न ढिलाई भइरहेको भन्दै समन्वयका लागि सरकारलाई निर्देशन दिइनेसमेत बताए।
घट्यो नेप्से
साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार सूचक नेप्से दोहोरो अंकले घटेको छ। बिहीबार १४.५८ अंकले घटेको नेप्से २८७६.७५ अंकमा झरेको हो।
कारोबारको अधिकांश समय हरियो देखिएको नेप्से अन्तिममा भने दोहोरो अंकले घटेर बन्द भएको हो। परिसूचक घटे पनि बिहीबार कारोबार रकम बढेर साढे ८ अर्बभन्दा बढी पुगेको छ।
समग्रमा बजार घटे पनि अधिकांश हाइड्रोपावर कम्पनी र निर्जीवन बिमा कम्पनीको सेयर मूल्य भने उकालो लागेको छ।
ब्राजिलमा बाढी
ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ। रोल...
अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्बन्धी अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार ब्राजिलमा केही दिनयता वर्षा भइरहेको छ। वर्षापछि आएको बाढीका कारण हराइरहेका तीन जना व्यक्तिको बुधबार शव भेटिएको थियो।
बाढीका कारण करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन्। सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित छ।
सैनिक हेलिकोप्टरहरुले उद्धारको प्रयास जारी राखेका छन्। उद्धारमा खटिएका अधिकारीहरुले अरु सात जना व्यक्ति हराइरहेका बताएका छन्। मौसम विद्हरुले वर्षाको सम्भावना अझै भएको र आँधी पनि आउन सक्ने चेतावनी दिएका छन्। बाढीबाट साओपाओलो सबैभन्दा बढी प्रभावित छ।
मन्त्रीसँग भेट्नै मुस्किल
राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अस्वीकार गरेका छन्।
बिहीवार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहरतराजले अस्वीकार गरेका हुन्। परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् । ज्ञापनपत्र दर्ता गराएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले विगत ५ महिनायता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योल बढेको बताए।
त्यस्तै नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले परिषदका कर्मचारीहरुले तलब खान नपाउने परिस्थिति बनेको भन्दै त्यसको कारण खेलकुदमन्त्रीको अकर्मण्यता भएको आरोप लगाए।
अध्यक्ष पौडेलले खेल क्षेत्रमा छाएको अन्योलको निकासका निम्ति खेलकुद महासंघका सदस्यहरुले युवा तथा खेलकुद मन्त्रीलाई भेट्ने समय मागेपनि मन्त्री गहतराजले अस्वीकार गर्नुले खेलाडीहरुको आत्मबल घट्ने उल्लेख गरेका थिए।