काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरुले बोर्ड बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अस्वीकार गरेका छन्। परिषद्को ज्ञापनपत्र बुझ्न मन्त्रीले अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन्।
ज्ञापनपत्र दर्ता गराएपछि सञ्चारकर्मीसँगको कुराकानीमा परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले विगत पाँच महिनायता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योल छाएको बताए। पछिल्लो पटक असार ३० गतेलाई राखेपको बोर्ड बैठक तोकिएको थियो। तर सरकार नै परिवर्तन हुने अवस्था आएपछि राखेपको बोर्ड बैठक पनि हुन सकेको छैन।
राखेपको बोर्ड बैठक हरेक वर्षमा कम्तिमा पनि दुई पटक बस्नुपर्ने खेलकुद विकास ऐनमा उल्लेख छ। तर सो ऐन लागू भएयता बोर्ड बैठक बस्न सकेको छैन। त्यसैले राष्ट्रिय खेलकुद परिषद्मा भइरहेको अन्योलताको निकासका लागि तत्काल बैठक बोलाउन माग गरेको कुँवरले बताएका छन्।
बोर्ड सदस्य कुँवरले भने, ‘विगत ४–५ महिनादेखि परिषद्को बैठक बस्न नसकेर अन्योलता छाएको छ। त्यसको निकासको निम्ति हामीले सबै साथीहरु मिलेर युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग यसको निकास मागेका थियौँ। तर उहाँले भेट्न चाहनुभएन। हामीले सचिवालयमा ज्ञापनपत्र बुझाएका छौँ।’
उनले अगाडि भने, ‘बैठक नबसेको डेढ वर्ष हुन लागेको छ। त्यस कारणले गर्दा यो बोर्डको बैठक छिटोभन्दा छिटो बोलाइयोस् भनेर अनुरोध गरेका छौँ। लिखित रुपमा निवेदन पनि दिएका छौँ।’
केहि महिना अघिमात्र राखेपको अध्यक्षसमेत रहेका युवा तथा खेलकुद मन्त्रीलाई बैठक बोलाउन किन आह्वान नगरेको भनेर मन्त्रालयले नै राखेप सदस्यहरुलाई स्पष्टीकरण सोधिएको थियो। सो स्पष्टीकरणपछि सरकारले ९ बोर्ड सदस्यहरुलाई बर्खास्त पनि गरिसकेको छ। यद्यपि सदस्हरुले विषेश अदालतमा मुद्दा दर्ता गरेका थिए। त्यसको फैसला गर्दै अदालतले सदस्यहरुलाई बर्खास्त नगर्न निदेर्शन दिएको थियो। तर अहिले सदस्यहरुले बोर्ड बैडकको माग गरिहेको बेलामा भने युवा तथा खेलकुद मन्त्रीले ज्ञापनपत्र बुझ्न समय नदिएका हुन्।
कुँवरले भने, ‘अहिलेको अवस्थामा सदस्यसचिव नभएकोले गाह्रो छ। तर ऐनअनुसार हामीले बुझेको उपाध्यक्ष बिना पनि बोर्डको बैठक बसाउन सकिने अवस्था छ। हामीले खेल र खेलाडीको लागि, खेलकुद परिषद्भित्रको अन्योलताको निकासको निम्ति आह्वान गरेका छौँ।’
त्यस्तै नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले परिषद्मा अहिले कर्मचारीहरुले तलब खान नपाउने परिस्थिति बन्नुको कारण खेलकुद मन्त्रीको अकर्मण्यता भएको आरोप लगाए। उनले राखेपले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भए पनि मन्त्रीका कारण लथालिंग भइरहेको बताए। पौडेलले खेलाडी र खेलमा रजनीति नगर्न पनि मन्त्री गहतराजलाई आग्रह गरे।
केपी शर्मा ओलीको सरकारले नियुक्त गरेका सदस्यसचिव र सदस्यहरुलाई शेरबहादुर देउवा सरकारले धमाधम बर्खास्त गरेर नयाँ सदस्यसचिव र सदस्यहरु नियुक्त गरेपछि राखेपमा विवाद सुरु भएको हो। अध्यक्ष पौडेलले भने, ‘राष्ट्रिय खेलकुद परिषद्मा अहिले कर्मचारीहरुले तलब खान नपाएको परिस्थिति छ। खेल क्षेत्रमा नवौं राष्ट्रिय खेलकुद गर्नुपर्ने मन्त्री अकर्मण्यताका कारणले गर्दा लथालिंग छ। उहाँले सदस्यसचिव हटाउनु भयो। त्यो भएका कारणले बोर्डका सबै सदस्यहरुले छिटो बैठक बस्न माग गरिएको हो। मन्त्रीले भेट्न चाहनुभएको छैन। यहाँ दर्ता गरेर तत्काल बैठक बोलाइयोस् भन्ने माग हो। खेलकुदलाई दर्बिलो बनाउन खेलमा राजनीति नगर्न मन्त्रीज्यूलाई आग्रह गर्दछौँ।’