नेतात्रयबीच भेट
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीय निर्वाचन र गठबन्धन र एमसीसीलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन्।
सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल गरिरहेको छ। यद्यपि औपचारिक रूपमा चुनावको मिति भने तोकिएको छैन।
यता एमसीसीका विषयमा गठबन्धनभित्रै तीव्र मतभेद छ। प्रधानमन्त्री देउवा स्थानीय निर्वाचनअघि नै एसीसीलाई टुंगोमा पुर्याउनुपर्ने पक्षमा छन्। प्रचण्ड र नेपाल भने यथास्थितिमा एमसीसीलाई अघि बढाउन नहुने धारणा राख्दै आएका छन्।
गठबन्धनबारे नेपाल
सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको सरकार पूरा समय टिक्ने र तीनै तहको निर्वाचनमा मिलेर जाने बताएका छन्।
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन नटुट्ने ठोकुवा गरेका हुन्।
गठबन्धन टुटाउने प्रयास भइरहेको भए पनि टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनसहित प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समेत गठबन्धन मिलेर जाने अध्यक्ष नेपालको दाबी छ।
राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन विजयी भएको र विजयको यात्रा आगामी वर्षको मंसिर महिनामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म कायमै रहने उनको दाबी छ।
जनताको भावनालाई पनि सम्मान गर्ने र नेपालको हीतलाई केन्द्रबिन्दुमा राखेर सबैसँग राम्रो सम्बन्ध बढाउने, हामीले सोच, नीति आफूहरूले अवलम्बन गर्दै आएको नेता नेपालको दाबी छ।
नक्कली रिपोर्ट बनाउने ६ जना पक्राउ
नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा ६ जना पक्राउ परेका छन्।
काठमाडौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी शिक्षण अस्पतालमा कार्यरत कर्मचारीसहित ६ जना पक्राउ परेका हुन्।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज बुधवार पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेहरूमा नागरिक कम्युनिटी शिक्षण अस्पतालका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रशन्नकुमार झा र ल्याब सञ्चालक भावेश मिश्र रहेका छन्। यस्तै कान्तिपुर अस्पतालबाट कर्मचारी नागेन्द्रकुमार यादव, माधव मैनाली र ल्याब सञ्चालक निर्मल गिरी पक्राउ परेका छन्।
प्रहरीले छिट्टानको साथबाट आठ थान र यादवको साथबाट १७ थान नक्कली पीसीआर रिपोर्ट पनि बरामद गरेको छ।
बिचौलिया र ल्याबका कर्मचारी एवम् व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म असुल गरेको भेटिएको महाशाखाले जनाएको छ।
निर्वाचन सुरक्षा योजना पेस गर्न गृहमन्त्रीको निर्देशन
केन्द्रीय सुरक्षा समितिमा स्थानीय तहको निर्वाचन केन्द्रीत सुरक्षा योजना तयार गर्ने विषयमा छलफल भएको छ ।
बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनमा सुरक्षा योजना र जनशक्ति व्यवस्थापनका विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।
बैठकमा देशको समसामयिक सुरक्षा स्थितिको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए।
एमसीसीका कारण गठबन्धन फुटको जोखिममा
नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन्।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भइसकेको दावी समेत गरे।
नेता गजुरेलले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवहरुसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको समेत बताए।
सरकारको समीक्षा गर्दै कांग्रेस
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समिक्षा हुने बताएका छन्।
महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समिक्षा गर्दै दिशानिर्देश गर्ने बताए । जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने र कोभिड–१९ विरुद्धको खोप अभियानका विषयमा सरकारलाई घच्घचाउने उनको भनाइ छ ।
संविधान अनुसार सरकार चलाउने, संविधान र संसदको रक्षा गर्ने, महामारीबाट जनताको जीवन रक्षा गर्ने र निर्वाचन सम्पन्न गराउने सन्दर्भमा सरकारको मुख्य दायित्व रहेको भन्दै सो अनुसार भए नभएको जनताले समिक्षा गर्नुपर्ने बताए ।
कांग्रेसको यसअघि भर्चुअल रुपमा बसेको केन्द्रीय कार्य समिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको थियो ।
मन्त्री झाँक्रीको अनुगमन
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन्।
सडक अतिक्रमण नगर्न पटकपटक सचेत गराउँदा पनि नमानेपछि बुधबार मन्त्री झाँक्री आफैं सो करिडोरको अनुगमनमा गएकी हुन् ।
सवारी साधन नै पास नहुने गरी निर्माण सामग्री राख्ने, पसल राख्ने, टेवल, कुर्सी समेत राखेर बस्ने अवस्था भएपछि उपत्यका विकास प्राधिकरणले कानुन विपरित सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएको थियो ।
मन्त्री झाँक्रीले सडक अतिक्रमण गर्ने काम नरोके कानुन अनुसार कारबाही गर्ने समेत बताइन्। मन्त्री झाँक्रीको अनुगमनका क्रममा प्रहरीले सडकमा राखिएका निर्माण सामग्री, पसल आदि हटाएको थियो ।
ब्राजिलको जित
विश्वकपको दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले शानदार जित निकालेको छ।
ब्राजिलको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पहुना टिम पराग्वेविरुद्ध ४-० गोलको जित निकालेको हो।
जितका लागि राफिन्हा, फिलिप काउटिन्हो, एन्थोनी र रोड्रिडोले गोल गरेका थिए।
खेलको २८औं मिनेटमा गोल गर्दै राफिन्हाले ब्राजिललाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा ब्राजिल १-० गोलले अघि रह्यो।
खेलको ६२औं मिनेटमा काउटिन्होले अग्रता दोब्बर बनाएका थिए। त्यसपछि छैटौं मिनेटमा एन्थोनी र आठौं मिनेटमा रोड्रिगोले गोल गरेका थिए।
खेलमा ७७ प्रतिशत समय बलमा नियन्त्रण बनाउँदै ब्राजिलले विपक्षीको पोस्टमा २२ पटक आक्रमण गरेको थियो। त्यसमा उसले चार पटक सफलता पाएको हो।
अहिले ३९ अंकका साथ ब्राजिल छनोट तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानको अर्जेन्टिनाको ३५ अंक छ भने पराग्वेले १३ अंक जोडेको छ।