भजनी- नेपाल भारत सिमानास्थित भारतको तिकुनिया हुँदै कैलालीको टीकापुरस्थित सत्ती भन्सार जोड्ने कैलाश मानसरोवर प्रवेशद्वार निर्माण थालिएपछि अलपत्रै छोडिएको छ।
नेपाल र भारतको सिमानामा प्रवेशद्वार निर्माण सुरु गरिएको दुईवर्ष भइसक्दा पनि ठेकेदार कम्पनीको लापरबाही र बजेटको अभावका कारण अलपत्र परेको हो।
कैलाश मानसरोवर तीर्थयात्राका लागि पैदलमार्गबाट जाँदा टीकापुर नगरपालिका–७ मा रहेको पद्मप्रकाशेश्वर मन्दिर दर्शन गरेर जाने र आउँदा पनि त्यहाँ दर्शन गरेर फर्कने प्रचलन रहेकाले पनि प्रवेशद्वारको नाम नै कैलाश मानसरोवर प्रवेशद्वार राखिएको बताइएको छ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु ३२ लाख ५७ हजार बजेट बिनियोजन गरेपछि ठेक्कामार्फत प्रवेशद्वार निर्माणको काम सुरु गरिएको थियो तर समयमै ठेकेदार कम्पनीले काम पूरा नगरेका कारण आयोजना अलपत्र परेको स्थानीयवासीको गुनासो छ। प्रदेश सरकारको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले सो कार्यका लागि रु ६५ लाख बराबरको लागत अनुमान तयार पारेको थियो।
ठेकेदार कम्पनी एमएमबि कन्स्ट्रक्सनले प्रवेशद्वारको जगको काम गरेर उठाएका खम्बा बाङ्गो भएको बताइएको छ। खम्बामा प्रयोग भएको मसला पनि निकै कमजोर भएको पाइएकाले खम्बा निकै कमसल र गुणस्तरहिन भएको बताउँदै नेपाली कांग्रेस कैलाली क्षेत्र नं १ का सभापति प्रकाश शाहले तत्काल निर्माण कम्पनीलाई निर्माण भएको संरचना भत्काएर सुरुबाट काम गर्न लगाउनुपर्नेमा जोड दिए।
'प्रवेशद्वार निर्माणमा निर्माण कम्पनीले चरम लापरबाही गरेको देखिएको छ। स्थानीयवासीको पहुँचभन्दा बाहिर रहेकोले पनि ठेकेदारले त्यसको फाइदा उठाएको हुनुपर्छ,' उनले भने, 'काम रोकेर सुरुबाटै प्रवेशद्वार निर्माण गराउनका लागि प्रदेश सरकार जिम्मेवार बन्नुपर्छ, होइन भने निर्माण कम्पनीलाई नै कारबाही गर्नुपर्छ। यस्तो टालटुले कामले आज कैयौं आयोजना अलपत्र परेका छन्।'
सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले निकै मेहनत र प्रयास गरेर निर्माण गर्न लागिएको प्रवेशद्वारको काममा निर्माण कम्पनीले चरम लापरबाही गरेको आरोप लगाए। यो प्रवेशद्वारको महत्व धेरै छ। भोलिका दिनमा भारतीय पर्यटक कैलाश मानसरोवरसम्मको तीर्थयात्रामा पैदल जाँदा यहीँ प्रवेशद्वार भएर जाने गर्दछन्।
'यस पर्यटकीयस्थलको प्रचारप्रसार र विकासका लागि प्रवेशद्वार निर्माण थालिएको थियो,' उनले भने, 'काम राम्रो भएको देखिएन। यसलाई तत्काल दीर्घकालीन हुने गरी निर्माणका लागि पहल गर्ने छु। अहिलेकै अवस्थामा प्रवेशद्वार निर्माणले निरन्तरता पाए त्यो निकै कमसल हुने देखिएको छ।'
प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइका निमित्त प्रमुख भोजराज पाठकले प्रवेशद्वारको काम अलपत्र नपरेको जिकिर गरे। उनले चालू आर्थिक वर्षमा आयोजनाका लागि रु १० लाख बजेट मात्रै विनियोजन भएका कारण त्यहीँ बजेटले मात्र काम गर्न नसकिने भएपछि थप बजेटका लागि समन्वय हुँदै आएको बताए। रासस/झलनाथ खनाल