काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा भारतका रघु राम श्रीनिवास नियुक्त भएका छन्। लेभल थ्री कोर्स पूरा गरेका श्रीनिवासलाई प्रशिक्षकमा नियुक्त गरेको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको हो।
‘टी २० विश्वकपको ग्लोबल छनोटलाई लक्षित गरेर हामीले श्रीनिवासलाई फिल्डिङ कन्सलट्यान्टका रुपमा भित्र्याएका छौं,’ सूचनामा क्यानले लेखेको छ।
अब नेपालले ओमनमा विश्वकपको ग्लोबल छनोट खेल्नेछ। सो छनोटअन्तर्गत समूह चरणको शीर्ष दुईमा परेर सेमिफाइनल हुँदै प्रतियोगिताको फाइनलसम्म पुग्न सके नेपालले विश्वकप खेल्ने सम्भावना रहन्छ। श्रीनिवासलाई अंकित गर्दै नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले धेरै ऊर्जावान प्रशिक्षक भएको बताएका छन्।
उनले भने, ‘प्रशिक्षक रघुले अमेरिकामा मसँगै काम गरेका छन्। उनी धेरै ऊर्जावान फिल्डिङ कोच हुन् जसले नेपाली टोलीको अभावमा केही क्षेत्रहरू पूरा गर्न सक्छ। छोटो सूचनामा आफ्नो बहुमूल्य समय दिएकोमा म उनीप्रति आभारी छु।’