सोमबार, असोज १५, २०८०
  • गृहपृष्ठ
  • भिडियो
  • काममा विदेश जानेका लागि 'कल सेन्टर' सुरु, उत्तर कोरियाद्वारा शक्तिशाली क्षेप्यास्त्र परीक्षण [२०७८-१०-१६]

काममा विदेश जानेका लागि 'कल सेन्टर' सुरु, उत्तर कोरियाद्वारा शक्तिशाली क्षेप्यास्त्र परीक्षण [२०७८-१०-१६]

सरकारले खानेपानी महशुल निर्धारण आयोग गठन प्रक्रिया अघि बढाएको छ। आइतबार खानेपानीमन्त्री उमाकान्त चौधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले खानेपानी महशुल निर्धारण आयोग गठन प्रक्रिया अगाडी बढाएको बताएका हुन्।
 |  आइतबार, माघ १६, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

कल सेन्टर स्थापना

sagarmatha cement

सरकारले वैदेशिक रोजगारीमा जाने युवाको गुनासो तत्काल सम्बोधन गर्न ‘कल सेन्टर’ स्थापना गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आईतबार सिंहदरवारस्थित मन्त्रालय प्राङ्गणमा सेवाग्राहीको गुनासो सम्बोधन गर्न कल सेन्टरको शुभारम्भ गरेका हुन्। 

नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी काम नगरेको भन्दै मन्त्रालयमा पनि कल सेन्टर स्थापना गर्नुपरेको मन्त्री श्रेष्ठले बताए। कल सेन्टरमा गुनासो आउनेबित्तिकै तत्काल सम्बोधन हुने मन्त्री श्रेष्ठको दाबी छ। 

मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो सुनुवाई गरी तत्काल समाधान गर्नका लागि आवश्यक सुझाव दिन सम्बन्धित सबैमा आग्रह गरे। 

कल सेन्टरमा वैदेशिक रोजगारमा गएकाहरुको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टिम पनि परिचालन गर्ने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ।

सबै सहिदको एकीकृत विवरण तयार पार्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन्।

सहिद दिवसको अवसरमा सहिद स्तम्भ लैनचौरमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले सहिदहरूको एकीकृत अभिलेख बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन्। सहिदहरुको योगदानलाई चिरस्थायी बनाउन सरकारले सहिदका परिवारलाई सहयोग गर्ने तथा सहिदको योगदानबारे युवा पुस्तालाई जागरुक बनाउनुपर्ने उनको भनाइ छ। 

देशको अबको गन्तव्य आर्थिक रुपान्तरण र सुशासन भएकोले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नति गर्नुपर्ने उनको भनाइ थियो। 

उता राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका लागि बलिदान गरेकाहरू प्रति सच्चा श्रद्धाञ्जली दिन ‍शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनुपर्ने बताएकी छन्। सहिद दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै उनले सहिदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले शान्ति र विकासका लागि समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियता रक्षाका लागि जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पणसमेत गरेकी छन्। 

हरेक वर्ष माघ १६ गते सहिद दिवसका रूपमा मनाइँदै आइएको छ। 

खानेपानी महसुल निर्धारण गर्न आयोग गठनको तयारी

सरकारले खानेपानी महशुल निर्धारण आयोग गठन प्रक्रिया अघि बढाएको छ। आइतबार खानेपानीमन्त्री उमाकान्त चौधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले खानेपानी महशुल निर्धारण आयोग गठन प्रक्रिया अगाडी बढाएको बताएका हुन्। 

आयोग गठन पछि समय सापेक्ष, वैज्ञानिक एवम् व्यवहारिक महशुल दर निर्धारण हुने अपेक्षा आफूले राखेको मन्त्री चौधरीले बताए। 

यस्तै अलपत्र आयोजनालाई पूर्णता दिन नीतिगत सुधारका लागि प्रकृया अगाडि बढाइएको पनि उनले जानकारी गराए। मन्त्री चौधरीले अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरी ठेक्का सम्झौता गरिसकिएको समेत जानकारी दिए। निर्माण कम्पनी निर्माणस्थलमा परिचालित भई काम सुरु गरिसकेको उनको भनाई छ। 

कार्यक्रममा मन्त्री चौधरीले हालै नारायणी, नवलपुर, भरतपुर र दाङमा सहलगानी खानेपानी तथा सरसफाईको आयोजना सम्पन्न भएको प्रगति विवरण पनि सार्वजनिक गरेका थिए।  

केशरमहल निरीक्षणमा शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पति निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन्। 

राजधानीस्थित केशरमहलको निरीक्षण गर्दै मन्त्री पौडेलले महल परिसरमा रहेको जमिन निजी क्षेत्रलाई प्रयोजनको लागि नदिने बताएका हुन् । 

सरकारी संरचनाहरु नियमविपरित निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानूनअनुसार कारबाही गरिने उनको चेतावनी छ। 

केशरमहलका संरचना निजी क्षेत्रलाई दिने विषय अध्ययन कार्यदलको छलफलमा उठेपछि यो विषय सतहमा आएको छ। केशरमहल ३४ रोपनी दुई आना एक पैसा तीन दाम क्षेत्रफलमा फैलिएको छ। ८ रोपनी क्षेत्रफलमा फैलिएको स्वप्न बगैँचा पनि सोही क्षेत्रमा पर्छ।

स्थानीय तहको निर्वाचन गर्न कानुन संशोधन गर्न हुन्न : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्।

विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा आवधिक निर्वाचन मौलिक हक भएकाले कुनै बहानामा पनि सार्न नहुनेमा जोड दिए।

निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै उनले ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गरे। ‘गठबन्धन दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफललाई तीव्रता दिएर मिति तोक्दा राम्रो हुने नेता कोइरालाको सुझाव छ। 

दलहरूको सहमतिमा प्रदेश १ को नामकरण हुनुपर्ने भन्दै खर्च बढ्ने गरी मन्त्रालय टुक्र्याउने र मन्त्रीको सङ्ख्या बढाउने कुराले सुशासनमा असर परेको उनको धारणा छ। 

सरकारहरू पारदर्शी, जवाफदेही र उत्तरदायी हुनुपर्ने नेता कोइरालाको धारणा छ। 

थप ३२ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ पुगेको हो। 

पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनामा र  दुई हजार ८८३ एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी कुल तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

हाल देशभरमा ८३ हजार ९९९ सक्रिय संक्रमित छन् भने ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन्।

चैतमा बारको चुनाव 

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ। चण्डेश्वर श्रेष्ठ नेतृत्वको कार्यसमितिको तीन वर्षे पदावधि सकिने भएकाले नयाँ कार्यसमितिका लागि बारले निर्वाचनको मिति तय गरेको हो। 

निर्वाचनबाट २५ सदस्यीय नयाँ कार्यसमिति आउने छ। बारमा एक अध्यक्ष, सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सात उपाध्यक्ष, एक महिला उपाध्यक्ष हुनेछन्। 

यस्तै एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्यका लागि चुनाव हुनेछ। बारको निर्वाचनमा देशभरका ९० वटा इकाईबाट करिब ११ हजार सदस्य सहभागी हुनेछन्। 

श्रेष्ठ नेतृत्वको बारले लामो समयदेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलन जारी राखेपनि प्रभावकारी हुन सकेन। 

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले आइतबार बिहान शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ। दक्षिण कोरियाली समयअनुसार आइतबार बिहान ७:५२ मा उत्तर कोरियाको पूर्वी तटबाट उक्त क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ। 

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्काअनुसार मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र (आईआरबीएम)  परीक्षण गरिएको हो। यसलाई सन् २०१७ को नोभेम्बरपछि परीक्षण गरिएको सबैभन्दा ठूलो क्षेप्यास्त्र मानिएको छ। उक्त क्षेप्यास्त्र आकाशमा दुई हजारकिलोमिटरको उचाइमा पुगेर जापान सागरमा झरेको बताइएको छ। 

यसै महिना मात्र प्योङ्याङले परीक्षण गरेको यो सातौं क्षेप्यास्त्र हो। उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो देशको प्रतिरक्षा प्रणाली सुदृढ बनाउन क्षेप्यास्त्र परीक्षण गर्नुपरेको बताएका छन्। 

उत्तर कोरियाको उक्त कदमको जापान, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले निन्दा गरेका छन्। उक्त परीक्षणले संयुक्त राष्ट्रसंघको प्रतिबद्धता उल्लंघन गरेको अमेरिकाको टिप्पणी छ। संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षणमा रोक लगाएको छ।

ए डिभिजन १०औँ चरणका खेल माघ अन्तिम सातादेखि

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिगका १०औं चरणका खेल माघ २७ गतेबाट सुरु गराउने तयारी गरेको छ। 

एन्फाका लिग निर्देशक सञ्जिव मिश्रले माघको अन्तिम साताबाट १०औँ चरणका खेल सुरु गर्ने तयारी भइरहेको जानकारी दिए। त्यसअघि कोभिडका कारण स्थगित च्यासल युथ क्लब र नेपाल पुलिस क्लबको खेल गराउने एन्फाको तयारी छ। 

९ चरणका खेलहरु सकिएपछि करिव तीन साताका लागि लिगमा ब्रेक भएको थियो। लिगका ९ चरणका खेल सकिँदा मच्छिन्द्र क्लब शीर्ष स्थानमा छ। उसले नौं खेलमा सात जित, दुई बराबरी खेल्दै २३ अंक जोडेको छ। 

यो बीचमा नै राष्ट्रिय फुटबल टिमले मोरिसससँग दुई मैत्रीपूर्ण खेलको योजना तय भएको थियो। पहिलो खेलमा नेपाल विजयी भएको थियो । मोरिसससँगको दोस्रो खेल मंगलबार हुनेछ।


प्रकाशित: Jan 30, 2022| 20:03 आइतबार, माघ १६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।