विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनसँग छलफल गरेर निर्वाचनको मिति तय गर्नु संविधान र कानुनविपरीत भएको बताएका छन्। उनले सरकारले निर्वाचन आयोगसँग छलफल गरी निर्वाचन मिति टुंगो लगाउनुपर्ने बताए।
आइतबार आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले कानुन परिवर्तन गरेर निर्वाचन सार्न नहुने बताए। उनले भने, ‘लोकतन्त्रमा आवधिक निर्वाचन मौलिक हो। निर्वाचन कुनै बहानामा सार्न मिल्दैन।’
डा. कोइरालाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुनुपर्नेमा जोड दिए। एक दिन पनि स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन नमिल्ने उनको तर्क छ। नेपाली कांग्रेसले गलत गरे आफूहरुले खबरदारी गर्न नछाड्ने उनले बताए। नेता कोइरालाले १४ औं महाधिवेशनमा पराजित वरिष्ठ नेतालाई मनोनीत गर्नुपर्ने सुझाव दिए।
फरक प्रसंगमा उनले प्रदेश नं १ को नामकरण दलहरुको सहमतिमा हुनुपर्नेमा जोड दिए। खर्च बढ्ने गरी मन्त्रालय टुक्रायाउने र मन्त्रीको संख्या बढाउने कुराले सुशासनमा असर पर्ने उनले भनाइ छ। देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकारले आफ्नो सरकार विस्तार गर्नु पर्नेमा उनले बताए। नेता कोइरालाले भने, ‘सरकार पारदर्शी, जवाफदेहिता र उत्तरदायी हुनुपर्छ।’