विराटनगर– मोरङको धनपालथान–७ स्थित बोर्डिङ स्कुलको उखुबारीमा फेला परेको अर्को शवको पहिचान खुलेको छ। गत बुधबार उखुबारीमा खाडलबाट उत्खनन् गरिएको ३५ वर्षीय पुरुषको पहिचान खुलेको हो।
उनी सप्तरीको शम्भुनाथ गाउँपालिका–४ घर भई काठमाडौँ बस्ने शम्भु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जर्नादन जिसीले बताए। मृतक दुवै जना साथी भएको एसपी जिसीले बताए। उनका अनुसार चौधरीका परिवारले आइतबार शवको पहिचान गरेका हुन्।
उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र ३० मिटर पर बिहीबार दिउँसो अर्को शव उत्खनन् गरेको थियो। बिहीबार उत्खनन् गरी निकालिएको शवको पहिचान तत्काल खुलेको थियो। उनको साथबाट प्रहरीले कागजात फेला पारेको थियो। पहिचान खुलेका सुनसरी धरान घर भई भक्तपुर बस्दै आएका ४९ वर्षीय राजेन्द्र श्रेष्ठको शुक्रबार परिवारले शव बुझेर अन्त्यष्टि गरेका छन्।
श्रेष्ठ र चौधरी साझेदार हुन्। उनीहरू जग्गा कारोबारमा संलग्न देखिएको प्रहरीले बताएको छ। उनीहरू मंसिर पहिलो साता काठमाडौंबाट सँगै विराटनगर आएको प्रहरीले बताएको छ। बुधबार उखु काट्ने क्रममा कामदारले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए।