काठमाडौं- थ्रीस्टार क्लबलाई अहिले आफ्नो साख जोगाउनै ‘धपेडी’ छ। लामो समय नेपाली फुटबलमा राज गरिरहँदा उसलाई टक्कर दिने एकमात्र क्लब थियो- मनाङ मर्स्याङ्दी। कुनै पनि प्रतियोगितामा भिड्न जाँदा डर हुन्थ्यो त त्यही मनाङको। जब यी दुई क्लब भिड्दै हुन्थे, त्यसलाई पाटन-काठमाडौं डर्बी भनिन्थ्यो।
राष्ट्रिय फुटबल टिमका खेलाडीले भरिभराउ रहने थ्रीस्टार जब मैदानमा उत्रिन्थ्यो, उसका समर्थकबाट निस्कने आवाजले फुटबल मैदान गुञ्जायमान हुन्थ्यो।
अहिले भने थ्रीस्टारक लागि त्यस्तो स्वर सुनिन छोडेको छ। थ्रीस्टारले जसरी मैदान तताउँथ्यो, खेलमा त्यो तातोपन पनि देखिन छोडेको छ। आजभोलि त मैदान चिसै हुन्छ झैं प्रदर्शन छ, थ्रीस्टारको। त्यसो भएपछि उसको 'फ्यान-फलोइङ' पनि सेलाएको प्रतीत हुन्छ।
‘प्रदर्शन घटेको म स्वीकार गर्छु। टिमले ‘इमेज’अनुसारको खेल्न सकेको छैन। के भयो भने, सुरुमा पुरस्कार कति भन्ने पनि थाहा भएन। कोभिड महामारीको कारण कुरा हुँदै गरेका प्रायोजकले पनि हात हटाए। यसले टिमको निर्माणमा असर गर्यो। त्यसकै नजिता हो प्रदर्शन,’ क्लबका महासचिव सञ्जिव शिल्पकारले नेपाल समयसँगको कुराकानीमा भने। सोचेअनुसारको प्रदर्शन नभएकोमा सञ्जिव क्लबको तर्फबाट समर्थकलाई ‘सरी’ भन्न चाहन्छन्।
आहा राराबाहेक पनि थ्रीस्टारले थुप्रै मोफसलका फुटबल प्रतियोगिता र गोल्डकप भने जितेको छ। उसले कति उपाधि जित्यो, त्यो यकिन गर्न गाह्रो छ। तर उसको प्रदर्शनमा गिरावट आएसँगै उपाधि पनि जित्ने क्रम चाहिँ घट्दो छ।
क्लबका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ पनि देशमा चलेका खेलाडी पहिलेभन्दा तुलनात्मक रुपले कम भएका कारण प्रदर्शन घटेको बताउँछन्। ‘पहिला थ्रीस्टारमा ७-८ जना राष्ट्रिय टिमका खेलाडी हुन्थे। त्यतिबेला यो टिम धेरै नै सन्तुलित हुन्थ्यो। अहिले त्यो संख्या घटेर २ वा ३ मा पुगेको छ। त्यस्तै, क्लबको बजेट पनि खेलाडीको तलबको अनुपातमा बढेको छैन। अनि, बजेट अनुसारको टिम निर्माण गर्नु परिगयो। यो सबै गरेर बनाएको टिमको प्रदर्शन हेर्दा फ्यानको उत्साह पनि घटिहाल्छ नि,’ प्रशिक्षक श्रेष्ठ भन्छन्।
अहिले फिफा विन्डो ब्रेक भएपछि जारी सहिद स्मारक ए डिभिजन लिगमा पनि ‘लिजर’ समय छ। यो समयमा मोफसलका प्रतियोगिताले आयोजनाको मान्यता पाएका छन्। थ्रीस्टार पनि नेपालको प्रतिष्ठित फुटबल प्रतियोगिता खेल्न पोखरा पुगेको थियो। तर मंगलबार दिउँसो उसले खास प्रदर्शन गर्न सकेन। चोटले थलिएको त्रिभुवन आर्मी क्लबसँग १-० गोलले पराजित भएपछि थ्रीस्टार पहिलो खेलबाटै बाहिरियो।
यसबारे प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘अहिले रुघाखोकी लागिरहेकोले खेलाडी विरामी भए। दुई तीन दिन अभ्यास गर्न नपाउँदा फिटनेसमा थोरै कमी पनि आयो। ८-९ जना खेलाडीलाई अभ्यास गरेर लिएर गएको पहिलो खेलमा नै हार बेहोरियो।’
त्यसो त आहा रारा गोल्डकपमा उसको उपस्थिति कहिले पहिलो खेलबाटै बाहिरिने त कहिले उपाधि जितेर फर्किने खालको नै छ। त्यो कोणमा उसको उपस्थिति निकै गजबको छ। कमसेकम उसको विगतले यस्तै भन्छ।
पहिलो पटक २०५९ मा सहभागी हुँदा थ्रीस्टार पहिलो खेलमै हार बेहोरेर बाहिरिएको थियो। त्यसपछि ऊ २०६४, ०६५, ०६८, ०७२ र २०७८ सालको आहा रारामा पनि त्यसरी नै बाहिरियो। तर २०६१ र २०७६ मा भने सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।
२०७४ सालमा पाँचौं पटक फाइनल पुगेको थ्रीस्टारले पहिलो पटक उपाधि गुमायो। त्यसअघि २०६३, ०६७, ०६९ र ०७१ सालमा पनि फाइनल पुगेको उसले उपाधि चुमेको थियो। २०७५ सालमा भने उसले पाँचौं पटक उपाधि जितेरै छोड्यो।
त्यसरी हेर्दा लाग्छ, उसले उपाधि जितेको इतिहास पनि त पुरानो भएको छैन। तीन वर्ष अघि त हो, फाइनलमा बलियो आर्मीलाई हराउँदै उसले उपाधि जितेको थियो।
२०५८ सालदेखि आहा रारा लगातार भइरहेको छ। तर थ्रीस्टारले सबै प्रतियोगितामा सहभागिता जनाएको छैन। यहाँ उल्लेख गरिएबाहेकको सालमा ऊ प्रतियोगितामै सहभागी बनेन।
यता, आहा राराबाहेक पनि थ्रीस्टारले थुप्रै मोफसलका फुटबल प्रतियोगिता र गोल्डकप भने जितेको छ। उसले कति उपाधि जित्यो, त्यो यकिन गर्न गाह्रो छ। तर उसको प्रदर्शनमा गिरावट आएसँगै उपाधि पनि जित्ने क्रम चाहिँ घट्दो छ।
थ्रीस्टारको स्थायी ठेगाना ललितपुर हो। त्यसमा पनि नेवार जातिको आफ्नै संस्कृतिले सजिएको पाटनको मुटुमा थ्रीस्टारले आफ्नो पकड जमाएको छ। त्यही आसपासमा थ्रीस्टारले आफ्ना समर्थकलाई कहिलेकाहिँ भोजभतेर गराउने गर्थ्यो। त्यसका लागि क्लबका समर्थकले नै सहयोग गर्थे। क्लबले चन्दा संकलन गर्थ्यो।
मंगलबजारको ‘मेन स्क्वायर’मा थियो सेतो भवन, जुन अहिले भत्किसक्यो। २०७२ सालको भूकम्पले भवन भत्किएपछि फेरि नयाँ बनेन। क्लब अर्को ठाउँमा सर्यो। पहिले पहिले थ्रीस्टार लिग जितेपछि त्यही ठाउँमा जान्थ्यो। जब लिग जितेर जान्थ्यो क्लब, पाटनका गल्ली गल्ली झिलिमिलि हुन्थे।
थ्रीस्टार २०५४, ०६१ र ०६९ मा सहिद स्मारक ए डिभिजन लिगविजेता भएर पाटनमा पस्दा यस्तै खुसीयाली भएको थियो। सन् २००५ मा एएफसी प्रेसिडेन्ट कप खेल्दा पनि थ्रीस्टार सेमिफाइनलसम्म पुगेको थियो।
जारी ए डिभिजन लिगमा थ्रीस्टार
२०३१ सालमा स्थापना भएर फुटबलमा मध्यम सुरुवात गरेको टिम हो थ्रीस्टार। डी डिभिजनबाट सुरु भएको थ्रीस्टारको यात्रा २०३९ मा ए डिभिजनमा पुगेको थियो। त्यसपछि ऊ कहिल्यै रेलिगेसनमा परेन।
जारी ए डिभिजन लिगमा थ्रीस्टार क्लबले नवौं चरणको खेल सकिँदा १६ अंक जोडेको छ। उसले पछिल्ला तीन खेलमा लगातार जित निकालेर यो अंक जोडेको हो। १६ अंकसँगै क्लब तालिकाको चौथो स्थानमा छ। उसले नौ खेलबाट चार जित र चार बराबरीका साथ १६ अंक बनाएको हो।
‘अब आइतबारदेखि अभ्यास हुँदैछ। त्यसपछि चाहिँ हामीले कमब्याक गर्ने तयारी गरेका छौँ। मोफसलकै लागि भनेर विशेष तयारी गरेको त छैन। लिगको तयारी नै मुख्य हो,’ प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘हाम्रो लक्ष्य पहिलो हुने नै थियो। मनाङ र मछिन्द्रसँगको खेल बाँकी नै छ। रिजल्ट हाम्रो पक्षमा आयो भने त पुनरागमन गर्दै दोस्रो सम्म हुन सक्छौं।’
लिगमा तीन खेल अघिसम्म त ऊ निकै खराब अवस्थामा थियो। लिगको छैटौं चरण सकिँदा उसले ७ अंक मात्र जम्मा गरेको थियो भने बढुवा भएर आएको सातदोबाटोसँग पनि हार बेहोरेको थियो।
पहिलो खेलमा च्यासललाई हराएको थ्रीस्टारले दोस्रो खेलमा सातदोबाटोसँग हार बेहोरेको थियो। त्यससँगैका पाँच खेलमा जित निकाल्न सकेको थिएन। उसले कमजोर टिम फ्रेन्ड्स, एपीएफसँग सँग बराबरी खेलिरहेको अवस्था छ। त्यस्तै, एनआरटी र आर्मीविरुद्ध पनि लिगमा जित निकाल्न सकेन। निकै कमजोर प्रदर्शन गरेपछि प्रशिक्षक उर्जन श्रेष्ठ र सहायक प्रशिक्षक रविन्द्र सिलाकारलाई बारम्बार सोधिने प्रश्न थियो, ‘के थ्रीस्टारको खेल यस्तै नै हो?’
‘के थ्रीस्टारले पहिलेको जस्तै खेल खेलिरहेको छ त?’ उसका हरेक खेलपछि प्रश्न यस्तै सोधियो। त्यसको जवाफमा सहायक प्रशिक्षक सिलाकारले भनेका थिए, ‘त्यो समय र यो समयको हाम्रो खेलाडी पनि त हेर्नु पर्छ नि। उतिबेला धेरैजसो राष्ट्रिय टिमका खेलाडी थिए। अहिले युवा खेलाडी छन्।’ सिलाकारले यो जवाफ धेरै पटक दिनु परेको छ।
क्लबलाई आफ्नो विरासत जोगाउनै धौधौ परिरहेको अवस्था बनिसकेको थियो। ‘कसरी यस्तो अवस्था आयो त?’ यसको उत्तर पनि गाह्रो भने छैन। सन् २०१५ (२०७१ साल) मा उसले लिग जितेको थियो। जहाँ थ्रीस्टारकै फरवार्ड सन्तोष साहुखलले १७ गोल गरेर सर्वाधिक गोलकर्ता बनेका थिए।
‘त्यो विरासत धान्न त गाह्रै छ। खर्च त्यसरी नै बढेको छ। क्लबको आफ्नै आम्दानी छैन। डोनेसनबाट क्लब चलिरहेको देखिरहेको छु। पहिलेजस्तो खेलाडीलाई थोरै पैसा दिएर हुँदैन। क्लबले राम्रो टिम बनाउन धेरै पैसा खर्च गर्नुपर्छ,’
त्यसपछि चार वर्ष नेपालमा लिग नै आयोजना भएन। त्यो समयमा नेपालका क्लबको अवस्था मापन गर्ने नै मोफसलका प्रतियोगिता थिए। त्यहाँ थ्रीस्टारको सानदार उपस्थिति रहन्थ्यो। अहिले त्यो अवस्था कहाँ रह्यो र?
‘त्यो विरासत धान्न त गाह्रै छ। खर्च त्यसरी नै बढेको छ। क्लबको आफ्नै आम्दानी छैन। डोनेसनबाट क्लब चलिरहेको देखिरहेको छु। पहिलेजस्तो खेलाडीलाई थोरै पैसा दिएर हुँदैन। क्लबले राम्रो टिम बनाउन धेरै पैसा खर्च गर्नुपर्छ,’ प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘भोलि सातदोबाटोले धेरै पैसा जोरजाम पारेर राष्ट्रिय टिमका सबै खेलाडी किन्यो भने ऊ नै बलियो हुन्छ। सबै पैसाकै खेल त हो नि।’
२०७६ को लिग सुरु हुँदै गर्दा थ्रीस्टारका एलन नेउपाने, मिडफिल्डर सुनिल बल र गोलकिपर अभिषेक बराल पाटनकै अर्को क्लब च्यासल क्लबमा गएका थिए। त्यस्तै, २०७५ का सर्वाधिक गोलकर्ता डिफेन्डर रन्जित धिमालसहित बुद्ध चेम्जोङ र विदेशी खेलाडी पिटर सेगुनलाई मछिन्द्रले आफ्नो बनाएको थियो।
उसका फरवार्ड अजयी मार्टिन्स पनि संकटामा अनुबन्ध भएका थिए। त्यसपछि हो थ्रीस्टार खेलमा कमजोर बन्दै गएको। उसले धेरै खेलाडी पाल्न नचाहे पनि अनन्त तामाङ, विक्रम लामा, मिक्छेन तामाङलगायतका केही उत्कृष्ट खेलाडी पनि क्लबमै रहे। तर उत्कृष्ट स्क्वाडबाट मिश्रित स्क्वाड बन्दा टिमको सन्तुलनमा पनि दखल पुग्यो।
०७६ सालको लिगबीच थ्रीस्टारका तत्कालिन प्रशिक्षक मेघराज केसीले भनेका थिए, ‘चार वर्ष लिग नभएर पनि खेलाडी बाहिर देखिएनन्। तर हामीले युवा खेलाडीमा विश्वास गरेर लिगमा आएका छौं। महादेशीय प्रतियोगिता पनि नभएका कारण हामीले धेरै लगानी नगरेको हो।’
क्लबले थोरै लगानी गरे पनि अघिल्लो सिजनमा एक करोडभन्दा धेरै खर्च गरेको थियो। तर उसले आफ्नो खेलाडीलाई क्लबमै राखिरहन नसक्दा प्रदर्शनमा पनि गिरावट आएको थियो।
यो वर्ष तिनै खेलाडी भए पनि बजेट बढेको महासचिव शिल्पकार बताउँछन्। ‘हामीले यो वर्ष डेढ करोडको हाराहारीमा बजेट बनाएका छौं। त्यो धान्न हामीलाई धेरै गाह्रो छ। हामीलाई मात्र होइन, ए डिभिजन लिग खेल्ने सबै क्लबलाई आफ्नो लागत धान्न गाह्रो छ,’ उनले भने।
च्याम्पियन हुने नै हो भने पनि पुरस्कार रकमले त खर्च धान्न सक्ने अवस्था छैन। ‘हामीलाई पुरानो स्पोन्सर (रुस्लान भोड्का) ले सम्झौता नवीकरण गर्न मानेका कारण केहि सहज भने भएको छ,’ उनले भने, ‘कोभिडका कारण अरु स्पोन्सर चाहिँ हामीले पाएनौँ।’
त्यस्तै, लिग र लिगको पुरस्कारको अनिश्चितताले पनि खर्च गर्न क्लबहरु कम उत्साही भएको शिल्पकार बताउँछन्। एकपटक लिगको पुरस्कार एक करोड पुगिसकेको थियो। त्यतिबेला क्लब पनि लगानी गर्न उत्साही हुन्थे। तर पछिल्लो सिजन पुरस्कार रकम आधा भएपछि थ्रीस्टारले पनि धेरै खर्च गर्नु जोखिम हुने सोचेको थियो।
‘वी आर स्टार्स’ नामक थ्रीस्टारको आफ्नै आधिकारिक फ्यान क्लब पनि थियो। तर त्यो अहिले पहिलेजस्तो चुस्तदुरुस्त छैन। थ्रीस्टारको प्रदर्शनले के प्रमाणित गरिदिएको छ भने समर्थक बचाउनका लागि खेलको स्तर पनि जोगाउनु पर्ने हुन्छ। नभए कि समर्थक चुपचाप बस्छन् कि अर्कै क्लब वा खेलमा बानी पर्छन्।
थ्रीस्टारका लागि मात्र नभएर सबै खेल र क्लबका लागि यहि नियम लागू हुन्छ। तर महासचिव शिल्पकार फ्यान घट्नुका कारण कोभिड भएको दाबी गर्छन्। ‘वी आर स्टारका भाइहरु सक्रिय नै छन्। उनीहरु हरेक खेलमा पोस्टर लिएर रंगशालामा गएका छन्। तर कोभिडको प्रतिबन्धका कारण पोखरामा चाहिँ त्यो हुन सकेन,’ उनले नेपाल समयसँगको कुराकानीमा भने, ‘हाम्रो फ्यानहरु पूर्वतिर पनि छन्। तर पाँच वर्षको तुलना गर्दा चाहिँ केहि घटेको छ। बीचमा ब्रेक पनि भयो। कोभिडको कारण पनि त्यो टुटेको हुनसक्छ।’
अहिले थ्रीस्टारले आफ्नो र खेलाडीको भविष्य निर्माणमा ध्यान दिइरहेको छ। ‘क्लबले खेलाडीको अनुबन्ध एक वर्षको मात्र नभएर दुई–तीन वर्षको बनाएको छ। केही खेलाडीले पहिलेकै सम्झौतामा अहिले खेलिरहेका छन्,’ प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘हामीले पछिसम्मलाई नै हेरेर टिम निर्माण गरिरहेका छौं।’
अहिले ए डिभिजनको अनुभव नै नगरेका खेलाडीलाई पनि थ्रीस्टारले अनुबन्ध गरेको छ। यसरी अनुबन्ध गरेर एक्सपोजर दिएर नै फुटबल विकास हुने शिल्पकार बताउँछन्। ‘सानो उमेरमा खेलाडी अनुबन्ध गरेर सकेको अभ्यास गरायौँ भने राम्रो खेलाडी निस्कन्छन् भन्ने हेतुले युवा खेलाडीमा फोकस गरिरहेका छौं,’ उनले भने।
‘यसका लागि सरकार र राष्ट्रिय खेलकुद परिषद्ले नै सहयोग गर्नुपर्छ। रंगशालाको लागि ८० रोपनी जमिन चाहिन्छ। काठमाडौं उपत्यकामा त्यो सम्भवन नै छैन। हामी यहाँका क्लब हौँ, बहिर जानुपरेमा त त्यहाँको सरकारले पनि सहयोग गर्नुपर्छ।’
पहिलेपहिले नेपालमा एक वर्षे सम्झौता प्रचलनमा थियो। त्यसरी क्लब स्थिर नहुने देखेपछि अहिले थ्रीस्टारसँगै विभिन्न क्लबले अनुबन्धको समय बढाउन थालेका छन्। त्यसरी अनुबन्ध गरिएको युवा टिमसँगै थ्रीस्टारले लिग र आहा रारा जित्न नसके पनि यहि वर्ष मोफसलका अन्य प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको छ।
‘लिगमा उपाधि जित्न गाह्रो छ। यसले टिममा आर्थिक दबाब पनि सिर्जना हुन्छ। त्यसैले केही मोफसलको उपाधि जितेको अवस्थामा क्लबलाई सहज हुनेछ। उपाधि जित्दा खेलाडीको मनोबल पनि बढ्छ,’ प्रशिक्षक श्रेष्ठले भने।
भविष्य निर्माणको सन्दर्भमा थ्रीस्टारका आफ्नै मान्यता छन्। एकेडेमी चलाउने र त्यहाँबाट ट्यालेन्ट हन्ट गरेर राम्रो टिम निर्माण गर्ने अन्य क्लबको जस्तै थ्रीस्टारको पनि लक्ष्य छ। ‘एकेडेमी र रंगशाला बनाउने कुरा सुन्दा रमाइलो लाग्छ, गर्नु पनि पर्छ। तर अहिलेका ए डिभिजन क्लबले आफैँ त्यो हैसियत राख्दैनन्,’ महासचिव शिल्पकारले भने, ‘यसका लागि सरकार र राष्ट्रिय खेलकुद परिषद्ले नै सहयोग गर्नुपर्छ। रंगशालाको लागि ८० रोपनी जमिन चाहिन्छ। काठमाडौं उपत्यकामा त्यो सम्भवन नै छैन। हामी यहाँका क्लब हौँ, बहिर जानुपरेमा त त्यहाँको सरकारले पनि सहयोग गर्नुपर्छ।’
प्रशिक्षक उर्जनसँग क्लबको आफ्नै आशा र गुनासाहरु पनि छन्। उर्जनले अहिलेसम्म ‘हाइ प्रोफाइल क्लब’ सम्हालेका थिएनन्। तर थ्रीस्टारले आफ्नै पूर्व खेलाडी र स्थानीय प्रशिक्षकलाई ‘एक्सपोजर’ दिनुपर्ने कुरालाई ध्यानमा राख्दै उनलाई टिमको जिम्मेवारी दिएको छ।
‘सुरुमा प्रशिक्षकबारे धेरै कुरा सुनियो। तर उहाँहरुले दिनप्रतिदिन राम्रो गर्दै हुनुहुन्छ। नतिजामा पनि त्यो देखिएको छ। त्यो विदेशी खेलाडीको कारणले पनि हो,’ महासचिव शिल्पकारले भने।
थ्रीस्टारले सुरुमा रालराम्मविया नामका खेलाडी अनुबन्ध गरेको थियो। तर उनी अनुबन्धन हुनुअघि नै घाइते (ह्यामस्ट्रिङ) थिए। त्यस्तै, फरवार्ड भनेर डिफेन्स सम्हालिरहेका खेलाडी अनुबन्ध गरेपछि अट्याकिङ थर्डमा थ्रीस्टारले राम्रो प्रदर्शन गर्न सकेको थिएन। ‘अनुबन्ध प्रक्रियामा हामी चुकेका हौँ,’ महासचिव शिल्पकारले भने।
तर क्लबले त्यो समस्या सुधार गर्दै अहिले घनेफो अन्सुमाना र राफेल रिमलाई भित्र्याइसकेको छ। त्यसले गर्दा पनि थ्रीस्टारले लिगका तीन खेलमा जित निकालिरहेको छ र आउँदो खेलका लागि उत्साही छ।