काठमाडौं– सुनसरीमा आयोजित तेस्रो बर्जु महोत्सवमा भएको सम्पूर्ण क्षति महोत्सव आयोजक र प्रायोजकले व्यहोर्नुपर्ने निष्कर्ष छानबिन समितिले निकालेको छ। समितिले तयार पारेको प्रतिवेदनमा घटनाको जिम्मेवार बर्जु सामुदायिक विकास केन्द्र भएको उल्लेख छ।
भारतीय कलाकार खेसरीलाल यादवको तोडफोड भएको गाडी र सर्कसवालाको मोटरसाइकललगायत अन्य सामानको क्षतिपूर्ति आयोजकले नै व्यहोर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ। बेचिएको टिकटको अर्धकट्टी देखाएमा त्यसको रकम, व्यापारीले मञ्चमा जोडेका सामानको क्षतिपूर्ति र इलाका प्रहरी कार्यालयको गाडीमा भएको क्षति र प्रहरी कर्मचारीको उपचार खर्च पनि बर्जु सामुदायिक केन्द्रले नै व्यहोर्नुपर्ने निष्कर्ष समितिले निकालेको छ।
बर्जु गाउँपालिकाको रोहवरमा क्षति भराई त्यसको राफसाफ विवरण गाउँपालिकाको अभिलेखमा राख्न पनि सुझाव दिइएको छ। आगजनी र तोडफोडको नेतृत्वकर्तालाई कानुनबमोजिम कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिन पनि प्रतिवेदनमा भनिएको छ। साथै बर्जु सामुदायिक विकास केन्द्रले क्षतिपूर्ति भराई, आम्दानी–खर्चको सामाजिक लेखापरीक्षण नगरेसम्म संस्था दर्ता ऐन २०३४ बमोजिम संस्थाका सम्पूर्ण गतिविधिमा रोक लगाउनुपर्ने निष्कर्ष छानबिन समितिको छ।
त्यही घटनाका कारण भारतसँगको सम्बन्ध बिग्रन नदिन स्थानीय प्रशासनले सक्रियता र सावधानीपूर्वक समन्वय गर्ने भएको छ। आगजनी र तोडफोडमा भीड मनोविज्ञान नै जिम्मेवार भएको ठहर पनि समितिले गरेको छ। सुरक्षाकर्मीले बल प्रयोग गरेको भए मानवीय क्षति हुन सक्ने भन्दै समितिले सुरक्षाकर्मीले बल प्रयोग नगर्दा मानवीय क्षतिको अवस्था टरेको बताएको छ।
भारतबाट लोकप्रिय भोजपुरी कलाकार ल्याउँदा सुरक्षाका लागि आयोजकले सुरक्षा निकायलाई जानकारी नदिएको पनि पाइएको छ। आफूखुसी खेसरीलाललाई आमन्त्रण गरेको निष्कर्ष समितिले निकालेको छ।
छानबिन समितिका अनुसार खेसरीलाल यादव र उनको समूहका कलाकारले चढेका २ वटा र नम्बर नखुलेका सहित चारवटा गाडीमा आगजनी भएको छ। मञ्चमा जडान भएका सबै सामान तोडफोड भएका छन्। सर्कसवालाका मोटरसाइकल र अन्य सामान पनि तोडफोडबाट नष्ट भएका छन्। टिकट काउण्टरमा क्षति पुगेको र एउटा सिटी सफारी पनि तोडफोड भएको छ।
नेपाल प्रहरीको गाडीमा पनि क्षति पुगेको छ। केही प्रहरीसमेत घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालयले महोत्सव रोक्न पटकपटक पत्राचार गरेको, प्रहरी घरमै पुगेर आग्रह गर्दा पनि आयोजकले जबरजस्ती गर्दा क्षति भएको निष्कर्ष छानबिन समितिको छ।
गत माघ ४ गते बर्जु महोत्सवमा तोडफोड भएको थियो। सुरुमा जिल्ला प्रशासन कार्यालयले नै महोत्सव सञ्चालनका लागि अनुमति दिए पनि कोभिडका कारण रोक लगाउँदा पनि नटेर्दा घटना भएको छानबिन समितिले बताएको छ।
उक्त घटनापछि जिल्ला सुरक्षा समिति र सर्वदलीय बैठकले सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।