एमालेको ध्यानाकर्षण
प्रमुख विपक्षी नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठबन्धन सरकारले विगतमा प्रतिपक्षमा रहँदा एक घर एक पिसिआर नारा लगाउने गठबन्धनले अहिले आफू सत्तामा हुँदा कोरोना परीक्षण र उपचारको दायरा नबढाएकोप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
कोभिडको तेस्रो लहर सुरु भएको र जनजीवन अस्तव्यस्त बनेको छ। विगतमा एक घर एक पीसीआर नारा लगाउने गठबन्धन आफैंले सरकार सञ्चालन गरेका बेला अहिले परीक्षण र उपचारको दायरा नबढाएको भन्दै एमालेले असन्तुष्टि व्यक्त गरेको छ ।
सरकार गठन भएको नौ महिना भइसक्दा पनि सरकारले विकास निर्माणका जनअपेक्षालाई कुठाराघात मात्र गरेको एमालेको आरोप छ।
चुलियो व्यापार घाटा
चालू आर्थिक वर्षको ६ महिनामा मुलुकको व्यापार घाटामा तीव्र वृद्धि भएको छ । निर्यातभन्दा आयात बढी भएकाले मुलुक चरम व्यापार घाटामा भन्सार विभागको तथ्यांकले देखाएको हो।
विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेको छ। यो अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ६ खर्ब ४४ करोड ६१ लाखको भएको थियो ।
६ महिनामा नेपालले ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा आयात गरेको छ । यो अवधिमा नेपालबाट १ खर्ब १८ अर्ब ८५ करोडको निर्यात भएको छ ।
मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पौने २ खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि ५ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । रेमिट्यान्स लगातार घटिरहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन् ।
उल्टै रेणुको आरोप
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले अपव्याख्या गरिएको आरोप लगाएकी छिन् ।
जनता समाजवादी पार्टीकी नेतृसमेत रहेकी मन्त्री यादवले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएकी हुन्। आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र उत्तेजित पार्न नभएको उनको दाबी छ ।
आफ्नो मन्तव्यलाई लिएर भ्रम फैलाइएको आरोप लगाउँदै उनले कसैलाई उत्तेजित पार्ने आफ्नो उद्देश्य नभएको मन्त्री यादवको दाबी छ।
१० हजार ३१९ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जना कोरोना संक्रमित थपिएका छन्।
१६ हजार ६५४ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन परीक्षणमा २ हजार २ सय ६५ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् भने आज ४ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्यकर्मी संक्रमित
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ।
अस्पतालका ६० भन्दा बढी कर्मचारीमा कोरोना देखिएसँगै अस्पतालले सोमबारदेखि सात दिनसम्मका लागि खोप कार्यक्रम स्थगित गरेको छ।
एकै पटक ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए।
राजधानीका वीर, शिक्षण अस्पताललगायतमा पनि कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या उच्च छ ।
१०० अंक घट्यो नेप्से
शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन करिब १०० अंकले गिरावट आएको छ ।
आइतबार १० अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार भने उच्च अंकले गिरावट आएको हो ।
सोमबार कारोबारको शुरुवातदेखि उतरचढावका बीच ९९.८६ अंकले गिरावट आएर २ हजार ८२०.६५ बिन्दुमा झरेको छ ।
सोमबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । २२८ कम्पनी मध्ये ८ कम्पनीको शेयरमूल्य बढेको भने बाँकी कम्पनीको शेयर मूल्य गिरावट आएको छ ।
सोमबार नेप्से कारोबारका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन् ।
विद्रोहीको नियन्त्रणमा बुर्किनाका राष्ट्रपति
पश्चिम अफ्रीकी मुलुक बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई विद्रोही सेनाहरुले नियन्त्रणमा लिएका छन्।
द्वन्द्वग्रस्त देशमा सैन्य कू को डर देखाउँदै सेनाले अधिकांश सैनिक ब्यारेकमा विद्रोह गरेको एक हप्तापछि राष्ट्रपति काबोरेलाई नियन्त्रणमा लिएको अलजजिराले जनाएको छ।
दुई सुरक्षा स्रोत र एक पश्चिम अफ्रिकी कूटनीतिज्ञले रोयटर्स समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार राष्ट्रपति काबोरेलाई सैन्य शिविरमा हिरासतमा राखिएको छ। यस विषयमा सरकारले कुनै प्रतिक्रिया दिएको छैन।
आइतबार बुर्किना फासोको सरकारले सैन्य कू हुन नसक्ने र कुनै कू भएको विषय अस्वीकार गरेको थियो।
एएफपी समाचार एजेन्सीले पनि राष्ट्रपतिलाई अन्य सरकारी अधिकारीहरूलाई विद्रोहीले नियन्त्रणमा लिएको बताएको छ।
यसअघि मुलुकमा राजनीतिक संकट बढ्दै गएको भन्दै ९ डिसेम्बरमा प्रधानमन्त्री जोसेफ मारी डाबिरेले राजीनामा दिएका थिए।
आइपुग्यो मोरिसस फुटबल टोली
आयोजक नेपालसँग दुई मैंत्रीपूर्ण खेल खेल्नका लागि सोमबार मोरिसस टोली काठमाडौं आईपुगेको छ।
पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
हाल फिफा बरियताको १ सय ७२ औं स्थानमा रहेको मोरिसस टिमले नेपालसँग सुखद नतिजाका लक्ष्य लिएर आएको बताएको छ । यद्यपि कोरोना र चोटका कारण मुख्य खेलाडी विना नै मोरिसस नेपाल आएको हो ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १५ र १८ गते हुँदैछ । नेपाल आईपुगेको टोलीको कोरोना परिक्षणपश्चात् मात्र अभ्यास गर्न अनुमति दिने एन्फाको तयारी रहेको छ । कोभिड मापदण्ड अन्र्तगत मोरिसस टोली खेल भन्दा पाँच दिन अगाडी नै काठमाडौं आईपुगेको हो ।