एमालेको आरोप
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सत्तारुढ गठबन्धनले संविधानको अपव्याख्या गर्दै स्थानीय तहको निर्वाचन धकेल्ने प्रयास गरिरहेको आरोप लगाएको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आईतबार प्रेस वक्तव्य जारी गर्दै संविधानको अपव्याख्या गर्दै सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन पर धेकेल्ने प्रयास गरिरहेको आरोप लगाएका हुन्। ओलीले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्नेमा आफ्नो पार्टी स्पष्ट, द्विविधारहित र दृढ अडानमा रहेको उल्लेख गर्दै त्यसबारे हुने कुनै पनि अलमल, धोखाधडी र बहानाबाजी आफ्नो पार्टीलाई किमार्थ स्विकार्य नहुने चेतावनी दिएका छन्।
स्थानीय तहको निर्वाचनलाई पर धलेल्न सत्तारुढ गठबन्धनले २०७९ बैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्ड फ्याँकेको आरोप लगाउँदै यसले राजनीतिक अन्यौल सृजना गरेको दाबी गरे।
जनमत पार्टीका नेताहरुलाई गौर काण्डजस्तै घटना दोहोर्याएर हत्या गर्न धम्की दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुका यादवलाई अझै पदबाट मुक्त नगरेको भन्दै आपत्ति प्रकट गरे।
अध्यक्ष ओलीले एमसीसीबारे सत्तारुढ दलहरुले द्वैध चरित्र देखाएको भन्दै आपत्ति जनाएका छन्। उनले भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरामा एकतर्फी संरचना निर्माण गर्दा पनि सरकारले आपत्ति नजनाएर निरीहता प्रकट गरेको आरोप समेत लगाए।
माघ २७ मा पदाधिकारी चयन गर्दै माओवादी
नेकपा माओवादी केन्द्रको महाधिवेशन सकिएको डेढ महिनापछि पदाधिकारी चयन गर्ने भएको छ।
माओवादीले माघ २७ गते केन्द्रीय कमिटीको बैठक बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो।
पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न पुस २५ र माघ ८ मा बोलाएको केन्द्रीय समिति बैठक कोरोनाका कारण बस्न सकेको थिएन। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार परिपत्र जारी गर्दै रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ बाट काठमाडौमा बस्ने र सोही बैठकले पदाधिकारी चयन लगायतका निर्णय गर्ने जानकारी दिएका हुन्।
सोही मितिमा बस्ने बैठकले केन्द्रीय कमिटीको पूर्णता, पोलिटब्युरो र स्थायी समितिको गठनका साथै पदाधिकारीको निर्वाचन गर्ने प्रचण्डको पत्रमा उल्लेख छ। प्रचण्डले प्रदेश समितिहरुले प्रदेश समिति र पदाधिकारी निर्वाचनलाई पूर्णता दिने कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
यस्तै आगामी वर्ष निर्वाचन हुने भएकाले आवश्यक अध्ययन र योजना निर्माणको काम थाल्न पनि पार्टीपङ्तिलाई प्रचण्डको निर्देशन छ।
राप्रपाको ठहर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आायोगले पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरित भएको भन्दै कानूनी र राजनीतिक उपचार खोज्ने निस्कर्ष निकालेको छ।
आईतबार पार्टी केन्द्रिय कार्यालय चाबहिलमा बसेको केन्द्रिय पदाधिकारीको बैठकले सो निस्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचन आयोगले भन्दैमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल सिद्धान्त नै संशोधन गरेर नजाने बताए। उनले आफ्नो पार्टीको विधान संविधानको परिधि भित्र नै रहेकोले आयोगको निर्देशन पूर्वाग्रही देखिएको भन्दै उचित समयमा त्यसको जवाफ दिने बताए।
यता निर्वाचन आयोगले भने राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विधानका केही अंशहरु नसच्याए आयोगले उपयुक्त निर्णय गर्ने स्पष्ट पारेको छ।
आयोगले राप्रपाको विधानको धारा ४ मा हिन्दुराष्ट्र एवं राजसंस्था उल्लेख भएको भन्दै हटाउन निर्देशन दिएको थियो।
जेठ ५ गते स्थानीय तह नेतृत्वविहीन हुनेछन् : आयोग
निर्वाचन आयोगले चुनावको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउने जिम्मेवारी सरकारको भएको बताएको छ।
स्थानीय तहको पदावधि सकिँदै गएकोले आगामी जेठ पाँच गते भन्दा अगावै स्थानीय तहको निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले बताएको हो।
आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले स्थानीय तहको निर्वाचन सम्बन्धी ऐनले दफा ३ र दफा ५५ ले तोकेअनुसार ऐन प्रारम्भ भएपछि सम्पन्न हुने पहिलो निर्वाचनको हकमा निर्वाचन मिति तोकिएको सातौँ दिनमा निर्वाचन सम्पन्न भएको मानिने उल्लेख गरे।
२०७४ जेठ ३० गते निर्वाचन भएको आधारबाट हेर्दा जेठको ५ गते राती १२ बजे स्थानीय तहका प्रमुख तथा उपप्रमुखका साथै वडाध्यक्ष र सदस्यको पदावधि सकिने उल्लेख गरे।
निर्वाचनको तयारीका लागि १२० दिनको समय रहेकोले सरकारले चाँडै निर्वाचनको मिति तोकिदिएमा सबै किसिमबाट तयारीमा जुट्न सजिलो हुने उनको भनाइ छ।
आयोगले स्थानीय तहको निर्वाचन र पदावधीसम्बन्धी सबै व्ववस्थाको जानकारी सबै दलहरुलाई गराइसकिएको बताएको छ।
६ हजार ४६२ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो।
१३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन्।
घट्यो सेयर बजार
साताको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ। आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको छ। नेप्से परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ।
तर, फ्लोट इण्डेक्स १.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंक घटेको छ।
आइतबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबारमा आएका १३ उपससमूहमध्ये ८ उपसमूहको परिसूचक गिरावट आएको छ भने ५ उपसमूहको परिसूचक भने बढेको छ।
चेपाङ बस्तीमा खोप
बागमती प्रदेश सरकारले मकवानपुरको चेपाङ बस्तीमा टोलमै पुगेर खोप लगाउने अभियान शुरु गरेको छ।
मकवानपुरको चेपाङ बाहूल्य क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकासहित केही वडामा खोप अभियान लक्ष्यभन्दा कम पाईएपछि टोलमै पुगेर खोप लगाउने अभियान शुरु भएको हो।
गाउँमै खोप अभियान पुगेपछि यसअघि खोप नलगाई बसेका चेपाङ समुदायका स्थानीयमा उत्साह देखिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले पनि सबै इकाईका स्वास्थ्य प्राविधिक र स्वयंसेविका परिचालन गरि टोल टोलमै कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको जनाएको छ।
बागमती प्रदेश सरकारले कोरोनाविरुद्धको खोप लगाउने दर कम भएको स्थानीय तहलाई लक्षित गरेर चोक, चौतारा, पाटीपौवा, मठमन्दिर, गुम्बा, टोल विकास संस्थाजस्ता स्थानीयको बढि उपस्थित हुने स्थानमै खोप अभियान संचालन गरिरहेको जनाएको छ।
मनाङ फाइनलमा
मनाङ मर्स्याङ्दी क्लब २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो।
पोखरा रंगशालामा मनाङलाई जित दिलाउन रुपेश केसी र आफिज ओलावाले एक एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मनाङले दुबै गोल गरेको थियो। खेलको ६४ औं मिनेटमा रुपेशले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। ओलावालेको पासमा रुपेशले सहजै गोल गरेका हुन्।
त्यसपछि खेलको ८७ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २–० को जित दिलाए। उनले पुलिसका दुई डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका हुन्।
अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ। यस अघि एपीएफ बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ।