काठमाडौं– आउँदो संस्करणको आईपीएलको मेगा अक्सनका लागि १५ जना नेपाली खेलाडीले आफ्नो नाम पठाएका छन्। आगामी फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुने अक्सनमा भाग लिनका लागि नेपाली खेलाडीले नाम दर्ता गराएका हुन्।
कुनै पनि प्रतियोगिताको अक्सनमा भाग लिन नेपाली खेलाडीले नेपाल क्रिकेट संघ (क्यान)मार्फत नाम पठाउनु पर्ने हुन्छ। क्यानले नाम दर्ता गराउने खेलाडीको नाम सार्वजनिक गरेको छ। नेपाली सबै खेलाडीले आधार मूल्य २० लाख भारु राखेका छन्।
अहिलेसम्म नेपालका सन्दीप लामिछानेले मात्र आईपील खेलेका छन्। लगातार तीन सिजन दिल्लीको टिमबाट खेलेका सन्दीप २०२१ को सिजनको अक्सनमा भने कुनै टिममा परेनन्।
पछिल्लो पटक पनि धेरै नेपाली खेलाडीले अक्सनमा नाम पठाए पनि सन्दीपलाई मात्र इन्डियन क्रिकेट कन्ट्रोल बार्डले अक्सनको लागि मान्यता दिएको थियो।
यो वर्ष इन्डियन प्रिमियर लिगले टिमको संख्या थपेर १० बनाएको छ। त्यस्तै, सबै टिमले तीनदेखि चार खेलाडीमात्र टिममा राखेर बाँकी सबै खेलाडीलाई अक्सनमा पठाएका छन्। त्यसैले अब १० क्लबले नै नयाँ टिम निर्माण गर्नुपर्ने भएको छ।
यस्तोमा नेपालबाट एकभन्दा धेरै खेलाडी पर्न सक्ने अवसर पनि रहन्छ। अहिले नेपालबाट नाम दार्ता गराउनेमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, अभिनास बोहरा, शरद भेषावकर, कुशल मल्ल, करण केसी र दिपेन्द्र सिंह ऐरी छन्। करण केसी, सोमपाल कामी र कुशल मल्लले त अबुधाबी टी १० लिग पनि खेलिसकेका छन्।
आईपीएल अक्सनका लागि विश्वका विभिन्न देशका खेलाडीले नाम दर्ता गराएका छन्। ईएसपीएन क्रिकइन्फोका अनुसार ४९ खेलाडीले सबैभन्दा अधिक आधार मूल्य राखेर आफ्नो नाम दर्ता गराएका छन्। डेविड वार्नर, ऋषवन्त अश्विन, कागिसो रबाडा र ड्वेन ब्राभोलगायतका खेलाडीले आफ्नो आधार मूख्य सबैभन्दा उच्च राखेका छन्। त्यो भनेको दुई करोड भारतीय रुपैयाँ हो। आफ्नो मूल्य अधिक राख्नेमा १७ भारतीय खेलाडी छन् भने बाँकी खेलाडी भारतबाहिरका छन्।
कुनै पनि प्रतियोगिताको अक्सनमा भाग लिन नेपाली खेलाडीले नेपाल क्रिकेट संघ (क्यान)मार्फत नाम पठाउनु पर्ने हुन्छ। क्यानले नाम दर्ता गराउने खेलाडीको नाम सार्वजनिक गरेको छ। नेपाली सबै खेलाडीले आधार मूल्य २० लाख भारु राखेका छन्।
केही महत्वपूर्ण खेलाडीले भने यो वर्षको आईपीएलमा आफ्नो नाम दर्ता गराएका छैनन्। नाम दर्ता नगराउनेमा मिचेल स्टार्क, साम कुरन, बेन स्टोक्स, क्रिस गेल, जोफ्रा आर्चर र क्रिस वोक्स रहेका छन्। उनीहरुले चोटका कारण वा व्यक्तिगत कारण नाम दर्ता नगराएका हुन्।
अहिले सबै टिमले खेलाडी रिलिज गरेका कारण सीमित खेलाडी मात्र टिममा छन्। पछिल्लो पटक बीसीसीआईले घोषणा गरेअनुरुप एक टिमले धेरैमा चार खेलाडी मात्र टिममा रिटेन गर्न पाउने व्यवस्था थियो। त्यसअनुरुप आईपीएलका पुराना आठ टिमले ३२ खेलाडी राख्न पाउनेमा २७ खेलाडी राखेका छन्।
त्यस्तै, थपिएका टिम अहमदाबाद र लखनउले पनि समान ३–३ खेलाडी अनुबन्ध गरिसकेका छन्। यस्तोमा सबै टिमले आफ्नो टिम निर्माणका लागि तयारी थालेका छन्। अब अक्सन आउन पनि तीन हप्ता पनि बाँकी छैन।
विभिन्न टिमले रिटेन गरेका खेलाडी
आईपीएलका पुराना आठै क्लबले खेलाडी रिटेन गरेका छन्। चेन्नईले रविन्द्र जाडेजा, महेन्द्र सिंह धोनी, रितुजार गायक्वड र मोइन अलीलाई क्लबमै राख्ने भएको छ। त्यस्तै मुम्बई इन्डियन्सले पनि रोहित शर्मा, जसप्रित बुमराह, सूर्यकुमार यादव र किइरोन पोलार्डलाई क्लबमै राख्ने भएको छ।
कोलकत्ताले सुनिल नायर, आन्द्रे रसेल, वरुण चक्रवर्ती र वेंकटेस अयरलाई क्लबमै राख्ने भएको हो। हैदराबादले केन विलियम्सन, अब्दुल समद र उमरान मलिकलाई राख्नेछ भने राजस्थानले सन्जु समसन, जस बटलर र यसश्वी जैसवाललाई क्लबमै राखेको छ।
त्यस्तै बैंगलोरले विराट कोहली, मोहम्मद सिरज र ग्लेन माक्सवेललाई क्लबमै राख्ने भएको छ भने दिल्लीले ऋषभ पन्त, पृथ्वी शा, अक्षर पटेल र एनरिच नोर्कियालाई क्लबमै राख्नेछ। यता पञ्जाबले भने मयंक अग्रवाल र अर्ष दिप सिंह राख्ने भएको छ।
थपिएका दुई क्लबले पनि तीन–तीन खेलाडी छनोट गरिसकेका छन्। त्यस्तोमा अहमदावादले हार्दिक पाण्ड्या, राशिद खान र शुभमन गिललाई आफ्नो बनाएको छ। त्यस्तै लखनउले केएल राहुल, मार्कस स्टोइनिस र रवी विश्नोइलाई क्लबमा भित्र्याएको छ।
अब क्लबले खेलाडी रिटेन गरेबापत अक्सनमा पाएको रकममध्ये ४२ करोड खर्च भएको मानिने छ। आउँदो सिजनका लागि अब नयाँ अक्सन हुनेछ। सो अक्सनमा हरेक टिमले ९० करोड भारतीय रकम खर्च गर्न पाउनेछन्।
चार खेलाडी रिटेन गर्ने टिमले ४२ करोड पकेट मनी गुमाउनेछ। अहिले सबैभन्दा धेरै पकेट मनी भएको क्लब पञ्जाब किंग्स हो। उसको पर्समा ७२ करोड भारतीय रुपैयाँ बचत छ। त्यस्तै, हैदाराबादको ६८ करोड छ भने राजस्थानको ६२ करोड पर्स मनि रहेको छ।
त्यस्तै, लखनउको ५८ करोड हुँदा बैंगलोरको ५७ करोड रहेको छ भने अहमदावादको ५२ करोड रहेको छ। बाँकी टिमको पर्स मनी ५० करोडभन्दा कम छ। सबैभन्दा कम हुने टिममा दिल्ली क्यापिटल छ। उसले अब ४७.५ करोडको खेलाडी किन्न पाउनेछ।
अहिले आईपीएलमा धेरै खेलाडी अक्सनमा रहने भएकाले नेपाली खेलाडी पर्ने सम्भावना पनि धेरै छ। तर, नेपालबाट नाम पठाइएका सबै खेलाडी भने अक्सनमा नपर्न पनि सक्छन्। अब नेपालबाट पठाइएको नाम बीसीसीआईले जाँच गरेर अक्सनमा राख्ने वा नराख्ने निर्णय गर्नेछ।