काठमाडौं- सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ क्लबलले शनिबार दिउँसो अमेरिकी क्लब बिवाईएससी मिनेस्टो लाई हराउँदै पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।
पोखरा रंगशालामा शनिबार दिउँसो भएको खेल एपीएफले ३–१ गोलको जित निकालेको हो। एपीएफका लागि रवी थिङले दुई गोल गरे भने आवास लामिछानेले एक गोल गरेका थिए।
यता बीवाईएससीका मेगल फलाफोक्सले एक गोल फर्काएका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफका दोस्रो मिनेटमै बिवाईएससीले अग्रता बनाएको थियो।
तर, खेलको अन्तिम समयमा एपीएफले पुनरागमन गर्यो। एपीएफका युवा खेलाडी आवास लामिछानेले खेलको ७० औं मिनेटमा गोल गर्दै खेलमा बराबरी गरेका थिए। त्यस्तै, खेलको ५८ औं मिनेटमा मैदान छिरेका रवि थिङले दुई गोल गरे। एनले खेलको ८४ औं मिनेटमा र इन्ज्युरी समयमा गोल गर्दै एपीइफलाई ३–१ गोलको जित दिलाएका हुन्।
अब एपीएफले माघ १२ गते सेमिफाइनल खेल्नेछ। उसले साविक विजेता संकटा र मछिन्द्रको खेलको विजेतासँग खेल्नेछ। संकटाले गत सिजन पहिलो पटक आहा रारा गोल्डकप जितेको थियो भने मछिन्द्रले अहिलेसम्म उपाधि जितेको छैन।