आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय सभाका लागि गठबन्धन गर्न एमाले र राप्रपाबीच निरन्तर छलफल, उपलब्धि 'शून्य'

Siddartha premir insuranceSiddartha premir insurance

राष्ट्रिय सभाका लागि गठबन्धन गर्न एमाले र राप्रपाबीच निरन्तर छलफल, उपलब्धि 'शून्य'

राप्रपाले एक सिट आफूहरुलाई दिए सहमति बन्न सक्ने बताउँदै आएको छ। तर एमाले भने तीनै सिटमा आफूलाई सघाउनुपर्ने बताउँदै आएको छ। एमालेको प्रस्तावलाई राप्रपाले अस्वीकार गरिसकेको छ।
 |  शुक्रबार, माघ ७, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, माघ ७, २०७८

विराटनगर- राष्ट्रिय सभा सदस्य पदका लागि आगामी माघ १२ गते हुने निर्वाचनका लागि प्रदेश १ मा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच निरन्तर छलफल भए पनि सार्थक हुन सकेको छैन। राष्ट्रियसभा सदस्य निर्वाचनमा ५ दलीय गठबन्धन एकातिर भएकाले एमाले र राप्रपाले पनि गठबन्धनको प्रयास गरेपनि त्यसले सफलता भने नपाएको हो। 

triton college

राप्रपाले एक सिट आफूहरुलाई दिए सहमति बन्न सक्ने बताउँदै आएको छ। तर एमाले भने तीनै सिटमा राप्रपाले आफूलाई सघाउनुपर्ने बताउँदै आएको छ। एमालेको प्रस्तावलाई राप्रपाले अस्वीकार गरेसँगै दुवै पक्षको निरन्तरको छलफल उपलब्धिविहीन बन्न पुगको हो। 

आफ्नो एक उम्मेदवारलाई सहयोग गर्न एमाले तयार भए राप्रपाले सहयोग गर्न तयार हुने अन्यथा सहयोग नगर्ने शर्तका कारण दुई पार्टीबीचको छलफल निश्कर्षमा पुग्न नसकेको एमाले स्रोतले जानकारी दियो। 

राप्रपाको जम्मा १२० मतभार मात्र रहेकाले उसलाई एक सिट दिन नसकिने एमालेको निष्कर्ष छ। यद्यपि एमाले अन्तिम समयसम्म पनि राप्रपासँग संवादमा रहने एमालेका एक नेताले बताए। 

उता राप्रपाले पनि चुनावमा मिलेर जानका लागि छलफल भएपनि निष्कर्षमा पुग्न नसकिएको बताएको छ। राप्रपाले एक सिट पाए सहमति हुने उल्लेख गरेको छ। 

Metro Mart
vianet

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै झापाका नेताहरू हुन्। गत प्रतिनिधि सभा निर्वाचनमा एमाले र राप्रपाबीच झापामा गठबन्धन भएको थियो। चुनावी तालमेलका कारण दुवै अध्यक्षले जित हासिल गरेका पनि थिए। यसर्थ दुवै नेताबीच केन्द्रीय तहमा नै निर्णय भएर प्रदेशमा चुनावी तालमेल हुने सम्भावना सकिइनसकेको एमालेका अर्का एक नेताले उल्लेख गरेका छन्। 

राष्ट्रियसभा सदस्य निर्वाचनमा स्थानीय तहका प्रमुख–उपप्रमुख र प्रदेश सांसद मतदाता हुन्छन्। स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १८ र प्रदेश सांसदको मतभार ४८ हुने व्यवस्था छ। निर्वाचनमा १३५ स्थानीय तहका प्रमुख–उपप्रमुख र ९२ सांसद मतदाता छन्। 

भोजपुरको हतुवागढीको उपप्रमुख चन्द्रमा राई र खुम्वुपासाङ ल्हमुका प्रमुख ङिम दोर्जी शेर्पाको निधनका कारण पद रिक्त छ। दुवै एमालेबाट निर्वाचित भएका थिए। माओवादी प्रदेश सांसद टंक आङबुहाङ एमालेमा प्रवेश गरेका कारण उनको पद गुमेको छ।

प्रदेश १ मा तीन सिटका लागि निर्वाचन हुँदैछ। अन्य, महिला र अपाङ्गता/अल्पसंख्यक गरी ३ सिटका लागि ८ जनाले उम्मेदवारी दिएका छन्। गठबन्धनका तर्फबाट अन्य समूहमा नेपाली कांग्रेसका गोपालकुमार बस्नेत, महिलामा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपाङ्गता/अल्पसंख्यकमा जनता समाजवादी पार्टीका हेमराज राईले उम्मेदवारी दिएका छन्। 

नेकपा एमालेले अन्यमा गुरु बराल, महिलामा सुमित्रा सुवेदी भण्डारी र अपाङ्गता/अल्पसंख्यकमा सोनाम गेल्जेन शेर्पालाई अघि सारेको छ। राप्रपाबाट अन्यमा अम्बरबहादुर विष्ट र महिलामा रञ्जु प्याकुरेलले उम्मेदवारी दिएकी छन्। 

प्रदेश १ मा एमालेको मतभार गठबन्धनका दलको भन्दा थोरैले कम छ। कार्यकाल सकिन लागेका अगमसिंह बान्तवा, पर्शुराम मेघी गुरुङ र नैनकला ओझा तीनै जना भएकाले फेरि पनि आफ्नै पक्षमा ती सिट फर्काउन एमालेको प्रयास अन्तिमसम्म हुनेछ। 

प्रदेश १ मा स्थानीय तह र प्रदेश गरी ९ हजार ३१२ मतभार छ। जसमा नेकपा एमालेको ४ हजार ५२४ रहेको छ। उसको स्थानीयतहमा २ हजार ५५६ र प्रदेशमा १ हजार ९६८ मतभार रहेको छ। पाँच दलीय गठबन्धनको मतभार ४ हजार ६६८ रहेको छ। गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन्। 

कांग्रेसको स्थानीय तहमा १ हजार ७२८ र प्रदेशमा १ हजार ८ मतभार छ। माओवादी केन्द्रको स्थानीय तहमा २८८, प्रदेशमा ७२०, एकीकृत समाजवादीको स्थानीय तहमा १८० र प्रदेशमा ४८०, जनता समाजवादीको स्थानीय तहमा ७२ र प्रदेशमा १४४, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रदेशमा ४८ मतभार छ। उसको स्थानीय तहमा प्रमुख–उपप्रमुख छैन। राप्रपाको १२० मतभार रहेको छ। राप्रपाको स्थानीयमा ७२ र प्रदेशमा ४८ मतभार छ।  

सत्ता गठबन्धन र एमालेको मतभारको अन्तर १४४ मात्र छ। मतदानमा एमाले र राप्रपाबीच सहकार्य हुँदा पनि एमालेलाई २४ मत कम हुन्छ। तर, एमाले प्रदेश सांसद गुलेफुन मियाँ सरकारी कागज कीर्ते मुद्दामा फरार रहेकाले एमालेको ४८ मतभार घट्ने देखिएको छ। राप्रपासँग गठबन्धन भए पनि एक सांसद मतदानमा सहभागी नहुँदा एमालेलाई ७२ मत अपुग हुन्छ। 

सत्ता गठबन्धन र एमालेका मतदाताहरुले मतक्रस गर्ने जोखिम पनि उतिकै छ। एमालेका केही मतदाताहरुले गठबन्धनका उम्मेदवारलाई मत दिने करिब पक्कापक्कि देखिएको स्रोतको दावी छ। गठबन्धनका पनि मतदाताहरुले एमालेका उम्मेदवारलाई मत दिने वचन  एमालेको दाबी छ। मत क्रसको सम्भावना भएकाले दुवै पक्ष निर्वाचन जित्नेमा ढुक्क छैनन्। 


प्रकाशित: Jan 21, 2022| 20:13 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...