एमाले-लोसपाबीच गठबन्धन
राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन हुने भएको छ।
शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरेर दुबै दलका नेताहरुले गठबन्धनको सहमति भएको जानकारी दिएका हुन्। दुई दलबीच मधेस प्रदेशको अन्य तर्फ एमाले उम्मेदवार उसमान अन्सारी र महिलातर्फ एमालेकी रुपाकुमारी यादवलाई समर्थन गर्ने सहमति भएको छ।
१९ राष्ट्रियसभा सदस्य चयनका लागि १२ माघमा निर्वाचन हुँदैछ, जसमध्ये मधेश प्रदेशबाट महिला र अन्य समूहतर्फ सदस्य चयन हुनेछन्। मधेस प्रदेशमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादीका महमद खालिदले उम्मेदवारी दिएका छन्।
सिटामोलको अभाव
औषधि व्यवस्था विभागले औषधि उत्पादकहरुसँग सिटामोलको विवरण माग गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको व्यवस्थापनका लागि गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिएका थिए। उनको निर्देशनपछि औषधिको विवरण माग गरिएको हो।
बिहीबार औषधि व्यवस्था विभागले सूचना जारी गर्दै पारासिटामोलको कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल र तयारी अवस्थाको सिटामोलको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको छ। विभिन्न २५ वटा औषधि उत्पादक कम्पनीसँग सरकारले विवरण माग गरेको हो।
तयारी नपुगेपछि सत्ता गठबन्धनको बैठक स्थगित
पाँच दलीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो।
स्थानीय तहको निर्वाचन लगायतका एजेन्डामा छलफल गर्न बैठक तय भएको थियो। सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन पहिले गर्ने कि संसदीय निर्वाचन गर्ने भन्ने विषयमा मदभेद देखिँदै आएको छ।
बुधबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाखमा संसदीय चुनाव गर्ने र मंसिरमा स्थानीय निर्वाचन गर्नुपर्ने धारणा राखेका थिए। तर, संवैधानिक व्यवस्थाका कारण स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने निर्वाचन आयोगले बताउँदै आएको छ।
मन्त्री र जनमत पार्टीबीच मनमुटाव
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले आपत्ति जनाएको छ। जनमत पार्टीका महासचिव चन्दन सिंहले राज्यका मन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति सुन्दा आश्चर्यमा परेको बताए।
राज्यले यादव जस्ता व्यक्तिलाई कसरी मन्त्री बनाएको भन्दै हामी उनले आश्चर्य प्रकट गरे। जनता समाजवादी पार्टीकी नेता समेत रहेकी मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी थिइन्।
बलिदानी दिवस मनाउन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेपछि यस्तो अभिव्यतिm दिएकी थिइन्।
वरिष्ठ मानव अधिकारकर्मी चरण प्रसाईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादव पदमा एकछिन पनि बस्न योग्य नरहेको प्रतिक्रिया दिए।
ऐतिहासिक संक्रमण
पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा १० हजार ५२ जनामा संक्रमण भएको पाइएको हो।
यस्तै ६ हजार ४९० नमुनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
बिहीबार एकैदिन २ लाख ३४ हजारभन्दा बढीले खोप लगाएका छन्।
त्रिविका परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ। परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो।
शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार भोलि शुक्रबार र पर्सि शनिबारका प्रवेश परीक्षा भने सञ्चालन हुने बताएका छन्।
शुक्रबार बीएस्सी र शनिबार बीबीए र बीसीए कार्यक्रमको प्रवेश परीक्षा हुनेछ।
बार आन्दोलन स्वरुप फेरियो
कोरोनाको जोखिम बढेको भन्दै नेपाल बार एसोसियसनले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनको स्वरूप भर्चुअल रूपमा गर्ने निर्णय गरेको छ।
आन्दोलनमा सहभागी करिब ३ दर्जन कानून व्यवसायीहरूमा समेत संक्रमण भएको, सरकार र स्थानीय प्रशासनले भेला, जुलुस, धर्ना नगर्न सूचना जारी गरेको, सर्वोच्च अदालत तथा अन्य अदालतहरूले पनि संक्रमण नियन्त्रणका लागि अदालतबाट पनि सेवा प्रवाहमा संकुचन ल्याउने निर्णय गरेकाले आन्दोलन, धर्नालाई विहीबारदेखि माघ १८ सम्मलाई स्थगित गरिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिएका कारण न्यायपालिका सुधारका समग्र कार्यक्रम रोकिन पुगेको भन्दै बारले महाअभियोगका लागि राजनीतिक दल र संसदको ध्यानाकर्षण गराइएकोमा सार्थक पहल नभएको गुनासो समेत गरेको छ।
काठमाडौं मेयरको गुनासो
कोभिड–१९ को तेस्रो लहरको रोकथाम तथा न्यूनिकरणका लागि सरकारले स्थानिय तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिकाले आरोप लगाएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा न्यूनिकरणका लागि सरकार तथा जिल्ला प्रशासनले कुनै प्रकारको समन्वय नगरेको बताएका हुन। सरकारी निर्णय कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्थानिय तहको भएपनि सरकारले पछिल्लो समय कोभिड–१९ को सन्दर्भमा गरेका कुनै पनि निर्णयमा महानगरको सल्लाह तथा सुझाव नलिएको उनको गुनासो छ।
उहाँले कोभिड–१९ विरुद्धको खोप दिन ढिलाइ भइरहेको भन्दै महानगरपालिकालाई खोपको जिम्मेवारी दिए सहज रुपमा सबैलाई खोप दिन सक्ने पनि बताए। प्रमुख शाक्यले काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण बढ्ने भएकाले उपत्यका भित्र, बाहिर हुने आवत्जावत्मा गृह प्रशासनले कडाइ गर्नुपर्ने पनि बताएका छन्।
उहाँले जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नेमा जोड दिएको बताएका छन्।
नेप्सेमा दोहोरो अंकको वृद्धि
साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। बुधबार दोहोरो अंकले घटेको बजार बिहीबार ३२.९६ अंकले बढेर २९ सय ३१.२६ को बिन्दुमा पुगेको हो।
बढेको बजारमा पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने २५ करोडले घटेको छ। आज २२९ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो। बुधबार ६ अर्ब २ करोडको शेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम ५ अर्ब ७७ करोड ३१ लाख मात्रै छ।
बिहीबार कारोबारमा आएका १३ उपसमूह मध्ये बैकिङ र म्युचलफण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ। आज आईएमई जनरल इनस्योरेन्स कम्पनी बजारमा धेरै खरिद बिक्री हुने सेयरमा हरियो भएको छ।
भारतमा बढेको बढ्यै संक्रमित
भारतमा एकै दिन तीन लाख भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। रोल...
भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार बुधबार एकै दिन तीन लाख १७ हजार ५३२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४९१ जनाको ज्यान गएको छ। हाल भारतमा सक्रिय संक्रमितको संख्या १९ लाख २४ हजार ५१ रहेको छ। दैनिक संक्रमणदर हाल १६.४१ प्रतिशत रहेको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या भारतमा ९ हजार २८७ पुगेको छ। अघिल्लो दिनको तुलनामा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३.६३ प्रतिशत वृद्धि भएको हो।
आहा रारामा एपीएफको जित
पोखरामा आजबाट सुरु भएको आहा रारा गोल्डकप फुटबलको पहिलो खेलमा विभागीय टिम एपीएफले जित निकालेको छ। पोखरा रंगशालामा भर्खरै सम्पन्न खेलमा एपीएफ क्लबले आयोजक सहारा क्लबमाथि २–० गोलको जित निकालेको हो।
एपीएफको जितमा आवास लामिछाने र प्रदिप लामाले गोल गरे। खेलको पहिलो हाफमा गोल गर्दै आवासले अग्रता बनाएका थिए। दोस्रो हाफमा लामाले नै अर्को गोल थपे। जितसँगै सहारा प्रतियोगिताबाट बाहिरिएको छ भने एपीएफ अर्को चरणमा प्रवेश गरेको छ।
अर्को खेलमा एपीएफले अमेरिकाको बीएसवाईसी क्लबसँग खेल्नेछ। सो खेल माघ ८ गते हुनेछ।
आहा रारामा भोलि हिमालयन शेर्पाले नेपाल पुलिसको सामना गर्नेछ। सबैभन्दा धेरै यो प्रतियोगिता जित्ने टिम पनि पुलिस नै हो।