आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धन बनेपनि सत्ता गठबन्धन मजबुत स्थितिमा

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धन बनेपनि सत्ता गठबन्धन मजबुत स्थितिमा

मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन्।
 |  बिहीबार, माघ ६, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, माघ ६, २०७८

जनकपुरधाम– मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन्। एमाले र लोसपाले संयुक्त रुपमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी गराइएको छ।

triton college

यी दुई दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ। लोसपाको तर्फबाट अन्य समूहबाट उम्मेदवारी दिन पुगेका श्यामकुमार सरदार उम्मेदवारी दिन सकेका थिएनन्। अब राष्ट्रियसभाका लागि लोसपाको तर्फबाट महिला कोटामा रुपाकुमारी यादवको उम्मेदवारी रहने जानकारी लोसपाको मधेश प्रदेशका सचेतक परमेश्वर साहले जानकारी दिए।

त्यस्तै एमालेबाट अन्य समूहका उस्मान अन्सारीको उम्मेदवारी रहने एमाले सचिव रघुवीर महासेठले बताए। यी दुई दलले राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरे पनि मधेश प्रदेशमा सत्ता गठबन्धन नै मजबुत स्थितिमा देखिएको छ। मधेश प्रदेशमा प्रदेशसभा सदस्य, स्थानीय पालिकाका जनप्रतिनिधिहरु सत्ता गठबन्धनका बढी रहेकाले सत्ता गठबन्धन एमाले र लोसपाबीचको गठबन्धनपछि पनि मजबुत स्थितिमा देखिएको हो।   

मधेश प्रदेशमा कुल ९ हजार ८ सय १६ मतभार छ। मधेश प्रदेशमा सबैभन्दा बढी जसपाको २ हजार ९ सय ८८, नेपाली कांग्रेसको २ हजार ३ सय ७०, लोसपाको १ हजार ५ सय ६०, माओवादी केन्द्रको १ हजार १ सय ९४, एमालेको ९ सय ४२ र नेकपा एकीकृत समाजवादीको ७ सय ५० मतभार रहेको छ। मधेश प्रदेशमा गठबन्धनको मतभार ७ हजार ३ सय २ रहेको छ । एमाले–लोसपाको मिलाएर कुल मतभार २ हजार ५ सय २ मात्रै रहेको छ।

मधेश प्रदेशमा कुल २ सय ६८ मतदाता रहेका छन्। जसमा सबैभन्दा बढी कांग्रेसको ७९ मतदाता रहेका छन्। जसपाको ६४, माओवादी केन्द्रको ४५, लोसपाको ४२, एमालेको २९ र नेकपा एसको ७ मतदाता रहेको छ।

corrent noodles
Metro Mart

अब मधेश प्रदेशमा २ सिटका लागि ४ जनाको उम्मेदवारी मात्रै रहने भएको छ। सत्ता गठबन्धनबाट अन्य समूहमा जसपाका खालिद सिद्धिकी र महिला कोटाबाट माओवादी केन्द्रकी उर्मिला अर्याल उम्मेदवार रहेका छन्। त्यस्तै एमाले–लोसपा गठबन्धबनबाट महिला कोटामा लोसपाकी रुपाकुमारी यादव र अन्य समूहबाट एमालेका उस्मान अन्सारी रहेका छन्।  

कुन उम्मेदवार कस्ता?

खालिद सिद्धिकी 

मोहम्मद खालिद सिद्धिकी जनता समाजवादी पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार रहेका छन्। उनी सिरहा नगरपालिका–५ रमौलका हुन्। जसपाका केन्द्रीय सदस्य रहेका सिद्धिकी मुस्लिम समुदायको हकहितका लागि काम गर्ने संस्था जमियत उलमाय नेपालका अध्यक्ष पनि हुन्। २०५९ देखि तत्कालीन मधेसी जनअधिकार फोरममा लागेका सिद्धिकीले जसपाका अध्यक्ष उपेन्द्र यादवका लागि निरन्तर काम गरिरहे। २०६४ सालमा भएको तत्कालिन फोरम नेपालको पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। त्यो समयदेखि अहिलेसम्म केन्द्रीय सदस्यमै छन्। हरेक चुनावमा उनलाई समानुपातिकतर्फबाट उम्मेदवार बनाउने गरिन्छ तर उनी कहिल्यै सांसद भने बन्न सकेनन्। 

सत्तारुढ गठबन्धनको मजबुत पकड रहेको अवस्थामा उनलाई यसपटक राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाइएको छ। सिद्धिकीले नेपाली कांग्रेसबाट राजनीति शुरु गरेका थिए। कांग्रेसको केन्द्रीय अर्थ समिति सदस्य समेत भइसकेका उनी २०५९ सालमा मधेस केन्द्रित राजनीति शुरु गरेका थिए। ५२ वर्षीय सिद्धिकीले इस्लामिक ल मा स्नातकोत्तर गरेका छन्।

उर्मिला अर्याल 

सत्ता गठबन्धनको अर्का उम्मेदवार हुन् माओवादी केन्द्रकी उर्मिला अर्याल। पर्साको वीरगन्ज महानगरपालिका मसियानीकी अर्याल २०७० जेठ ४ मा एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। २०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जकी स्ववियु अध्यक्षसमेत रहिसकेकी उनी २०५६ सालमा पर्सा क्षेत्र नम्बर ४ बाट चुनाव जितेकी थिइन्। त्यसअघि त्यहीबाट उनी पटकपटक चुनाव हारेकी थिइन्। हाल माओवादी केन्द्रको सदस्य रहेकी उनको राजनीतिक यात्रा नेकपा मसालबाट सुरु भएको थियो। २०७४ को प्रतिनिधिसभामा माओवादी केन्द्रको तर्फबाट चुनाव लडेकी उनी तत्कालीन राजपाका नेता लक्ष्मणलाल कर्णसँग पराजित भएकी थिइन्। २०६८ सालमा स्थानीय विकास मन्त्री भएकी उनी अन्तरिम सरकारको बेला २०६३ सालमा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री समेत भएकी थिइन्।

रुपाकुमारी यादव 

एमाले–लोसपा गठबन्धनबाट महिला कोटाको उम्मेदवार हुन लोकतान्त्रिक समाजवादी पार्टीकी रुपाकुमारी यादव। महोत्तरीको भंगहा नगरपालिकाकी रुपाको राजनीति कांग्रेसबाट सुरु भएको थियो। अरुणकुमार यादवसँग उनको बिहे भएपछि उनी झन् राजनीतिमा सक्रिय भइन्। उनका श्रीमान् अरुणकुमार यादव कांग्रेसका नेता थिए। २०६५ सालको संविधानसभा चुनावमा कांग्रेसले रुपा यादवको नाम समानुपातिक सदस्यमा राखेको थियो। तर उनी सभासद भने बन्न पाइनन्। पहिलो संविधानसभा चुनावमै तमलोपाबाट चुनाव लड्न रुपालाई आग्रह गरिएको थियो तर उनले सक्रिय राजनीति नगर्ने भन्दै सो आग्रह अस्वीकार गरेकी थिइन्। चुनावपछि उनका श्रीमान् अरुणकुमार यादव तमलोपामा लागिसकेका थिए। तर पार्टीकै कामका लागि काठमाडौंबाट घर फर्किने बेला दुर्घटनामा परेर अरुणको निधन भएको थियो। 

पतिको निधनपछि पार्टीले रुपालाई सक्रिय बनाएको थियो। उनलाई पार्टीको केन्द्रीय सदस्य बनाएर दोस्रो संविधानसभामा महोत्तरी क्षेत्र नम्बर २ बाट चुनाव लडाएको थियो। तर उनी पराजित भइन्। उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेकी थिइन्, तर फेरि पनि उनी पराजित नै भइन्। अहिले पार्टीले उनलाई राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाएको छ। रुपा लोसपाको केन्द्रिय सदस्य हुन्।

उस्मान अन्सारी 

एमाले–लोसपा गठबन्धनको अन्य समूहका उम्मेदवार हुन् एमालेका उस्मान अन्सारी। पर्सा वीरगञ्जका ६१ वर्षीय अन्सारी २०४६ सालदेखि नै एमालेमा सक्रिय छन्। अहिले उनी पार्टीको मधेश प्रदेश कमिटी सदस्य हुन्। २०४९ गाउँ इलाका कमिटी सचिव भएका उनी २०५१ मा पार्टीको जिल्ला सदस्य भएका थिए। २०५५ मा जिल्ला पार्टी कमिटी सचिवालय सदस्य हुँदै पार्टीको वीरगञ्ज महानगरपालिका अध्यक्ष भएका उस्मानले राजनीतिलाई सेवाको रुपमा लिएको बताएका छन्। उनको पेसा सिलाइकटाइ हो। उनी वीरगञ्जमा टेलर खोलेर बसेका छन्। 

प्रकाशित: Jan 20, 2022| 16:37 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।