कोरोनाको नयाँ रेकर्ड
नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर परीषण गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन परीषण गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ। हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन्।
यस्तै सरकारले कोरोना भाइरसको संक्रमण परीक्षण पीसीआर शुल्क घटाएको छ।सरकारले अब सरकारी अस्पतालमा आठ सय र निजी अस्पतालमा १२ रुपैयाँसम्म कायम गरेको थियो।
एमालेको माग
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दवाव दिए। उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी समेत गरेका छन्।
नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्र लागिपरेको आरोप समेत लगाए। उनले निर्वाचन आयोगले भोलि (बिहीवार) सम्म स्थानीय तहको निर्वाचनको मिति नतोके सरकारविरुद्ध सडकमा जनता परिचालन गरेर निर्वाचनको मिति तोक्न बाध्य बनाउने चेतावनी दिए।
६३ जिल्लामा एमालेको नयाँ नेतृत्व
नेकपा एमालेले ६३ जिल्लामा नयाँ नेतृत्व पाएको छ। जारी जिल्ला अधिवेशनबाट ६३ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ।
गत २३ पुसमा एकैसाथ अधिवेशन उद्घाटन भएका जिल्लामध्ये ६३ जिल्ला नेतृत्व चयन भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
अधिवेशन उद्घाटन भए पनि आन्तरिक विवादका कारण पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा नेतृत्व चयन हुन सकेको छैन। यस्तै, मौसम र आन्तरिक विवादका कारण धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम (पूर्व), रोल्पा, हुम्ला र बझाङमा पनि अधिवेशन हुन नसकेको केन्द्रीय कार्यालयले जनाएको छ। ६ वटा प्रदेशमा सम्पर्क कमिटीमा पनि नेतृत्व चयन भएको छ।
प्राधिकरणका कर्मचारीको चेतावनी
नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत ५ कर्मचारी संगठनले कुनै व्यक्तिको अभीष्ट पूरा गर्ने तानाबानामा आफूहरु मूकदर्शक नबन्ने र परिआएको खण्डमा जस्तोसुकै कदम उठाउन पनि पछि नपर्ने चेतावनी दिएका छन्।
बुधबार नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी युनियन, कर्मचारी संगठन, मत कर्मचारी युनियन र लोकतान्त्रिक कर्मचारी संघले संयुक्त विज्ञप्ति जारी गर्दै यसो चेतावनी दिएका हुन्। प्राधिकरणका निवर्तमान महानिर्देशक राजेन्द्रकुमार क्षेत्रीले ५८ वर्षको उमेरहदका कारण पुस २५ गते अनिवार्य अवकाश पाएका थिए। यसपछि सरकारले निमित्त महानिर्देशकको जिम्मेवारी प्राधिकरणकै तत्कालीन उपमहानिर्देशक प्रेमनाथ ठाकुरलाई दिएको थियो।
तर निवर्तमान महानिर्देशक क्षेत्रीले आफूलाई कानुन बमोजिम सरकारले चार वर्षका लागि प्राधिकरणको महानिर्देशक बनाएको दाबी गर्दै उमेर हद पूरा भएपनि आफूले नै महानिर्देशकमा निरन्तरता पाउनुपर्ने मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसपछि कर्मचारीहरूले क्षेत्रीतर्फ लक्षित गर्दै प्राधिकरण कसैको व्यक्तिगत अभीष्ट पूरा गर्ने स्थल बन्न नसक्ने र त्यस्तो गरिए आफूहरू आन्दोलन जाने चेतावनी दिएका हुन्। सरकारले गत कात्तिक ८ गते प्राधिकरणको महानिर्देशकको जिम्मेवारी क्षेत्रीलाई दिएको थियो।
कर्मचारीहरूले विद्यमान कानुनको प्रतिकूल हुने गरी कसैको नियोजित षड्यन्त्रको प्रभावमा नपरी निर्णय गर्न समेत सांकेतिक रूपमा सर्वोच्च अदालतको समेत ध्यानाकर्षण गराएका छन्।
खोप लगाउन प्रेरित गर्न सरकारी कार्यालयमा खोप कार्ड अनिवार्य
कोभिड–१९ विरुद्धको खोप लगाउन उत्प्रेरित गर्नका लागि माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ। रोल ...
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खोप प्राप्त गरिसकेका व्यक्तिको अभिलेख राख्न र नलगाएकालाई अभिप्रेरित गर्न सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएको बताएका हुन्।
कोभिड – १९ महामारी नियन्त्रणका लागि सार्वजनिक स्थलमा खोप कार्डको अनिवार्यताले महत्वपूर्ण भुमिका खेल्ने उनकोे भनाइ छ। सरकारले गरेको निर्णय र जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको पालना नगरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने पनि उनको भनाइ छ।
उनले भीडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि सबैलाई आग्रह गरेका थिए। अत्यावश्यक काममा जानु परेमा जनस्वास्थ्यको मापदण्डलाई पूर्ण रुपमा पालना गर्न उनले आग्रह गरे।
इजरायल जाँदै ९९ नेपाली कामदार
इजरालयसँग श्रम सम्झौतापछि पहिलोपटक ९९ नेपाली कामदार इजरायलका लागि प्रस्थान गर्ने अन्तिम तयारीमा पुगेका छन्।
बुधबार राति ११ बजे उनीहरू इजरायलका लागि उड्ने वैदेशिक रोजगार विभागले जानकारी दिएको हो। ६३ महिला र ३६ पुरुष गरी ९९ जना कामदार इजरायल जान लागेका विभागका निर्देशक कृष्णप्रसाद भूसालले जानकारी दिए। पछिल्लो श्रम सम्झौतापछि इजरायल जाने कामदारका लागि यो पहिलो उडान हो। त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ मा पनि दुई उडानमार्फत् नेपाली कामदार इजरायल जाने बताएका छन्।
दोस्रो चरणमा एक सय ६२ जना नेपाली श्रमिक इजरायलका लागि उड्नेछन्। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो। श्रम सम्झौतापछि विभागले प्रक्रिया सुरु गरेको २५औँ हप्तामा नेपाली कामदार इजरायल जान लागेका हुन्। इजरायलका रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा अहिलेसम्म ९ सय ९४ जना कामदारसँग सम्झौता भइसकेको छ।
घट्यो नेप्से
शेयर बजार मापक नेप्से परिसूचकमा बुधबार गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८ सय ९८.३१ विन्दुमा झरेको छ।
कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबार कारोबार रकम पनि घटेको छ। मंगलबार ८ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ।
बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ। जसमा व्यापार उपसमूह, फाइनान्स उपसमूह, विकास बैंक उपसमूहको सूचक भारी अंकले गिरावट आएको छ।
आज कारोबारमा आएको बुद्धभूमि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ। सामलिङ्ग पावरको ९.९६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशत र सेञ्चुरी बैंकको २.७९ प्रतिशतले बढेको छ। त्यस्तै, यता घलेम्दी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ४.३४ प्रतिशतले घटेको छ। कालिका लघुवित्तको ४.२३ प्रतिशत, मध्य भोटेकोशी हाइड्रोपावरको ३.८३ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३.६७ प्रतिशतले घटेको छ।
प्रधानमन्त्री कपको उपाधि एपीएफलाई
पहिलो संस्करणको प्रधानमन्त्री कपको पुरुष राष्ट्रिय टी–२० क्रिकेटको उपाधि एपीएफले जितेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार सम्पन्न खेलमा विभागीय टिम एपीएफले अर्को विभागीय टिम पुलिसलाई २१ रनले हराएर उपाधि जितेको हो। बुधबारको खेलमा दुवै टिमले राम्रो सुरुआत गर्न सकेनन्। एपीएफको टप अर्डर ब्याटिङमा पनि लोकेश बमबाहेक अन्य खेलाडी राम्रोसँग चल्न सकेनन्। एपीएफका लोकेशले २७ रन बनाएका थिए। अघिल्लो दिनको सेमिफाइनल खेलमा १५० रनको साझेदारी गरेका प्रदिप ऐरी र आशिफ शेखले बुधबार १२ रनको मात्र साझेदारी गर्न सके।
जहाँ दोस्रो ओभरको दोस्रो बलमै गुल्सनल झाको बलबाट आशिफ आउट हुँदा उनले ९ रन मात्र जोड्न सके। तेस्रो नम्बरमै मैदान प्रवेश गरेका लोकेश बमले तीन छक्का र एक चौका प्रहार गरे। त्यस्तै, दीपक बोहराले ६ रन बनाउँदा सन्दीप जोराले २४ रनको योगदान दिए। पहिलो बलमै दीपेन्द्र सिंह ऐरीको बलबाट पुरन बिके आउट भएपछि कप्तान सरद भेषाकवकर ब्याटिङका लागि मैदान छिरेका थिए। खेलमा ४३ रनमा दुई विकेट गिरेको अवस्थाबाट धरमराएको एपीएफलाई कप्तान भेषावकरले केही लामो साझेदारीका लागि सहयोग गरे।
प्रतियोगिताका विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताए। मन्त्री शर्माले खेलाडीले मेहनत गरे अनुसार पूर्वाधार र खेलाडीको सेवा सुविधा नभएको स्वीकार गरे।
अर्थमन्त्री शर्माले पछिल्लो समय नेपालमा क्रिकेटमा आकर्षण बढ्दै गएको र आकर्षण अनुसार नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्टता प्रस्तुत गर्न सफल भएको बताएका थिए।