रात्रीकालीन व्यवसाय बन्द
सरकारले कोभिड संक्रमणको जोखिम बढिरहेको भन्दै माघ १५ गतेसम्म मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको बताए।
यीलगायत भीडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरेको छ। सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ। सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ। मास्क अनिवार्य गरिएको छ।
सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ। ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ। साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन्। तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन्।
लिम्पियाधुराबारे बल्ल बोल्यो सरकार
सकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भुमि रहेको प्रष्ट पारेका छन्। आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भुभाग रहेको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताएका हुन्।
नेपाली भुभागमा एक पक्षीय रुपमा सडक निर्माण तथा विस्तार कार्य रोक्न सकरारले भारालाई आग्रह गर्दै आएको समेत उनले उल्लेख गरे। प्रवक्ता कार्कीले दुई देश बिचको सिमा समस्यालाई ऐतिहासिक सन्धि, सम्झौता, तथ्य तथा नक्सा र प्रमाणको आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।
नेपाल र भारतविच रहेको मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुसार सीमा समस्या हल हुनुपर्नेमा मन्त्री कार्कीको जोड थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत पुस १७ गते उत्तराखण्ड पुगेर लिपुलेक हुँदै मानसरोवर जाने सडकलाई फराकिलो पारिने उल्लेख गरेका थिए। त्यसबारे करिब तीन सातासम्म कुनै प्रतिक्रिया नदिएको नेपाल सरकारले आइतबार मात्र मुख खोलेको हो। मोदीको उक्त भनाइलाई लिएर नेकपा एमाले, नेकपा एकीकृत समाजवादी लगायत दलले आपत्ति जनाइसकेका छन्। त्यसैगरी प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पनि भारतीय प्रधानमन्त्री मोदीको ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।
नागरिकलाई कोरोनबाट जोगाउन सरकारले सक्दो सहयोग गरिरहेको छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन्।
२४ औँ भूकम्प सुरक्षा दिवस २०७८ को अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागिरहेको बताए।
उनले कोरोनाबाट बचाउन सरकारसहित विभिन्न निकायहरुले संक्रमणको रोकथाम र व्यवस्थापन गरिरहेको बताएका छन्। मन्त्री खाँणले भौतिक पूर्वाधार निर्माणको प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न सके मात्रै विगतमा भएका ठूला नोक्शानीलाई कम गर्न सकिने बताएका हुन्।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संघीय सरकार र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा भूकम्पले क्षति बनाएको केही भौतिक संरचना अझै बन्न नसकेको बताए। उनले महानगरले आफूसँग पर्याप्त बजेट भएको र संरचना बनाउँछु भन्दा पनि सरकारले स्वामित्व हस्तान्तरण गर्न आनाकानी गरिरहेको गुनासो गरे। मेयर शाक्यले टेको लगाएर राखिएका भवनहरु वर्षा हुँदा समेत भत्किने खतरा रहेको भन्दै भवन बनाउने अनुमति दिन सरकारसँग आग्रह गरेका छन्।
मेयर शाक्यले विभिन्न आगजनीका घटनाबाट हुने मानवीय र भौतिक क्षतिलाई कम गर्न महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा दमकल सेन्टर सञ्चालन गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारसँग नेपाल सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए।
पशुपतिमा पनि बतासले अनुमति नलिएको संस्कृतिमन्त्रीको दाबी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशालामा अनुमति नलिइकनै काम गरेको पाइएको बताएका छन्। आईतबार बतास समूहले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको अनुगमनपछि मन्त्री ओलेले यस्तो बताएका हुन्।
पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र छानबिन समितिका सदस्यहरुसहित अनुगमनमा पुगेका मन्त्री आलेले धर्मशालाका कतिपय कोठाहरु निजीलाई दिइएको र कतिपय कामहरु पशुपति क्षेत्र विकास कोषसँग अनुमति नलिइकनै गरिएको पाइएको बताए। उनले टेण्डर निकाल्ने बेला पनि पशुपति क्षेत्र विकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन नगरेको पाइएको बताएका छन्।
पर्यटनमन्त्री आलेले भोलि (सोमबार) छानबिन समितिले प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनको आधारमा अघि बढ्ने बताए। यसअघि बतास समूहले नारायणहिटी दरबार परिसरमा पनि अनुमति नै नलिई जग्गा कब्जा गरी रेस्टुरेन्टका संरचना विस्तार गरिएको पाइएपछि त्यहाँका संरचना भत्काइएका छन्।
सदन प्रभावित
राष्ट्रिय सभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठक पुनः स्थगित भएको छ।
सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गर्दै विशेष कारणले पूर्व निर्धारित दिन र समयमा बैठक बस्न नसक्ने भएकाले सारिएको जानकारी दिएका हुन्। यसअघि पुस २७ गते बस्ने भनिएको बैठक स्थगित भएपछि माघ ३ गते तय भएको थियो। राष्ट्रिय सभा बैठकको अर्को मिति भने तोकिएको छैन।
उता प्रतिनिधिसभाको बैठक माघ १६ गतेलाई सारिएको छ। सोमबारका लागि डाकिएको बैठक १६ गते आइतबार दिउँसो १ बजेसम्मका लागि सारिएको हो। सभामुख अग्निप्रसाद सापकोटाले पूर्वनिर्धारित बैठक कोरोना सङ्क्रमणको जोखिमका कारण उक्त मितिमा बस्नेगरी समय परिवर्तन गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।
बढ्यो कोरोना
नेपालमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएको छ। आइतबार एकै दिन ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। शनिबारको तुलानामा आइतबार ३ सय २५ संक्रमित बढेका छन्। शुक्रबार भने ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन्।
बालाङ्घाटको पुलले खुम्बुमा बढायो पर्यटक
सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटक वृद्धि भएको छ। सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरुले बताएका छन्।
सगरमाथा खुम्बु जोड्ने ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामाग्रीको ढुवानीदेखि धुम्न आउने पर्यटकको लागि राम्रो भएको स्थानीयहरुको भनाई छ। सोलुखुम्बु जिल्ला प्रदेश नम्बर एकको ख तर्फका प्रदेश सांसद बद्रीकुमार राजभण्डारीले पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै खुम्बु क्षेत्रका स्थानीयले उपभोग गर्ने वस्तुको मूल्यमा कमि आएको बताए।
सांसद भण्डारीले मोटरेबल पुल बनेपछि खुम्बुमा एक सिलिण्डर खाना पकाउने ग्याँसको मूल्य २३ सयबाट घटेर १९ सयमा आएको बताउका हुन। मोटरेबल पुल निर्माण भएसँगै खुम्बु क्षेत्रका स्थानीय जनताले दैनिक उपभोग्य वस्तुदेखि लिएर लत्ता कपडा समेत सस्तो भएको भन्दै हवाई उडान प्रभावित भएर लुक्ला विमान स्थलमा भिड गरेर बस्नु पर्ने पर्यटकको बाध्यताको अन्त्य भएका उनकोे भनाई छ।
त्यस्तै खुम्बु गाउँपालिकाका स्थानीय बासिन्दाहरुले पनि पुल निर्माण भएर मोटरबाटो सञ्चालनमा आएकोमा खुसी छन्। खुम्बुका स्थानीय गौरव राईले पुल निर्माणले खुम्बुका स्थानीयबासीलाई मात्रै नभएर विश्वबाट सगरमाथा आउने पर्यटकको लागि राम्रो भएको बताएका हुन।
खुम्बुमा सडक सञ्चालन नहुँदा यस क्षेत्रको अवस्था एकदमै कठिन रहेको तर पुल निर्माण भएर सञ्चालनमा आएसँगै खुम्बुमा उत्पादन भएका कृषिजन्य वस्तु अन्य स्थानमा लगेर बेच्न सक्ने अवस्था आएको स्थानीयबासीन्दाहरुको भनाई छ।
४ महिनायताकै उच्च बिन्दुमा सेयरबजार
शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आज आइतबारको कारोबार बढेर ४ महिनायताकै उच्च विन्दुमा पुगेको। आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ।
पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बजारले गति लिँदा लगानीकर्ता उत्साहित देखिएका छन्। त्यस्तै आज ठूला कम्पनीको मूल्यमापक सेन्सेटिभ इण्डेक्स ११.८१ अंक, फ्लोट इण्डेक्स ४.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९९ अंक बढेको छ।
आज आइतबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबार रकम समेत उल्लेख्य सुधार भएको छ। पछिल्लो समय दैनिक ५ देखि ७ अर्बको बीचमा कारोबार हुँदै आएको थियो
आज आइतबार १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी ५.६२ प्रतिशत बढेको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ्ग, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र होटल तथा पर्यटन, लघुवित्त, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
भारतमा कोरोना संक्रमण बढेको बढ्यै
भारतमा कोरोना संक्रमण अझै पनि तिब्र रूपमा फैलिइरहेको छ। पछिल्लो २४ घन्टामा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, पछिल्लो २४ घन्टामा ४ सय जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७ सय ५२ नाघेको छ।
जसमा ओमिक्रोन संक्रमितको संख्या पनि दिनपरदिन बढ्दै गएको छ। २४ घन्टामा भारतमा ओमिक्रोन संक्रमित अघिल्लो दिनको तुलनामा ५ प्रतिशत बढेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा हालै सम्पन्न मकर संक्रान्तिको बेला लाखौं हिन्दू भक्तजनहरुले गंगा नदीमा सामूहिक स्नान गरेका कारण थप संक्रमित हुने आशंका गरिएको छ।
मकर संक्रान्तिको बेला पश्चिम बंगालस्थित गंगामा भक्तजनको भीड नै लागेको थियो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म ६ हजार ४१ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। यो सँगै भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुणाले बढेको छ।
च्यासलका १९ खेलाडीमा कोरोना
खेलाडीमा कोरोना संक्रमण् भएपछि च्यासल युथ क्लब र नेपाल पुलिस क्लब (एनपीसी) बीचको सहिद स्मारक ‘ए’ डिभिजन खेल स्थगित भएको छ। च्यासल युथ क्लबका १९ खेलाडीमा संक्रमण देखिएपछि खेल स्थगित भएको छ।
आफ्ना १९ खेलाडीमा कोभिड पोजेटिभ देखिएपछि खेल स्थगित गर्न च्यासलले एन्फालाई अनुरोध गरेको थियो। मेडिकल कमिटीको सल्लाहमा एन्फाको लिग कमिटीले खेल स्थगित गर्ने निर्णय गरेको एन्फाले जनाएको छ।
खेलको नयाँ मिति छिट्टै तय हुने एन्फाले सूचनामा लेखेको छ। दशरथ रंगशालामा आइतबार दिउँसो ४ बजेर ४५ मिनेटमा च्यासल र पुलिस खेल्ने तालिका थियो। सोमबार न्युरोड टिम र जावलाखेल युथ क्लबबीचको खेल हुनेछ।