काठमाडौं– ब्राजिलका अट्याकिङ मिडफिल्डर फिलिप काउटिन्हो, जसको इंग्लिस फुटबलमा छुट्टै पहिचान थियो। लिभरपुलमा रहँदा उनी टोलीका उम्दा खेलाडी थिए। उनको जादूयी प्रदर्शनबाट एनफिल्ड मन्त्रमुग्ध हुन्थ्यो। समर्थकहरुले उनलाई उपनाम दिएका थिए– लिटिल म्याजिसियन।
तर, समय एकनास कहाँ हुन्छ र? सन् २०१८ पछि उनको शानदार खेल जीवन संघर्षपूर्ण बन्न पुग्यो। जब २०१८ को जनवरीमा उनी लिभरपुल छाडेर बार्सिलोना पुगे, त्यसपछि काउटिन्होको खेल जीवन उतारचढावले भरियो। कारण जे होस्, बार्सिलोनामा उनले आफूलाई प्रमाणित गर्न सकेनन्।
बार्सिलोनामा भोगेको असफलताले उनको गन्तव्य इंग्ल्यान्डतर्फ मोडिदिएको छ। र, चार वर्षपछि उनी इंग्लिस प्रिमियर लिगमा फर्किएका छन् तर, फरक क्लबमा। अब उनी खेल्ने प्रिमियर लिग क्लब हुनेछ– एस्टन भिल्ला। घरेलु मैदान एनफिल्ड हुने छैन, अब भिल्ला पार्क उनी खेल्ने घरेलु मैदान हुनेछ। लिभरपुलमा १० नम्बरको जर्सी उनीसँग हुने छैन। हुनेछ त एस्टन भिल्लाको जर्सी नम्बर २३।
बार्सिलोनाले उनलाई ६ महिने लोनमा इंग्ल्यान्ड फिर्ता पठाइदिएको छ। त्यसो त भिल्लाले अर्को सिजनमा उनलाई ३३ मिलियन पाउन्डमा किन्न सक्ने छ। विन्टर ट्रान्सफर विन्डोमा उनलाई पाँच क्लबले अनुबन्ध गर्न चासो देखाएका थिए। तर, काउटिन्होले भिल्ला नै रोजिदिए। कारण हो– उनका पूर्व टिममेट स्टेभेन जेरार्ड। जेरार्ड अहिले भिल्लाका मुख्य प्रशिक्षक छन्। सोही कारण काउटिन्होको मन अन्य क्लब छाडेर भिल्लातर्फ मोडिएको हो। नमोडियोस् पनि कसरी? जेरार्डसँग उनले २ वर्ष सँगै खेले। लिभरपुलमा टिममेट रहँदा जेरार्ड क्याप्टेनको भूमिकामा थिए। त्यसैले त उनी पूर्वटिममेटको प्रशिक्षणमा खेल्न लालायीत देखिएका छन्।
समय एकनास कहाँ हुन्छ र? सन् २०१८ पछि उनको शानदार खेल जीवन संघर्षपूर्ण बन्न पुग्यो। जब २०१८ को जनवरीमा उनी लिभरपुल छाडेर बार्सिलोना पुगे, त्यसपछि काउटिन्होको खेल जीवन उतारचढावले भरियो। कारण जे होस्, बार्सिलोनामा उनले आफूलाई प्रमाणित गर्न सकेनन्।
‘मेरो लागि एस्टन भिल्ला महान् क्लब हो। म यहाँ खेल्न पाउँदा धेरै खुसी छु। प्रशिक्षकसँग मैले धेरै कुरा गरेको छु,’ भिल्लामा अनुबन्ध भएपछि उनले भनेका छन्। र, उनले भिल्ला रोज्नुको कारण जेरार्ड नै भएको खुलाएका छन्। बार्सिलोनामा एकपटक ‘अल्छे खेलाडी’ को ट्याग लागेका उनले भिल्लाबाट सकेको जति मेहनत गर्ने प्रतिबद्धता जनाएका छन्।
बार्सिलोनामा अवसर नपाएका काउटिन्होलाई यो वर्षको अन्तिममा हुने विश्वकप खेल्न मन छ। त्यसैले पनि उनी धेरैभन्दा धेरै खेल्न चाहन्छन्। त्यसका लागि भिल्ला उपयुक्त क्लब हुने उनले ठानेका छन्। उनले जनवरी १५ मा म्याचेस्टरविरुद्धको खेलमा डेब्यू गर्ने सम्भावना छ।
बाल्यकालदेखिको फुटबल यात्रा
काउटिन्हो सन् १९९२ को जुनमा रियो दि जेनेरियोमा जन्मिए। एमेराल्दा काउटिन्हो र आर्किटेक्ट जोसे कार्लोसका उनी तेस्रो तथा कान्छो सन्तान हुन्। बाल्यकालमा उनी धेरै लजालु स्वभावका थिए। सोही कारण उनी एक्लै बस्न रुचाउँथे। त्यसबेला उनका दाइहरु फुटबलमा लागेका थिए। उनका दाइ क्रिस्टियानो र लियोनार्दोको खेलले उनलाई पनि फुटबलमा लाग्ने प्रेरित गर्यो।
दाइहरु त्यतिबेला स्थानीय क्षेत्रमा भएको ‘कङ्क्रिट’ पिचमा खेल्थे। फिलिप चाहिँ सानैबाट फुटसल खेल्न थालेका थिए। ‘त्यसले नै मलाई फुटबल शैली विकासमा सहयोग गर्यो,’ उनले बाल्यकाल सम्झँदै भनेका थिए।
सानो ठाउँबाट धेरै सिक्ने इच्छा देखाएका काउटिन्हो स्थानीय क्लबमा अनुबन्ध भएपछि उनको खेल कौशल पनि फस्टायो। उनी आफ्नो साथीको हजुरआमाको सहयोगमा फुटबल एकेडेमीमा अनुबन्ध भएका थिए।
त्यसपछि भेस्को डे गामाको छनोट खेल्दै उनले पूर्णकालिन खेलजीवन सुरु गरेका थिए। त्यहाँ उनले आफ्नो कौशल खुलेर देखाए। उमेर समूहमा उनी देशको प्रतिनिधित्व गर्न सक्ने भए। भास्कोमा हुँदै उनी यू–१५ राष्ट्रिय टिममा बोलाइएका थिए। त्यसैले १६ वर्षको उमेरमै उनले अन्तर्राष्ट्रिय स्तरमा प्रभाव बनाइसकेका थिए। इटालियन क्लब इन्टर मिलानले चार मिलियन युरो खर्च गर्ने भयो। तर १८ वर्षमुनिका खेलाडीलाई ट्रान्सफर गर्न नमिल्ने भएपछि काउटिन्हो लोनमै ब्राजिलमा रहे।
युवा खेलाडी भए पनि उनले सिनियर टिममा स्थान बनाइरहे। उनले ब्राजिलियन सिरी बी टिमलाई शीर्ष डिभिजनमा ल्याउन ठूलो सहयोग गरे। सन् २०१० मा १८ वर्ष पुगेपछि उनी इटाली पुगे। ‘काउटिन्हो इन्टर मिलानका भविष्य हुन्,’ इन्टरका प्रशिक्षक राफेल बेनिटेजले भनेका थिए।
तर उनी इन्टरको भविष्य बन्न भने सकेनन्। एक सिजनमा औसत अवसर पाएका उनले खास राम्रो खेल प्रस्तुत गर्न सकेनन्। त्यसैले मिलानले उनलाई स्पेनिस क्लब एस्पानोयल पठायो। १६ खेलबाट पाँच गोल गरेका काउटिन्हो एस्पानोयलमा एक सिजन बिताएर फर्किए। तर उनले त्यो सिजन ‘बेञ्च हिटर’ बने। इन्टर मिलानमा उनको त्यो नै अन्तिम सिजन बन्यो– २०१२–१३।
अब उनको यात्रा प्रिमियर लिगमा बढ्दै थियो। लिभरपुल क्लबले उनलाई अनुबन्ध गर्यो। त्यतिबेला लिभरपुलले उनलाई अनुबन्ध गर्दै विश्वस्तरीय खेलाडी भएको बतायो। त्यो समय चर्चामा रहे पनि उनले युरोपमा खुलेर खेल्न सकेका थिएनन्। लिभरपुलमा भने उनले आफ्नो पूरा खेल प्रस्तुत गरे।
त्यसो त लिभरपुलले उनलाई १० नम्बरको जर्सी दिएको थियो। त्यतिबेला साउथ ह्याप्म्टनका प्रशिक्षक माउरिसियो पोचेटिनोले उनलाई अनुबन्ध गर्न चाहेका थिए। तर, काउटिन्होको मन लिभरपुलमा रोकियो। २०१३ को जनवरीमा त्यहाँ पुगेका उनले फेब्रुअरी दोस्रो हप्तामा डेब्यू गरे।
उनको लिभरपुल बसाइ जति लम्बिँदै गयो, उति नै खेल पनि मजबुत बन्दै गयो। हरेक वर्ष उनको गोलको संख्या बढ्दै गयो। रातो जर्सीमा उनको खेल उस्तै रोमाञ्चक देखिन थाल्यो।
सुरुमा प्लेयर अफ दि मन्थ बनेका उनी पछि पीएफए फ्यान्स प्लेयर, पीएफएको वर्षकै उत्कृष्ट खेलाडीहरुको टिममा परे। अर्को वर्ष पीएफए युवा खेलाडीमा परेका उनलाई ह्यारी केन र इडेन हजार्डले पछि पारेका थिए।
उनको खेल कौशल अझै उत्कृष्ट बन्दै गयो। जम्दै गएका उनका लागि बार्सिलोनाले पठाएको सात करोड २० लाख पाउन्ड बराबरको प्रस्ताव लिभरपुलले अस्वीकार गरेको थियो। लिभरपुलले १८३ मिलियन पाउन्ड मागेको थियो। सन् २०१७ बाट सुरु भएको प्रस्ताव २०१८ मा पारित भयो। लिभरपुलले १४२ मिलियन पाउन्डमा काउटिन्होलाई बार्सिलोनामा पठायो। त्यतिबेला बार्सिलोनाले सबैभन्दा धेरै मूल्यमा किनेका खेलाडी काउटिन्हो नै थिए।
काउटिन्होलाई विदाइ गर्दै लिभरपुलका अध्यक्ष टम वेर्नरले भनेका थिए, ‘फिलिपेबारे भन्न मसँग राम्रा कुराहरु मात्र छन्। तर उनी स्पेनका दुई मध्येको एक ठूलो क्लबमा खेल्नका लागि जाँदैछन्। क्लब सही दिशामा जाँदैछ भनेर हामीले उनलाई यहीँ राख्न खोजेका थियौं। यदि उनी यहीँ बस्ने हो भने उनले च्याम्पियन्स लिगमा राम्रो अनुभव गर्न सक्नेछन्।’
नेयमारपछिका ब्राजिली स्टार
सन् २०१७ मा ब्राजिलियन फरवार्ड नेयमार फ्रान्सेली क्लब पीएसजी गएपछि बार्सिलोनाले त्यस्तै खेलाडी क्लबमा भित्र्याउन चाहेको थियो। बार्सिलोनाको जर्सीभित्र काउटिन्होको चर्चा त्यतिबेलाबाटै सुरु भएको हो। अन्ततः उसले भित्र्याएको हो।
२९ वर्षे ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्होले बार्सिलोनाको जर्सी तीन वर्ष लगाए। बीचमा एक वर्ष जर्मन क्लब बायर्न म्युनिखबाट उनले खेलेका थिए। जहाँ उनले च्याम्पियन्स लिग सहित ट्रेबल जितेका थिए। बायर्नबाट फर्किएपछि बार्सिलोना उनलाई क्लबमै राख्ने कि बेच्ने भन्नेमा मझधारको स्थितिमा थियो।
त्यो किनभने क्याटलान क्लबमा उनको उपस्थितिले न समर्थक खुसी हुन सकेका थिए न क्लब न प्रशिक्षक न खेलाडी स्वयं नै खुसी थिए। सुरुमा त उनी बार्सिलोनामा पहिलो रोजाइका खेलाडी थिए। तर, समय बित्दै जाँदा उनका समर्थक घट्न थाले। उनको प्रदर्शन पनि सोचेजस्तो नभएको सबैले आंकलन गर्न थाले।
सन् २०१७ मा ब्राजिलियन फरवार्ड नेयमार फ्रान्सेली क्लब पीएसजी गएपछि बार्सिलोनाले त्यस्तै खेलाडी क्लबमा भित्र्याउन चाहेको थियो। बार्सिलोनाको जर्सीभित्र काउटिन्होको चर्चा त्यतिबेलाबाटै सुरु भएको हो। अन्ततः उसले भित्र्याएको हो।
त्यसैले बार्सिलोनाका लागि काउटिन्हो पन्छाउनु पर्ने भयो। उनलाई पन्छाउने विभिन्न कारणहरु बारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चर्चा गरे। त्यसमा पहिलो हो, बार्सिलोनाले नेयमारलाई पुनः स्पेन फर्काउने। नेयमारलाई फर्काउन बार्सिलोनासँग ठूलो रकम आवश्यक पर्छ। खेलाडी नबेचिकन उनलाई ल्याउन नसक्ने बार्सिलोनाले बताउँदै आएको थियो। त्यसैले बार्सिलोनाले काउटिन्होलाई बेच्ने प्रयासमा थियो। बार्सिलोना काउटिन्हो बेचेर नेयमार भित्र्याउन चाहन्थ्यो। उता नेयमार पनि त्यहि चाहन्थे।
उनले भनेका थिए, ‘म आफ्नो तलबभन्दा धेरै घटेर पनि बार्सिलोना फर्कन चाहन्छु।’ नेयमार सन् २०१७ मा २२० मिलियन यूरो (कीर्तिमानी मूल्य)मा फ्रान्स हानिएका थिए। उनी फ्रान्स जाँदा उनको सपना थियो, आफू रोनाल्डो र मेस्सी बराबरीको खेलाडी बन्ने। तर धेरै समय खेल्दा पनि उनी त्यो स्थानमा पुग्न सकेनन्।
समय बित्दै जाँदा पनि नेयमारको प्रदर्शनमा सुधार हुन सकेन। फुटबल पण्डितहरु त अझ उनको प्रदर्शनमा गिरावट आएको बताउँछन्। मेस्सी र रोनाल्डोलाई पनि जितेर त्यति ठूलो मूल्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) हानिएकोमा उनको आलोचना हुन थाल्यो।
त्यसपछि उनले बार्सिलोना आउन चाहेको बताएका थिए। बार्सिलोना पनि उनलाई पुनः अनुबन्ध गर्ने पक्षमा थियो। तर, पीएसजीले बेच्न चाहेन। बार्सिलोनाको नोयमार किन्ने र काउटिन्हो बेच्ने योजना फेल भयो।
त्यो योजना सफल पनि हुन सक्ने थियो तर पछिल्लो ट्रान्सफर विन्डोमा भएको उथलपुथलले बार्सिलोनालाई अहिले निकै चोट पुगेको छ। नेयमार लगेको पीएसजीले पछिल्लो सिजन त विश्वकै उत्कृष्ट प्लेयर लियानेल मेस्सी पनि अनुबन्ध गर्यो।
बार्सिलोनाबाट पेरिस क्लबमा सिधै गएका यी दुई विश्वकै तीन उत्कृष्टमध्येका खेलाडी हुन्। पीएसजीको सपना च्याम्पियन्स लिग जित्ने थियो। अझै पनि छ। विश्वका चर्चित खेलाडीको बाहुल्य छ पीएसजीमा। तर, उसको त्यो इच्छा पनि पूरा हुन सकेको छैन। त्यसैले उसले नेयमारसँगै मेस्सीलाई पनि भित्र्यायो।
यता बार्सिलोनाका प्रशिक्षक रोनाल्डा कोम्यानले गएको सिजनको सुरुमा लुइस सुआरेजलाई एट्लेटिको मड्रिड पठाइदिए। त्यतिबेला मेस्सी, अन्सु फाटी, एन्टोइन ग्रिजम्यान र काउटिन्होलाई अग्रलाइनमा प्रयोग गरेर उपाधि जित्ने कोम्यानको लक्ष्य थियो, जुन समयँगै तुहियो।
उनले बूढो खेलाडी भनेर बेचेका सुआरेजले राम्रो प्रर्दशन गरे तर काउटिन्होले सम्झनलायक प्रदर्शन गरेनन्। यता यो सिजनको सुरुमा त बार्सिलोनाले तलब बचाउन ग्रिजम्यान पनि एट्लेटिको मड्रिड पठायो भने इभान राकिटिकले पनि क्लब छाडे।
बार्सिलोनाबाट पेरिस क्लबमा सिधै गएका यी दुई विश्वकै तीन उत्कृष्टमध्येका खेलाडी हुन्। पीएसजीको सपना च्याम्पियन्स लिग जित्ने थियो। अझै पनि छ। विश्वका चर्चित खेलाडीको बाहुल्य छ पीएसजीमा। तर, उसको त्यो इच्छा पनि पूरा हुन सकेको छैन। त्यसैले उसले नेयमारसँगै मेस्सीलाई पनि भित्र्यायो।
२०२१–२२ को सिजन सुरुमै काउटिन्होको भविष्य अन्योलमा रहेको युरोपियन मिडियाले बताउँदै आएका थिए। ‘सिनियर करिअरमै ६ क्लबको अनुभव बटुलेका काउटिन्हो अब कता जालान त्?’ फुटबल ट्रान्सफर विन्डो नजिकिँदै गर्दा यो प्रश्न उठ्न थालेको थियो। त्यसपछि इंग्लिस क्लब न्यूकासलले उनीमाथि आँखा दौडायो। ७० मिलियन पाउन्ड खर्च गर्ने उसको प्रस्ताव बार्सिलोनाले स्वीकार गरेको हल्ला चलेको थियो। त्यस्तै उनलाई प्रिमियर क्लब चेल्सी र टोटनहम हट्स्परले पनि अनुबन्धन गर्न खोजेको थियो। तर सफल भएनन्। त्यो समय बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले काउटिन्हो बेच्न हिचकिचाए। तर कोम्यान नै बार्सिलोनामा लामो समय टिकेनन्।
अहिले बार्सिलोनाले जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। जाभीको प्रशिक्षणमा उनले १६ खेल खेले पनि धेरैजसो बेञ्चबाटै सब्स्टिच्युट हुने गरेका थिए।
बरु बार्सिलोना उनको ठाउँमा नयाँ खेलाडी भित्र्याउने दाउमा थियो। त्यसैले काउटिन्हो बाहिरिएपछि जाभीले फरान टोरेसलाई रियल मड्रिड विरुद्धको खेलमा डेब्यु गराएका छन्।
–एजेन्सीहरुको सहयोगमा