धनगढी- पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड माघी सुरु भएको छ। माघे संक्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन आज घर घरमा सुँगुर काट्ने चलन छ। जसलाई ‘जिता मरना दिन’ भनिन्छ।
पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी, माछालगायत परिकार बनाएर जाँडरक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ। यतिबेला ‘सखियै हो, माघिक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको छ। माघीमा गाइने गीतलाई 'धमार’ भनिन्छ। माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ।
कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङमा बसोबास गर्ने थारु समुदायले माघीलाई मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिने गर्दछन्। माघी पर्व पहिले खासगरी पश्चिम भेगको थारू गाउँघरमा मात्र सीमित थियो। पहिले राजधानीमा बसोबास गर्ने थारूले माघी महोत्सव आयोजना गर्ने गर्दथे।
पछिल्लो समयमा थारु बाहुल्य क्षेत्रमा माघी मेला महोत्सवका रूपमा मनाउने गरिँदै आएको छ। माघी महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकारका साथै सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिँदै आएको थियो।
कोरोना महामारीका कारण उल्लास नभए पनि संस्कृति जगेर्ना तथा निरन्तरता कायम राख्न भीडभाड नगरेर मनाइने थारु कल्याणकारणी सभा कैलालीका उपसभापति माधव थारुले बताए।
माघीका अवसरमा कैलालीका धार्मिक तीर्थस्थलमा भव्य मेला लाग्ने गर्दथ्यो। माघी लहानसँगै विशेष गरेर थारु समुदायको ठूलो उपस्थिती हुने गर्दथ्यो। माघीको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया मन्दिर, घोडाघोडी नगरपालिकाको कीर्तिपुरमा रहेको बुट्का बाबाको मन्दिर, धनगढी उपमहानगरपालिकामा रहेको बेहेडाबाबा मन्दिर र जाखोर ताल क्षेत्रमा रहेको शिव मन्दिर, कैलारी गाउँपालिकाको बेनौलीमा रहेको अपरम्पार बाबाको मन्दिरमा माघी लहान तथा माघी मेलाको आयोजना हुने गर्दथ्यो। यस वर्ष कोरोना महामारीका कारण माघी लहान तथा माघी मेलाको आयोजना भएको छैन।
गाउँघरमा माघीको अवसरमा औपचारिक कार्यक्रमको आयोजना नहुँदा विगतको वर्षझैं उल्लास नभए पनि कोरोना महामारीका कारण जो जहाँ छन् त्यही बसेर मनाउन लागिएको भजनी नगरपालिका–९, डोंगपुरकी सोना चौधरीले बताइन्। 'माघी मनाउन धेरैलाई निमन्त्रण दिएकी थिएँ तर कोरोनालाई देखाउँदै धेरैले नआउने खबर पठाउनुभएको छ,' उनले भनिन्।
थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाइन्छ। कोरोना महामारीका कारण उल्लास नभए पनि संस्कृति जगेर्ना तथा निरन्तरता कायम राख्न भीडभाड नगरेर मनाइने थारु कल्याणकारणी सभा कैलालीका उपसभापति माधव थारुले बताए।
सम्बन्ध प्रगाढ बनाउने दिन
माघे संक्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ। यसलाई ‘माघ लहान’ भन्ने गरिन्छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ। यसलाई सेवाढोग लग्ना भनिन्छ। यो प्रक्रिया घरबाट सुरु भई गाउँभरि नै गएर सेवा सलाम लिनेदिने र खानपिन गर्ने प्रचलन छ।
जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामका लागि पस्नुपर्ने हुन्छ। मन मिल्नेहरू समूहमा आबद्ध भई सेवासलाम लाग्ने गर्दछन्। यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्ने थारु बुद्धिजीवी दिलबहादुर चौधरीले बताए। कसैसँग रिसइबी छ भने माघी नुहाएर, एकआपसमा अंकमाल गरी मेलमिलाप गरिन्छ। त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनका रूपमा पनि लिइन्छ।
धार्मिक विश्वास
माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्षभरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ। कैलालीका कञ्चनपुरका थारु समुदायहरू खोलानाला, नदी तथा धार्मीक तीर्थस्थलमा लहान गर्ने जाने चलन छ।
कैलालीको बेहेडाबाबा मन्दिर, बुट्का बाबा मन्दिर, बर्दगोरिया मन्दिर लगायतका स्थानमा स्नान गर्न जाने गर्दछन्। दाङ–देउखरीका थारु समुदाय भने दाङ-देउखुरीमा पर्ने धार्मिकस्थल रिहार, गोबरडिहाको जङ्गलवा रहेको कुट्टी, कालापानीको कुण्डमा माघी लहान गर्न जाने गर्दछन्।
दाङ-देउखुरीमा पर्ने धार्मिकस्थल रिहार थारू समुदायको परम्परागत देवथानका रूपमा रहेको छ। त्यहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ। त्यहाँ ठूलो संख्यामा तीर्थालु पुग्ने गर्दछन्। त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास रहेको स्थानीयहरूको भनाई छ।
दाङ-देउखुरीकै गोबरडिहाको जङ्गलवा कुट्टीमा पनि माघे संक्रान्तिमा मानिसहरू रातभरि जाग्रम गरी पूजाआजा गर्छन्। यसलाई बाघनाथ बाबा कुट्टी भनिन्छ। दाङ–देउखुरीकै कालापानीको कुण्डमा स्नान गरी पूजा गर्नाले लुतो लगायतका रोग निको हुन्छ भन्ने जनविश्वास छ। यो ठाउँ स्थानीय थारू भाषामा खौराबाबाको नामले प्रख्यात छ।
छोरीचेलीहरूलाई ‘निसराउ’
माघको दोस्रो दिन खिचडी बनाई खाने चलन छ। यो दिनलाई ‘खिचरहवा’ भनिन्छ। माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ। यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ। माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउ स्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ। माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला निसराउ लिएर जान्छन्।
नयाँ आर्थिक वर्ष
माघी पर्वलाई थारु समुदायले नयाँ आर्थिक वर्षको रूपमा लिने गर्दछन्। पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ। माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत अन्य व्यवहारहरूको नवीकरण गरिन्छ।
घरसल्लाह र अगुवा चुन्ने पर्व
माघीमा नै थारू समुदायका मानिसहरू आफ्नो घर सल्लाह गर्ने प्रचलन रहेको छ। माघीमा भाइभाइ एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गरिन्छ। घर सल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरको मूलीको बन्नेजस्ता कुराको छलफल हुन्छ। घरपरिवारभित्र जिम्मेवारी पाएका सदस्यले माघीमा स्वतन्त्र भएर हेरफेर गर्न सक्दछन्। गरदुरै (घरमुली बन्ने), ‘बहरिया’ (घर बाहिरको कामको जिम्मेवारी) आदि कामको जिम्मेवारी परिवर्तन माघीमा नै गर्ने गरिन्छ।
यही बेला घरमा मिलेर बस्ने या छुट्टिने कुराको समेत सल्लाह हुन्छ। भाइभाइमा मन नमिले माघीमा नै अशंबण्डा गरिन्छ। यसलाई घर फुटाइ पनि भनिन्छ। अंशबण्डामा कुनै भाइलाई मर्का नपरोस् भन्ने उद्देश्यले गाउँका पञ्च भलाद्मी, महटाँवा, बरघरहरूलाई मध्यस्थकर्ताको रूपमा बोलाईएको हुन्छ।
गाउँको विकास कसरी गर्ने भन्ने सवालमा माघको पहिलो हप्ताभित्रै बैठक बसेर सामूहिक रूपमा गत वर्षको कामकारबाहीबारे छलफल गरिन्छ। वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई ‘भुरा खेल (ख्याला)’ भनिन्छ। बैठक गाउँको अगुवाको घरमा बस्छ। अगुवालाई ठाउँ विशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा पनि भनिन्छ। बैठकमा गत वर्षमा भए गरिएका कुलापानी, धार्मिक पूजापाठलगायत विकासको कामको समीक्षा हुन्छ।
आगामी वर्षको लागि उही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने विषयमा छलफल हुन्छ। सोही बैठकले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनोट गर्छ।
यही बैठकले गाउँलाई अनुशासित बनाउन नयाँ नियम कानुन पनि बनाउँछ। नियम उल्लङ्घन गर्नेलाई बरघरको अध्यक्षतामा बसेको बैठकले जरिवाना तोक्छ। बरघरको महादेवलाई दृष्टिगत गर्दै पछिल्लो केही वर्षयता जिल्ला बरघर समिति पनि गठन हुन थालेको छ। यसरी लोकतान्त्रिक ढङ्गले थारू समुदायमा अगुवा चुन्ने काम माघीमा नै गरिन्छ।
पहिले र अहिले
पहिले माघी थारू समुदायका लागि अभिसाप हुन्थ्यो। जमिनरको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै सुरु गरिन्थ्यो। एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशु किनेजस्तै उनीहरूलाई खरीद गरी दास जीवन जिउन बाध्य पारिन्थ्यो। तर, २०५७ साल साउन २ गते तत्कालीन सरकारले कमैयालाई मुक्त घोषणा गरेपछि कमैयाप्रथाको अन्त्य भयो।
कमलहरी प्रथा हटाउन थारू बडघरहरू स्वयम् र विभिन्न संघसंस्थाहरूको पहलपछि २०७० असार १३ गते बसेको मन्त्रीपरिषद् बैठकले कम्लहरी प्रथा मुक्त गर्ने निर्णय गरेपछि लगत्तै साउन २ गते कम्लहरी प्रथा मुक्तीको घोषणा भयो। अरूको घरमा सानैदेखि निकै कम ज्यालामा काम गर्ने केटीलाई कम्लहरी भनिन्थ्यो। यिनीहरूलाई दासदासीको रूपमा काम लगाइने गरिन्थ्यो।
सुदूरपश्चिममा थप एक दिन बिदा, कैलारीमा तीन र जोशीपुरमा एक दिन
सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस वर्ष माघ १ गते शनिबारको दिन माघे संक्रान्ति परेकाले माघ २ गते आईतबार प्रदेश सरकारले थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार प्रदेश सरकार मन्त्रीपरिषद्को २०७८ बैशाख १९ गतेको निर्णय अनुसार प्रदेश भित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यता, कैलालीको कैलारी गाउँपालिका र जोशीपुर गाउँपालिकाले माघीको अवसरमा बिदा दिने निर्णय गरेको छ। कैलारी गाउँपालिकाले पुस ३० गते र माघ ३ गते सार्वजनिक बिदा दिएको छ भने जोशीपुर गाउँपालिकाले माघ ३ गते सार्वजनिक बिदा दिएको छ।