काठमाडौं– नेपालमा दिनहुँ कोरोना संक्रमण दर बिजुली गतिमा फैलिँदै गएको छ। पछिल्लो दश दिनमा ११ गुणाले संक्रमण उकालो लागेको छ।
हरेक दिन अघिल्लो दिनको तुलनामा ५ सयदेखि एक हजारसम्म धेरै संक्रमित थपिन थालेका छन्। पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो। ताकि हिजो बुधबार ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको थियो।
हिजोको तुलनामा आज करिब ५ सय संक्रमित बढि थपिएका छन्। यस्तै मंगलबार २४४४ जनमा संक्रमण पुष्टि भएको थियो। सोमबार १ हजार ४ सय ४६ जनामा र आइतबार ११६७ जना संक्रमित थपिएका थिए। १० दिन अघि पुष १९ गते जम्मा ३२६ जना संक्रमित मात्रै थपिएका थिए। त्यसयता निरन्तर बढेको संक्रमण हालसम्म आइपुग्दा ११ गुणाले बढेको छ।
कोरोना संक्रमणको हट स्पटका काठमाडौं बनेको छ देशभर थपिएका संक्रमितको आधा संख्या काठमाडौं जिल्लामा रहेका छन्। आज मात्रै काठमाडौंमा १४ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ। ललितपुर भक्तपुर गरेर उपत्यकामा १९ सय १६ जना संक्रमित थपिएका छन्। हिजो उपत्यकामा १ हजार ५ सय ३८ जनामा संक्रमण पुष्टि भएको थियो। हाज देशभर १४ हजार ३४० जना सक्रिय संक्रमित रहेकोमा काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्यख ८ हजार ३९६ रहेको छ।
एकै अस्पतालमा ६० संक्रमित
त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा कार्यरत ६० जना चिकित्सक र कर्मचारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य सेवा नै प्रभावित भएको छ।
अस्पतालका निर्देशक दिनेश काफ्लेका अनुसार त्यहाँ कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीलाई कोरोना पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु अहिले होम आइसोलेनमा रहेका छन्। स्वास्थ्यकर्मीहरु विरामी मार्फत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।
चिकित्सकहरु कोरोना संक्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको निर्देशक काफ्लेले जानकारी दिए। स्वास्थ्यकर्मीहरु यसरी नै प्रभावित भए स्वास्थ्य प्रणालीमा ठूलो समस्या आउन सक्ने उनले बताए। चिकित्सकहरु संक्रमित हुँदा ननकोभिड विरामीहरुले पाउने सेवा समेत प्रभावित हुने उनको भनाई छ। त्यहाँ अहिले ३५ जनाभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका छन्। डा. काफ्लेले अस्पतालमा गत साता भन्दा विरामीको चाप बढेको छ।
लकडाउन नहुने
कोरोना संक्रमण तिब्र गतिमा फैलिए पनि सरकारले सबै ठप्प बनाउने गरी लकडाउन नगर्ने भएको छ।
संक्रमण बढ्यो भन्दैमा सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले स्पष्ट पारेका हुन्। बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए। उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने स्पष्ट पारे। मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए।
मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे। उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे। मन्त्री खतिवडाले विज्ञहरुको राय बमोजिम माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षकर्मी लगायतलाई बुस्टर डोजको व्यवस्था गरिने बताए। उनले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेरसमूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए।
स्वास्थ्य मन्त्री खतिवडाले स्वास्थ्यकेन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे। कोरोना खोप लगाउन अस्पतालमा भीड भइरहेको प्रशंगमा मन्त्री खतिवडाले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भीड हुन नदिने बताए।
खोप केन्द्रमा भीड
माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ।
काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने आदेश गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको छ। काठमाडौंका विभिन्न खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड उल्लेख्य मात्रामा बढेको हो। बिहीवार टेकु अस्पतालमा धेरै भीड देखियो। खोप लगाउनेहरुको भीडले जनस्वास्थ्यको मापदण्ड तथा भौतिक दुरी समेत कायम गर्न नसकेको दृश्य स्पष्ट देखिन्थ्यो। टेकु अस्पताल परिसर भन्दा बाहिर सडक सम्मै खोप लगाउनेहरुको लाइन थियो।
सरकारलाई कांग्रेसको ध्यानाकर्षण
आफ्नै पार्टीको सरकारलाई नेपाली काँग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा ध्यानाकर्षण पत्र बुझाएको छ।
काँग्रेस सभापति शेरबहादुर नेतृत्वको वर्तमान सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले बिहीबार आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएकी हुन्। सबै नागरिकलाई कोरोनाभाइरसको खोप पुर्याउन, परीक्षणको दायरा बढाएर समयमै कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्न, बृद्व, बृद्वा÷दीर्घरोगीहरू र बालबालिकाहरू बढी जोखिममा पर्ने हुँदा उच्च प्राथमिकतामा राख्न कांग्रेसले माग गरेको छ। सीमामा कडाइ गर्न माग गरेको कांग्रेसले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु प्रोत्साहित हुने गरी कार्यक्रम बनाउन अपिल गरेको छ। समयमै भत्ता दिने व्यवस्था मिलाउन पनि कांग्रेसले स्वास्थ्यमन्त्री खतिवडासँग आग्रह गरेको छ।
कर्मचारी अभाव हुन नदिन निर्देशन
सरकारले देशभरका अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिने प्रबन्ध गर्न निर्देश गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका अस्पताल र प्रयोगशालाहरूलाई पत्राचार गर्दै जनशक्ति अभाव हुन नदिन निर्देशन गरेको हो। मन्त्रालयले स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भए तत्कालै पदपूर्तिको व्यवस्था गर्न भनेको छ। त्यस्तै, स्वीकृत दरबन्दीअनुसार कुनै पनि पद रिक्त भएमा त्यस्तो ठाउँमा करार कर्मचारी भर्ना गरेर जनशक्तिको उपयुक्त व्यवस्था गर्न निर्देशन गरेको छ।
बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पतालहरु र प्रयोगशालाहरूलाई जनशक्ति व्यवस्थापन गर्न निर्देशन गरिएको मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा.समीरकुमार अधिकारीले जानकारी दिए। मन्त्रालयले स्वीकृत दरबन्दीहरूको करार नियुक्ति भएको र म्याद सकिएको भए ती पदहरूमा माघ महिनादेखि बढीमा ३ महिनासम्म म्याद थप गर्ने व्यवस्था गर्न निर्देशन गरेको छ।
राज्य माफियाहरुबाट डराउँदैनः मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट राज्य नडराउने बताएका छन्।
चिकित्सा शिक्षाका विद्यार्थीहरुमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाव सरकारलाई मान्य नहुने बताएका हुन्। उनले कानूनसम्मत काम नगरी विद्यार्थीहरुबाट जथाभावि शुल्क लिएको पाइए कानून बमोजिम कारबाही गर्ने बताए। मन्त्री पौडेलले कुनै पनि शक्तिले केन्द्रमा धाएर वा सरकारलाई दबाव दिएर कानून बिपरित्का काम गरे मन्त्रालयले छुट नदिने भन्दै सम्बन्धित यूनिभर्सिटीका प्रतिनिधिहरुलाई बोलाएर आज वा भोलिसम्म समस्याको समाधानमा लाग्ने दाबी गरे।
त्यस्तै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले आयोगको तर्फबाट गर्नुपर्ने कामका लागि आयोग पछि नहट्ने दाबी गरे। उनले शुरुका दिनदेखि नै आयोगले अनियमित कुराहरुलाई नियमित गर्न लागि परेको बताए। उनले बेथिति सुधारको अभियानमा उठाइएका हरेक आवाज आयोगको भएको बताए।
विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिइ एम.बी.बी.एस, बी.डी.एस र बी. एन. एसमा नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजले विद्यार्थीहरुसँग बढी शुल्क लिएको भन्दै शिक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्। उनीहरुले शिक्षाजस्तो अत्यावश्यक सेवा आफ्नो चंगुलमा राख्ने र विद्यार्थीको अधिकार र भविष्यमा प्राप्त सफलतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन्।
बढ्यो सेयर बजार
बुधबार ३० अंकले गिरावट भएको शेयर बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार ह्वात्तै बढेको छ।
बुधबारको कारोबारमा ३०.५१ अंक घटेको नेप्से, बुधबार नेप्से परिसूचक ५४.१२ अंक बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेको छ। आज कारोबारमा आएका दिन २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार कित्ता शेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से पसिूचक बढे पनि बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ। बुधबार नेप्सेमा ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ। जसमा जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी ४.९ प्रतिशत बढेको छ। लगानी, वित्त र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ। त्यस्तै व्यापार, विकास बैंक, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
नवौं राष्ट्रिय खेलकुद नहुने सम्भावना
यस वर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने तयारी गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्भावना टर्दै गएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्य सचिवको विवाद र कोभिडको बढ्दो लहरका कारण यस वर्ष समेत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना प्रभावित हुने देखिएको हो। आठौं राष्ट्रिय खेलकुद तत्कालिन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो। प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको राष्ट्रिय खेलकुद २०७७ मा आयोजना गर्नुपर्ने थियो।
तर विश्वव्यापी रुपमा फैलिएको कोभिड संक्रमणका कारण गत वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेन। सरकार परिवर्तन भएसँगै सुरु भएको सदस्य सचिव र बोर्ड सदस्यको विवादले नवौं राष्ट्रिय खेलकुद यस वर्ष हुने सम्भावना टर्दै गएको छ।