काठमाडौं– सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सोमबार पनि धर्ना दिइएको छ। नागरिक संघर्ष समितिको अगुवाइमा संवैधानिक व्यवस्थाअनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो।
धर्नाका बसेकाहरुले नागरिकताबाट आफूहरुलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नुपरेको बताएका छन्। उनीहरुले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति जनाए। राष्ट्रको पहिचानका रुपमा रहेको नागरिकतासमेत नदिएर सरकारले नागरिकमाथि अमानवीय व्यवहार देखाएको उनीहरुको आरोप छ।
धर्नामा सहभागी भएकाहरुले ‘हामी नेपाली बाबु–आमामा सन्तान, कहिलेसम्म अनागरिक बन्नुपर्ने सरकार’, ‘संविधानअनुसार नागरिकको व्यवस्था गर’ भन्ने जस्ता प्लेकार्ड प्रर्दशन गरेका थिए। नेपालमा नेपाली नागरिकका छोराछोरीले समेत नागरिकता पाउन नसकेको, कतिपय अवस्थामा गैरनागरिकहरुले समेत नागरिकता पाएको तथ्य बाहिर आउने गरेको तर त्यसको सुनुवाई सरकारले नगरेको धर्नामा बसेकाहरुको गुनासो छ।