मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • देशभरका विद्यालय माघ १५ सम्म बन्द, राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता जारी [२०७८-९-२५]

देशभरका विद्यालय माघ १५ सम्म बन्द, राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता जारी [२०७८-९-२५]

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं– कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ। आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० को बैठकले विद्यालय बन्दको निर्णय गरेको हो।

कतिपय विद्यालयमा हिउँदे बिदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने निर्णय भएको हो। यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा सरकारी अधिकारीहरुको छ।

बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको छ।

पाँच गुणा बढ्यो कोरोना

नेपालमा कोरोना संक्रमण दर तिब्र गतिमा उकालो लागेको छ। एक साताको अन्तरालमा ५ गुणा अर्थात ५ सय प्रतिशतले कोरोना संक्रमणदर बढेको छ। 

अघिल्लो साताको आइतबार २१६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा आज ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। शनिबार ९४४ जनामा कोरोना संक्रमण भएको थियो। यस्तै शुक्रबार ९६८, बिहीबार ५४०, बुधबार ४३५, मंगलबार ३९३ र सोमबार ३२६ नयाँ संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा १२ हजार ६३२ जनाको नमुना परीक्षण गरिएको थियो। यस अवधिमा २२४ जना संक्रमणमुक्त भएका छन्। आज सक्रिय संक्रमितको संख्या ६७५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। 

चार जिल्लाका बालबालिकालाई खोप

काठमाडौ, भक्तपुर, ललितपुर र काभ्रेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आज आइतवारदेखि कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरिएको छ।

काठमाण्डौ र ललितपुरमा फाइजर तथा भक्तपुर र काभ्रेमा मोर्डना खोप दिन सुरु गरिएको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. सागर दाहालले जानकारी दिए।  अहिले विद्यालयबाट नै खोप दिन सुरु गरिएको हो। 

यसअघि सरकारले काठमाडौ उपत्यकासहित २० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने भनेको थियो। ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको ४ गतेदेखि नै मोडर्ना खोप दिइएको छ। फेरि फाइजर खोप कम भएको भन्दै सरकारले काठमाण्डौ र ललितपुरबाहेकका अरू जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने जनाएको हो। तर ती जिल्लाका बालबालिकाले कहिलेदेखि खोप पाउने भन्ने अझै टुङ्गो लागेको छैन।

राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता

निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ। 

आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आचारसंहिता जारी गरिएको जानकारी दिएका छन्। स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७२ सोमबारदेखि लागू हुनेछ। आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले उल्लंघन भएमा कानुनी कारवाही हुने जनाएको छ। 

आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारको मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको हकमा आचारसंहिता लागू हुनेछ।

यस्तै निर्वाचन आयोगले आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो। यससँगै आयोगले उम्मेदवारहरूलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ। राष्ट्रियसभाको १२ गते हुने चुनावबाट १९ जना निर्वाचित हुनेछन्।

भ्रष्टाचार लुकाउन नक्कली ज्वाइँ खडा गरियोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफ्नो भ्रष्टाचार छोप्न नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गर्न खोजिरहेको आरोप लगाएका छन्। 

गृहजिल्ला झापा आएका ओलीले राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा सरकारले नारायणहिटी कप्लक्कै खाइसकेको टिप्पणी गरे। नारायणहिटी संग्रहालयमा क्याफे संचालनसम्बन्धी ठेक्का पाएको बतास समूहलाई सरकारको संरक्षण रहेको भन्दै उनले अहिले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई मिडियाबाट केपी ओलीको ज्वाइँ बनाउन खोजिएको बताए। बतास अर्गनाइजेशनका अध्यक्ष आनन्द बतासले आफू शेरबहादुर देउवाको निकटस्थ भएको र झापाको भद्रपुर ससुराली भएकाले केपी ओलीले ज्वाइँ भन्ने गरेको बताएका थिए।

नेताको दृष्टिदोषले विकास पछाडिः भट्टराई

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको टिप्पणी गरेका छन्। 

अध्यक्ष भट्टराईले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्नुपर्ने बताए। राष्ट्रिय व्यापार संघले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरुमा आएको परिवर्तनलाई आत्मासात गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने तर्क गरे। अध्यक्ष भट्टराईले व्यूरोक्रेसीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढन पनि राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए। 

अध्यक्ष भट्टराईले मुलुकबाट गरिवी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए। 

क्रिकेट रंगशालाको स्वामित्व महानगरले लिन्छः मेयर दाहाल

भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिने भएको छ। अब भरतपुर महानगरपालिकाले लिने बताएका छन्। 

मेयर रेणु दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन्। आइतबार न्यूज एजेन्सी नेपालसँग भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै मेयर दहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने बताउनु भयो। 

मेयर दाहालले  चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गरिन्। उनले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको उनको भनाइ  छ। मेयर रेणु दाहालले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको दाबी गरिन्। 

मेयर दाहालले आफ्नो साढे ४ वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग वाचा गरे भन्दा धेरै काम गरेको दाबी गरिन्। उनका अनुसार उनको कार्याकालमा महानगरमा ३ अर्ब ७० करोडको खानेपानी योजना र ६१० किलोमिटर सडक बनेको छ।

नोबेल मेडिकल कलेजमा तोडफोड

नोबेल मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले कलेजमा तोडफोड गरेका छन्।

आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन्। नोबेलका सुरक्षा गार्डले लाठी प्रहार गरेपछि आक्रोशित भिडले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार विद्यार्थीको प्रदर्शनका कारण नोबेल मेडिकल कलेजको अवस्था केही समय तनावग्रस्त बनेको थियो। 

बिहीबार आन्दोलनरत पक्षसँग जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलमा विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमति भएको थियो। तर आइतबार नोबेल मेडिकल कलेज प्रशासनले सहमतिविपरीत अतिरिक्त शुल्क बुझाउने विद्यार्थीलाई राखेर कक्षा सञ्चालन गरेपछि प्रदर्शन गरेको अनेरास्ववियूका नेता नविन पहाडीले बताए।

प्रकाशित: Jan 09, 2022| 19:18 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।