आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • शिक्षक श्रेष्ठ हत्या घटना : क्षतिपूर्तिका लागि धाउँदैमा हैरान छ परिवार

शिक्षक श्रेष्ठ हत्या घटना : क्षतिपूर्तिका लागि धाउँदैमा हैरान छ परिवार

पतिको हत्यापछि आफू बस्दै आएको बर्खे छाडिन् धनकुमारीले। ‘बर्खेमा श्रीमान् र म बस्थ्यौं। उहाँको हत्यापछि त्यहाँ फर्केर जान सकेको छैन,’ उनले भनिन्।
 |  आइतबार, पुस २५, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, पुस २५, २०७८

विराटनगर– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको एक वर्ष पूरा भएको   छ। वर्षदिन बित्दा पनि परिवारले सरकारबाट क्षतिपूर्ति पाउन सकेका छैनन्। 

National life

स्थानीय सरकारसमक्ष गुनासो लिएर धेरै पटक पीडित परिवार पुगिसके। गाउँपालिकाबाट क्षतिपूर्ति नपाउने भए पनि स्थानीय सरकारमा सूचना आउने भएकाले पीडित परिवार गाउँपालिका अध्यक्षसँग भेट्ने गरेका छन्। भेटको समयमा पहल गरिदिन आग्रह गर्छन्। अर्को पटक आउँदा होला भन्ने आश बोकेर घर फर्कन्छन्। शिक्षक श्रेष्ठकी श्रीमती ५४ वर्षीया धनकुमारी श्रेष्ठले भनिन्, ‘सरहरु क्षतिपूर्तिका लागि पहल गरिरहेका छौं भन्नुहुन्छ, खै के गर्दै हुनुहुन्छ थाहा छैन।’ गाउँपालिकामा गएर सोध्दा हुँदै होला भन्ने जवाफ आउने गरेको श्रेष्ठले बताइन्। ‘बाढी पीडितले क्षतिपूर्ति पाउँछन्, हाम्रो त खै के हो,’ धनकुमारीले भनिन्। 

उनले थपिन्, ‘घटनाको समयमा क्षतिपूर्ति पाउनुहुन्छ भनेर सरहरुले भन्नुभएको थियो। कहिले पाउने हो, टुङ्गो छैन। अहिलेसम्म आउला भन्ने आशमा छौं। क्षतिपूर्तिका लागि कहिलेसम्म धाउनुपर्ने हो, दिक्क भइसकियो।’ सहिद घोषणा गर्ने, परिवारलाई क्षतिपूर्ति दिने र दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि हत्या गरेको भोलिपल्ट पतिको शव बुझेर अन्त्येष्टि गरिएको उनले बताइन्। 

पतिको हत्यापछि आफू बस्दै आएको बर्खे छाडिन् धनकुमारीले। ‘बर्खेमा श्रीमान् र म बस्थ्यौं। उहाँको हत्यापछि त्यहाँ फर्केर जान सकेको छैन,’ उनले भनिन्। बर्खेको खेतबारी छिमेकीलाई जिम्मा लगाएर अहिले उनी मिक्लाजुङ–२ मा छोराबुहारीसँग बस्छिन्। श्रीमान् नभएपछि उनलाई आर्थिक समस्या पनि छ। उनले भनिन्,‘श्रीमान् पढाउनुहुन्थ्यो। बाली पनि लगाउँथ्यौं। पशुपन्छी पनि पालेका थियौं, समस्या थिएन। कमाउने मान्छे नभएपछि समस्या भएको छ।’

पतिको हत्यापछि आफू बस्दै आएको बर्खे छाडिन् धनकुमारीले। ‘बर्खेमा श्रीमान् र म बस्थ्यौं। उहाँको हत्यापछि त्यहाँ फर्केर जान सकेको छैन,’ उनले भनिन्।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले राजेन्द्र श्रेष्ठको परिवार क्षतिपूर्तिका लागि बुझ्न आउने गरेको बताउँदै आफूहरु नाजवाफ हुने गरेको सुनाए। भने, ‘क्षतिपूर्ति कहिले पाउँछौं भनेर सोध्नुहुन्छ, हामीले जवाफ दिन सकेका छैनौं। काम हुँदै होला, हामी पनि पहल गरिरहेका छौं भनेर पठाउने गरेका छौं।’ 

Laxmi sunrise bank
kumari

अध्यक्ष आचार्यले प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल समक्ष श्रेष्ठ परिपारको दुखेसो पुर्याएका पनि छन्। ‘क्षतिपूर्ति दिने भए दिनुपर्यो, हैन भने भएन भन्नुपर्यो। लामो समय अलमल्याउनु भएन भनेर सीडीओलाई भनेको छु,’ आचार्यले भने। 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले गृह मन्त्रालयमा क्षतिपूर्तिका लागि लेखेर पठाएको बताए। घटनालगत्तै क्षतिपूर्तिका लागि पठाइएको उनको भनाइ छ। उनका अनुसार गृहबाट यसबारे निर्णय भएर आएको छैन।

विप्लव समूहले शिक्षक श्रेष्ठलाई गत वर्ष मंसिर २३ गते बिहान घरबाट अपहरण गरी जंगलमा लगेर हत्या गरेको थियो। हत्यापछि विज्ञप्ति जारी गरेर उक्त समूहले विभिन्न ६ वटा आरोप लगाउँदै मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्याको जिम्मा लिएको  थियो।

घटना भएको करिब ३ महिनापछि उक्त समूह शान्तिपूर्ण राजनीतिमा आएको थियो। राजनीतिक नाममा गरिएको व्यक्ति हत्याको घटनाबाट क्षतिपूर्ति पाउन ढिलाइ भइरहेको बेला न्याय पनि नपाइने हो कि भन्ने चिन्ता श्रेष्ठ परिवारमा छ। विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएकाले पक्राउ परेकालाई पनि कारवाही नहोला भन्ने आशंका बढेको छ।

शिक्षक श्रेष्ठको हत्या घटनामा प्रहरीले ३५ जनाविरुद्ध गत फागुन ३ गते जिल्ला अदालत मोरङमा अपहरण र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको छ। आरोपितमध्ये संखुवासभाको मादी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालतले उनलाई मा पुर्पक्षका लागि थुनामा पठाएको छ।

प्रकाशित: Jan 09, 2022| 12:58 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।