काठमाडौं– जुम्लाको पातारासी गाउँपालिकास्थित एक स्कुलमा एकदिन एउटा चिठी आयो। केही विषेश थियो त्यो चिठी। हेडमास्टर विष्णुनाथ चौधरीले त्यो चिठी हेरे। त्यसपछि उनले विद्यार्थी सुनमाया बुढालाई डाकेर भने, ‘जिल्लाभरिका ३० स्कुलका विद्यार्थी सहभागी हुन्छन्। तिमीले पनि त्यहाँ दौडमा सहभागी बन्नुपर्छ।’
केही सेकेन्ड त अलमलिइन् सुनमाया। अनि केही डर र केही केही कौतुहल मिसाएर जवाफ दिइन्– हुन्छ सर। हेडसरले सुनमायाको दौड नजिकबाट देखेका थिए। त्यसैले उनी नै पहिलो रोजाइमा परिन्। ‘तैंले यो प्रतियोगितामा जित्न सक्छेस् भनेर प्रिन्सिपल सरले भन्नुभयो,’ उनी आज त्यो हौसला सम्झिन्छिन्। स्कुलको टिमका साथ पातारासी गाउँबाट उनको प्रतिस्पर्धा अब जिल्लामा पुग्दै थियो।
स्कुलका सबै छात्रालाई उछिनेका उनका पाइलाले जिल्लास्तरमा पनि कसैलाई अघि पर्न दिएनन्। उनी प्रथम भइन्। त्यसपछि उनी क्षेत्रीय खेल्न छनोट भइन्। नेपालगन्जमा भएको क्षेत्रीय स्पर्धामा पनि उनले बाजी मारिन्।
क्षेत्रीय खलाडीको प्रतिनिधित्व गर्दै उनी पहिलोपटक काठमाडौं पनि आइन्। उत्साह र हौसलाको कमी थिएन। आफ्नो लय कायम राख्दै उनले खाली खुट्टै दौडिएर स्वर्ण पदक जितिन्। त्यो थियो विद्यार्थीहरुको सबैभन्दा ठूलो राष्ट्रिय प्रतियोगिता राष्ट्पति शिल्ड।
यसरी सुरु भएको सुनमायाको दौड अहिले पनि जारी छ। ‘यो कहाँसम्म पुग्छ मलाई पनि थाहा छैन,’ उनी सुनाउँछिन्। सुनमायाको दौड यात्रा सहज भने पक्कै छैन। रगतमा भरिएको दौडको भोकलाई बचाउन कतिसम्म गर्नुपर्यो, त्यो उनलाई बाहेक सायदै कसैलाई थाहा छ।
२०७१ को अन्तिमतिर उनको एसएलसी परीक्षा पनि सकिएको थियो। त्यसपछि के गर्ने पत्तो थिएन। विद्यालयको दौडमा प्रथम भएको अनुभव उनीसँग थियो। दौडलाई नै निखार्ने हो त भनेर उनले एकपटक आफैंलाई पनि सोधेकी थिइन्। दीर्घकालीन महत्वको निर्णय लिने समय भइसकेको पनि थिएन।
एसएलसीपछि परिवारबाट चाहिँ विवाह गर्न दबाब आयो। ‘पढेर हुँदैन। परिवारको आर्थिक अवस्था पनि त हेर्नुपर्यो, अब बिहे गर्नुपर्छ,’ बुवा गोरेबहादुरले उनलाई सम्झाए।। सुनमायाले बिहे गर्न मानिनन्, बुबाले अगाडि पढाउन मानेनन्। ‘त्यसरी हुँदैन, म पढ्छु,’ उनले अड्डी कसिन्।
घरमा मनाउन त्यति सजिलो थिएन। ‘हरेक पल्ट छोरा जन्माउन खोज्दा छोरी जन्मिएर धेरै भएछौं। ठूलो परिवार थियो। सात जना त दिदीबहिनी मात्र। एकजना मात्र दाइ हो। त्यसैले बुवालाई छोरीको विहेको दबाब पर्यो सायद,’ सुनमायाले खुलाइन्।
धेरै छोरीमध्ये सुुनमाया त थिइन्, जसले पढ्न पाएकी थिइन्। स्कुलको र बाहिरको वातावरण देख्न पाएकी थिइन्। अनि काडमाठौंको हावा महसुस गर्न पाएकी थिइन्। त्रिपुरेश्वरको दशरथ रंगशालामा दौडिँदाको रोमाञ्चकता उनले भुल्न सकेकी थिइनन्। त्यहाँ फेरि दौडनु थियो। र, सावित गर्नु थियो– छोरी बोझ हुँदैनन् बरु राष्ट्रका गहना हुन्छन्।
धेरै जनालाई पढाउन धेरै खर्च लाग्ने, जुन परिवारले धान्न सक्दैन थियो। बुबालाई त्यो हेक्का थियो। ‘यसरी हुँदैन छोरी अब केटा खोजेर बिहे गर्नुपर्छ,’ बुबाले बारम्बार भनेको कुरा सुनमाया अहिले पनि सम्झिन्छिन्, ‘त्यतिबेला त ह्या! गर्दिन बिहे भनें। तर उहाँ झन् सिरियस भएर पो सम्झाउन थाल्नुभयो। समस्या छ, पढाउन सकिन्न भन्नुभएको थियो।’
सुनमायाले साथीसँग मिलेर पढ्नका लागि बजार जाने योजना बनाइसकेकी थिइन्। ‘पैसा दिए पनि दिनु, नदिए पनि नदिनु। म आफैं म्यानेज गर्छु र पढ्छु,’ उनले मनमनै सोचेको कुरा भन्न त सकिनन्। फरक शब्दमा त्यही कुरा सम्झाइन्। घरबाट सदरमुकाम लागिन्। रनिङ गर्छु भनेर घरमा पत्तोसम्म दिइनन्। कलेज पढ्न सदरमुकाम पुगेको हप्तादिन उनी कलेज पनि गइन्। त्यसपछि कजेल जान बन्द। कलेज नगएर उनले एकप्रकारको जाखिम भने लिएकै थिइन्।
‘बिहान साढे ६ बजे नै कलेज जानुपर्ने थियो। यता अभ्यास पनि बिहान नै हुने। बेलुकाको अभ्यास राम्रो नहुने,’ उनले भनिन्, ‘सबैले बिहान गर्छन्, म मात्र बेलुका अभ्यास गर्ने भएँ। त्यसपछि म कलेज जान छोडें,’ सुनमायाले सुनाइन्।
हरिबहादुर रोकाया नेपालकै प्रतिष्ठित धावक हुन्। उनले जुम्लाको सदरमुकाम खलंगामा कर्णाली स्पोर्टस क्लब चालाएका छन्। त्यहाँ धेरै खेलाडीहरुले खेल कौशल निखार्छन्। सुनमायालाई त्यसले मोहित बनायो। हरिकै घरमा कोठा लिएर बसिन्। उनको हठको अघि बुबाको पनि केही लागेन, त्यसैले छोरीको इच्छामा असहयोग गरेनन्।
घरबाट निस्किएको ३–४ महिनापछि धरानमा १० किलोमिटरको दौड थियो। त्यहाँ सहभागी हुन उनी पनि गइन् र तेस्रो भइन्। यो कुरा बुबा र परिवारका अरु सदस्यले पनि थाहा पाए। त्यसअघिका प्रतियोगिताहरुमा उनी पहिलो नै हुन्थिन्। यसपटक तेस्रो भएर गाउँ फर्किंदा सकारात्मक प्रतिक्रिया पाइनन्। ‘अब नसक्ने भैछौ, हार्न थालिछौ नि,’ गाउँलेहरुले भन्थे। सुनमायालाई गाउँलेको कुरा बिझ्यो। रिस पनि उठ्यो।
जतिपटक गाउँमा गइन्, उनले सुनिरहिन्– खेलमा लागेर कामै छैन। छोरी भएर दौडने होइन। गाउँघरमा खेलाडी बनेर खान सकिँदैन। पछि अर्को लाइनमा लाग्नैपर्छ। खेलाडीमा लागेर पछि बच्चा पाउन पनि सकिँदैन। पाठेघर खस्ने सम्भावना हुन्छ। अहिले बिहे नगरे पछि कसैले हेर्दैन।
यी कुराहरुले दिक्क बनाउँथ्यो सुनमायालाई। अहिले भन्छिन्, ‘यसो सुन्दा झट्ट रिस उठ्थ्यो नि। त्यसलाई भेटेर कुट्दिउँ भन्ने पनि लाग्थ्यो। फेरि माया पनि लाग्छ र भेटेर सम्झाउँ जस्तो पनि लाग्छ। कहिले सम्झाउने होला तिनीहरुलाई!’ त्यसपछि उनले निधो गरिन्, मैले यी कुरा सुन्नु हुँदैन। जसले जे भने पनि आफूलाई बलियो बनाएर मनमा नलिई अघि बढ्नुपर्छ भनेर आफूले आफैंलाई सम्झाउँथिन्। ‘भनोस् न त मान्छे नै हो, कुरा काटिहाल्छन् भनेर लिन्छु,’ उनी भन्छिन्। ती कुरा दौडबीचमा पनि उनी सम्झिन्छिन्। अझै दौडन मोटिभेसन मिल्छ।
जसले आफूलाई पछि तान्न खोजिरहेको छ। तिनीहरुलाई केही गरेर देखाउने उनको हुटहुटी हुन्छ। अभ्यासका कारण उनी दुब्ली देखिन्थिन्। खेलाडी भएपछि मेकअप गर्ने बानी पनि बसेन्। ‘ए! सुनमाया त बूढी भइछिन्,’ गाउँलेमा कुरा चल्थ्यो।
‘मेक अप गरेर खेलिँदैन, अनुहार राम्रो देखिँदैन। त्यसैले गाउँमा गएपछि लभ परेर दुब्लायो भन्ने पनि सुनें,’ उनी आफ्नो संघर्षका दिन सम्झिन्छिन्, ‘पख तिमीहरुलाई, म एकदिन केही गरेर देखाउँछु भन्ने लाग्थ्यो।’
घरमा त उनलाई दौडप्रति कति लगाव छ भन्ने कुरा सबैलाई छनक भएकै थियो। तर ती रनिङहरुमा आउने पैसा भन्दा पनि उनको खर्च धेरै भइरहेको थियो। त्यसको हिसाबकिताब उनलाई पनि पढाइयो। त्यसलाई आड दिने समाजमा चलेका भनाइ पनि थिए– पढ्नुपर्छ, खेलकुदमा पैसा हुँदैन। खेलाडी बनेर केही इलम हुँदैन। तर जे सुनिएको थियो त्यो त सबैले गरिरहेकै थिए– खेती, किसानी, पढाइ। त्यसैले सुनमायालाई त केही नयाँ गर्छु भन्ने थियो। उनी आफ्नै विचारमा अडिग रहिन्।
‘हरि गुरुले भन्नुहुन्थ्यो, खेलेपछि अलिअलि पैसा आउँछ। त्यसरी नै अघि बढ्नुपर्छ। मैले गुरुको भनाइ मानेँ,’ उनले भनिन्। समय बित्दै जाँदा अघि खिल्ली उडाउनेहरु अहिले सम्मान गर्न थालिसके। आजभोलि सुनमायाले पहिलेजस्तो सुन्नु पर्दैैन। बरु साथीसंगीले जिस्क्याउँछन्– कहिले बिहे गर्ने सुनमाया? उमेर गइसक्यो त।’ २३ वर्षे सुनमाया मुसुक्क हाँस्छिन् मात्रै।
सुनमायालाई दौडमा सहभागी बन्न कहिले साथीले सहयोग गर्थे त कहिले संस्थाहरुले। त्यसले धेरै समय पनि चल्दैन थियो। त्यसैले उनले अहिले एक स्पोन्सर पाएकी छन्– द नर्थफेस।
‘यो वर्षको अप्रिलतिर मात्र नर्थफेसको टिममा ज्वाइन भएको हो। उहाँहरुले नै अभ्यास गराउनु भयो। उहाँहरु प्रोफेसनल हुनुहुन्छ,’ उनले भनिन्। अहिले सुनमायालाई अष्ट्रेलियाका प्रशिक्षक एन्डी डुबोसिसले प्रशिक्षण गराइरहेका छन्। एन्डीले सुनमायालाई विदेशबाटै ह्वाट्सएपमा टास्क दिन्छन्। उनले त्यसलाई पूरा गर्नुपर्छ।
‘त्यो टास्कहरुबाट जुम्लामा तयारी गरेँ। हप्तामा एकपटक ह्वाट्सपमा प्लानहरु आउँथ्यो। त्यो प्लान पूरा रेपछि रिभ्यु दिनुपथ्र्यो। त्यो सकिएपछि अर्को प्लान दिनुहुन्थ्यो,’ उनले आफ्नो अभ्यासबारे सुनाइन्।
त्यसो त कोभिड–१९ महामारीले थलिएको विश्वमा धेरै प्रतियोगिता भएका थिएनन्। भर्खर सुरु हुँदै थिए। त्यसैबीच एक प्रतियोगिता आयोजना भयो। साढे एक वर्षपछि उनले प्रतियोगिता खेल्न पाउने भइन्– यूटीएमबी बाइ थाइल्यान्ड। त्यहाँ विश्वभरिका धावक थिए।
‘त्यहाँको रोड नेपालको जस्तै नै थियो। नेपालको रोड धेरै भिरालो हुन्छ त्यहाँको चाहिँ कम भिरालो। त्यसैले नेपालमा अभ्यास गरेर त्यहाँ दौडन सजिलो भयो,’ उनले प्रतियोगिताबारे भनिन्। त्यहाँ सुनमायाले ११० किलोमिटरमा सहभागिता जनाएकी थिइन्। दक्षिणी थाइल्यान्डको जंगल, खोला, पहाड, उकालो, ओरालो सबै दौडँदै त्यो कठिन यात्रा १४ घण्टा ५३ मिनेट एक सेकेन्डमा पूरा गरिन्।
त्यो यात्रालाई कसरी सम्झिनुहुन्छ? प्रश्न खस्न नपाउँदै उनी जवाफ दिन्छिन्, ‘सहभागीले आफूलाई चाहिने सबै बोक्नुपर्छ। मैले चाहिँ एकैपटक धेरै खानेकुरा बोक्नु परेको थिएन। त्यहाँ १४ चेक प्वाइन्ट थिए। नेपालबाट मलाई सहयोग गर्न प्रिति खत्री जानुभएको थियो।’
हरेक १० किमीमा चेक प्वाइन्ट राखिएको हुन्छ। प्रिति र नर्थफेसको टिम तोकिएको चेक प्वाइन्टमा हुन्थे। खानेकुरामा इनर्जी ड्रिंक्स, चकलेट, जुस राइस, थुक्पा आदि हुन्छ। त्यहाँ के खाने भन्ने दुई–तीन दिनअघि नै टिमले तय गरिसकेको थियो।
उनी अघि नै थिइन्। तर धेरै केटाहरु अघि गइसकेका पनि थिए। उनीहरु कुन विधामा दौडिरहेका थिए, उनलाई हेक्का नै भएन। ‘अन्तिमको दुई किलोमिटर अघि एकजना मानिस दौडिरहेका थिए। लाग्यो– सय वा ७० किमीको लागि होला। तर त्यो मानिस पुरुषतर्फको दोस्रो रहेछ,’ उनले सम्झिइन्। पुरुषतर्फ दोस्रो भएका ती पुरुषभन्दा सुनमाया चार सेकेन्डले मात्र पछि परेकी थिइन्। अर्थात् आफ्नो विधाको समग्रमा उनी तेस्रो भइन्। महिलातर्फ चाहिँ उपाधि नै जितिन्।
‘२०२१ को एउटै प्रतियोगिता त थियो। त्यसमा पहिलो हुँदा लास्टै ह्याप्पी भएँ,’ उनी हाँस्दै सुनाउँछिन्, ‘स्पोन्सरको साथ र सपोर्ट पाएर एकदमै राम्रो गर्न सकेँ। खुसी लाग्यो। अनि टिमसँग खुसी मनाएँ।’
उनीसँग त्यही विधामा दौडिरहेकी थिइन् अर्की अल्ट्रा धाविका मीरा राई। दुई घण्टाले पछि परेकी राई दोस्रो भइन्। एक समयमा मीरा राईजस्तै बन्ने धोको राखेकी बुढाले मीरालाई नै जितिन्। जितले मात्तिएकी छैनन् सुनमाया। उनलाई थाहा छ– अझै धेरै गर्नु छ। ‘मलाई अझै धेरै गर्नुपर्ने छ। विश्वमा धेरै बलिया केटीहरु छन्। तिनीहरुलाई जितेपछि बल्ल केहि गरेँछु कि भन्ने लाग्नेछ,’ उनले भनिन्।
उनले धेरै विदेशी प्रतिस्पर्धामा सहभागिता जनाइसकेकी छन्। उनको सबैभन्दा पहिलो विदेशमा भएको प्रतियोगिता थियो लान्टू ५० अल्ट्रा स्काई म्याराथन हङकङ २०१६। जहाँ उनी दोस्रो भएकी थिइन्।
सबैभन्दा धेरै चुनौतीपूर्ण त्यही लागेको थियो उनलाई। ‘हङकङको रेस पहिलो थियो नि त। दौडने त नेपालको जस्तै हो तर त्यहाँको हावापानी मिल्दैन थियो। नयाँ ठाउँ, त्यसमाथि भाषा नमिलेर अप्ठ्यारो भयो,’ उनले भनिन्। त्यसपछि उनले ट्रेल रेसबारे धेरै कुरा थाहा पाइन्। ठाउँ, सुविधा, असुविधाबारे जानिन्। कसरी दौडने र कति दौडने, वातावरण कस्तो सबै कुरा त्यो रेसपछि थाहा हुँदै गयो। ‘पछिपछि सबै थाहा भएपछि त सजिलो लाग्यो। योजनाहरु पनि बलियो बन्दै गए,’ उनले भनिन्।
त्यसपछि उनले चीनको यादिङ स्काइरेस, फ्रान्सको मोन्ट ब्लांक, ओमन यूटीएमबीलगायतका प्रतियोगितामा सहभागिता जनाइसकेकी छन्। ती सबै प्रतियोगितामा उनको दौड सम्झनलायक छन्।
दौडले जीवनलाई एउटा लयमा राखेको बेला विश्वमा एउटा आपत आइपर्यो। त्यसले उनलाई पनि चिन्तामा पुर्याइदियो। कोभिडको कारण न प्रतियोगिता भए न अभ्यास नै गर्न पाइयो। ‘अभ्यास गर्न पनि मन नलाग्ने। प्रतियोगिता कहिले हुने हो भन्ने पनि थाहा नहुने। कोरोनाले स्वाथ्यमा दीर्घकालिन असर गर्छ भन्ने खालका समाचारहरु आइरहेका थिए। आफ्नो स्वास्थ्यमा त असर पर्ने होइन भन्ने सोचाइहरु पनि आउँथे,’ उनले त्यो अप्ठ्यारो समयबारे सुनाइन्।
२०२० को मार्चबाट रोकिएका खेल २०२१ को डिसेम्बरमा सुरु हुन थाले। थाइल्यान्डको प्रतियोगिताबारे सुनेर खुसी लाग्यो। शरीरले लकडाउनअघिकै उच्च लय समात्यो, उनले सबै महिला प्रतिस्पर्धीलाई हराइन्। ‘लामो समायपछि प्रतिस्पर्धामा उत्रिँदा सोचेको थिएन कि पहिलो हुन्छु। तर भएँ,’ उनले भनिन्।
लामो र छोटो दौडको तुलना
उनी सुरुबाटै अल्ट्रा रेस धाविका बनेकी भने होइनन्। स्कुलमा र त्यसपछि उनी छोटो दूरीमा दौडिन्थिन्। ‘मैले छोटो दूरीको रेसमा धेरै दौडिसकेको छु। देशमा पनि देशबाहिर पनि। छोटो रेसमा त्यति टाइम हुँदैन कि दौडको बीचमा खान र सोच्न पाइयोस। सतिसक्दो छिटो दौडिन फोकस हुन्छ। अलिकति ढिलो भयो भने पनि अर्कोले उछिन्ने डर हुन्छ,’ उनी तुलना गर्छिन्।
लामो रेसमा चाहिँ दिमाग पनि उत्तिकै प्रयोग गरेर दौडिनुपर्ने हुन्छ। ‘११० किमी दौडिँदैछौं भने छिटो दौडिनु पनि हुँदैन। ढिलो भयो भने पनि अरु गइहाल्छन्। सुरुमै छिटो गर्यो भने पनि दूरी पार गर्न सकिँदैन। त्यसैले आफ्नो क्षमता बुझेर, सोचेर दौडिनुपर्छ। लय मिलायो भने सकिन्छ,’ उनले भनिन्। जतिबेला उनको दौड सुरु भएको थियो। त्यतिबेला अल्ट्रा रेस भन्ने उनलाई थाहै थिएन। दौडका लागि काठमाडौं आउँदा मात्रा उनले चाल पाइन्।
‘जुम्लामा हुँदा हरि रोकाया गुरुले नै दौडकै एक पाटो हो भनेर उकालो ओरालो पनि दौडाउनु हुन्थ्यो। पछि काठमाठौं आएर थाहा पाएँ ट्रेल रेसमा त्यस्तो हुँदोरहेछ,’ उनले भनिन्, ‘यस्तो पनि रेस हुनेरहेछ है भनेर पहिलोपल्ट थाहा पाएको। अभ्यास चाहिँ गरिरहेकै थिएँ,’ सुनमायाले सुनाइन्।
उनको हिलो पहिलो ट्रेल रेस चाहिँ गोदावारी ट्रेल रेस थियो। मनास्लु दोस्रो अनि हङकङको तेस्रो। ‘ती रेसहरुमा अभ्यास कसरी गर्ने भनेर सिकेँ। ट्रेलमा दौडिँदा के गर्नुपर्ने रहेछ भनेर मैले सिकेँ। त्यसले त आजसम्म पनि सहयोग गरिरहेको छ,’ उनले भनिन्।
अबचाहिँ भविष्य सुरक्षित भयो भन्ने लाग्छ? ‘लाग्दैन, बरु अहिले आएर त मैले केही गरेकै रहेनछु, यो त मेरो सानो कोसिस मात्र रहेछ। एक स्टेप बढ्दैछु। अझै धेरै गर्नु पर्ने रहेछ भन्ने लाग्छ।’
प्रदर्शन जति राम्रो गर्यो, त्यति समयसम्म नर्थफेस उनको साथमा रहनेछ। ‘गेम, डाइट पनि पाएको छु। बाहिर जाने खर्च पनि स्पोन्सर छ। अहिले चाहिँ अलि व्यावसायिक भएँ कि भन्ने लाग्छ,’ उनले भनिन्।
उनको सुरुआति दिनहरुको तुलनामा अहिले धेरै फरक भइसकेको छ। पहिला रेस जितेको पनि धेरैलाई थाहा हुन्थेन। गयो, खेल्यो, जित्यो, फर्कियो मात्र हुन्थ्यो। तर थाइल्यान्डको रेसको चाहिँ चर्चा धेरै भयो। ‘जुन खेल अहिले खेलेँ पहिले पनि खेलिरहेको हो। अहिले जुन चर्चा भइरहेको छ, त्यसले गर्दा बल्ल आएर अलिअलि गरेँछु भन्ने लागिरहेको छ। मेहनतको फल चाहिँ देखियो जस्तो लाग्छ,’ उनले भनिन्।
दौडमा लाग्नका लागि उनलाई प्रेरक मानिस भनेर कोही पनि छैन। एक समय जब बिहेको प्रस्ताव आइरहेको थियो, त्यसलाई छल्न पनि उनले दौडलाई माध्यम बनाएकी थिइन्। अब त उनी व्यावसायिक भइसकिन्। तैपनि समाजको धारणा नबदलिएकोमा चिन्ता लाग्छ। ‘यहाँ खेलाडीलाई प्रोत्साहन नै मिल्दैन। बाहिर देशमा खेलाडीलाई प्रोत्साहन हुन्छ। यहाँ त इनर्जी नै डाउन हुने गरेर भन्छन्,’ सुनमायाको गुनासो छ।
विदेशी खेलाडीको डाइट, जीवनशैली र सामाजिक प्रतिष्ठा राम्रो हुन्छ। त्यो नेपालमा अझै हुन सकेको छैन। ‘हामी ५–६ सयका जुत्ता लगाएर दौडिरहेका हुन्छौं, विदेशका खेलाडी २०–२५ हजारको जुत्ता लगाएर दौडिन्छन्। इनर्जी दिने मान्छे पनि हुन्छन्,’ उनले अनुभव सुनाइन्। त्यसैले खेल्न चाहनेलाई हतोत्साहित बनाउन नहुने सुझाव दिन्छिन् उनी। आफूभन्दा जुनियरलाई उनको सुझाव छ– दैनिक अभ्यास गर्नुपर्छ। जसले जे भने पनि आफ्नो लक्ष्यमा शतप्रतिशत केन्द्रित हुनुपर्छ।’
अहिले सुनमायाको परिवार उनको सफलता देखेर दंग छन्। उनको नामले उनको गाउँ, जिल्ला, प्रदेशमात्र होइन, देश नै गौरवान्वित छ। सुनमाया बुबाआमालाई धन्यवाद दिन्छिन्– उनले उमेर नपुग्दै विवाह गर्नु परेन।
धैर्यका साथ आफ्नो कर्ममा लागिरहिन्। भविष्यमा के पाइएला भनेर सोचिनन्। कर्णाली क्लबले ट्रयाकसुट नदिएसम्म कुर्था–सुरुवाल र ब्लाउजमै दौडिरहिन्। एकदिन देशले चिन्ने धाविका बन्छु भनेर अगाडि बढिरहिन्। ‘जब मैले एसएलसी सकें, त्यसपछि चाहिँ रनिङमै लाग्छु भनेर आफैंसँग संकल्प गरें। तर रनिङ गर्दा पढाइ नै ड्रप गर्नुपर्ला भन्ने चाहिँ सोचेको थिइनँ,’ सुनमाया भन्छिन्। व्यावसायिक रनिङको सुरुको बिन्दुचाहिँ कुन होला? खोज्दै जाँदा सुनमायालाई लाग्छ– राष्ट्र्पति रनिङ शिल्डमा सहभागी गराउनका लागि स्कुलमा आएको चिठी थियो कि!
भिडियोमा