शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • देउवा-कोइराला समूहबीच 'द्वन्द्व' सुरु, गच्छदारसहित ३ सयविरुद्ध पक्राउपुर्जी [२०७८-९-२१]

देउवा-कोइराला समूहबीच 'द्वन्द्व' सुरु, गच्छदारसहित ३ सयविरुद्ध पक्राउपुर्जी [२०७८-९-२१]

'केन्द्रीय सदस्यहरुलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो? सो कुराको जवाफ दिन सभापति देउवासँग जोडदार माग गर्छौं,' बैठकलाई सम्बोधन गर्दै डा. कोइरालाले भने, 'पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन सकेको छैन। यो शुभसंकेत होइन।'
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा गरेको मनोनयप्रति डा शेखर कोइराला समूहले गम्भीर आपत्ति जनाएको छ। बुधबार बसेको कोइराला समूहको बैठकले पार्टीका केन्द्रीय सदस्य  मनोननयका आधारका विषयमा प्रश्न उठाउँदै सभापति देउवासँग जवाफ मागेको हो। 

triton college

'केन्द्रीय सदस्यहरुलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो? सो कुराको जवाफ दिन सभापति देउवासँग जोडदार माग गर्छौं,' बैठकलाई सम्बोधन गर्दै डा. कोइरालाले भने, 'पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन सकेको छैन। यो शुभसंकेत होइन।' 

उनले पार्टी सभापतिलाई मन पर्ने र मन नपर्ने आधारमा व्यक्तिको छनौट भएमा दुर्घटना निम्तिन सक्ने चेतावनी समेत दिए।

नेता कोइरालाले पार्टीका निष्ठावान, इमान्दार र त्यागी नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिए। पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए आगामी निर्वाचनहरु असहज हुन सक्ने उनको भनाई छ। 

नेता कोइरालाले आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्ने बताए। कांग्रेसलाई एक्लै लडेर विजयी बनाउनु पर्नेमा उनले जोड दिए। 

Metro Mart
vianet

कोइराला समूहको बैठकमा महामन्त्री गगन थापाले पार्टी भित्र भाग नभइ न्याय चाहेको बताएका छन्। पार्टीमा नेताहरूको वरीयताबारे सभापति देउवालाई विगत सम्झाएको भए पनि अटेर गरेको बताए। अप्ठ्यारो अवस्थामा भएको महाअधिवेशनमा  शेखर समूहको नैतिक रुपमा जित भएको उनको भनाइ छ। 

काठमाडौंस्थित एक होटल बसेरामा बसेको कोइराला समूहको बैठकमा १४ औँ महाधिवेशनको समिक्षा गर्नुका साथै सभापति देउवाले चालेका कदमका विषयमा पनि छलफल भएको थियो। 

कांग्रेस उपसभापतिविरुद्ध पक्राउ पुर्जी

बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले पूर्व उपप्रधानमन्त्री वजयकुमार गच्छदारसहित तीन सय जनालाई पक्राउपूर्जी जारी गरेको छ।

अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको बताउँदै ब्युरोले तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी गरेको जनाएको छ। ब्युरोका निर्देशक धिरजप्रताप सिंहले पक्राउ पूर्जी जारी भएकाहरू ‘हाइप्रोफाइल’ व्यक्तिसमेत रहेको बताएका छन्। 

तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायत रहेको बताएका छन्। 

उनले तीन सय बढीको हकमा पक्राउ पूर्जी जारी भएकाले आफूहरू त्यसमा लागिरहेको उनले जानकारी दिए। तर, ब्युरोले‘हाइप्रोफाइल’ लाई पक्राउ नगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाने तयारी गरेको बुझिएको छ। बालुवाटार जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले थुनामा छन्। बाँकी कोही पनि अहिलेसम्म पक्राउ परेका छैनन्।

सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजिक कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन जारी गरेका हुन्। 

न्यूनतम साझा कार्यक्रमको कार्यन्वयनका साथै, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वनका विषयमा प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सो क्रममा सचिवहरूले मन्त्रालयबाट भएगरेका काम र बाधाअप्ठ्याराका बारेमा रिपोर्टिङ गरेका छन्।कार्यक्रममा मन्त्रीहरू र मन्त्रालयका सचिवहरूको उपस्थिति थियो।

प्रचण्ड देशकै अभिभावक : देव गुरुङ

नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पुष्पकमल दाहाल प्रचण्ड पार्टी र देशकै अभिभावको रुपमा रहेकोले उनलाई नै निरन्तरता दिएको बताएका छन्। 

नेता गुरुङले पार्टी र  देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका हुन्। 

उनले पार्टीमा अन्य पदाधिकारीहरु कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरुलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए। बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरुको बारेमा टुंगो लगाउने पनि जानकारी दिए। 

नेता गुरुङले वर्षमान पुन (अनन्त) र  जनार्दन शर्मा (प्रभाकर)को महासचिवमा दाबेदारी आइरहेकोले सहमतिमा लैजाने प्रयास भइरहेको बताए। उनले सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरुबाट सहमतिमा जाने कुरा चलेकोले महासचिवमा आफ्नो नाममा प्रश्ताव आएको पनि जानकारी दिए। 

नेता गुरुङले आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पारे। 

विद्यालय शिक्षामा ठूलो सुधार जरुरी छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने बताएकी छिन्। बुधबार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिहरुसँगको भेटघाटमा राष्ट्रपति भण्डारीले आजको आवश्यक्ता भनेको विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने रहेको बताइन्। 

अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनिकरण गर्न समाजिक संघसंस्थाहरुको ठूलो भूमिका रहेकाले सामाजिक संस्थाहरुले सरकारसँग मिलेर समाजका विकृति, विसंगतिहरु समाधान गर्नुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले बालबालिकाहरुले सर्वाङ्गिण विकास पाउन र सकुशल अगाडि बढ्न शिक्षामा अग्रगामी कदम चाल्न आवश्यक रहेकोमा जोड दिइन्। 

राष्ट्रपति भण्डारीले समाजमा विकृति र विसंगति नहोस् भन्नको लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताइन्। उनले पश्चिममा छाउपडीको समस्याले विभिन्न दुर्घटनाहरु निम्त्याइरहेको भन्दै यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडी भत्काउन आवश्यक रहेको बताइन्। उनले राष्ट्रपति महिला उत्थान कार्यक्रम महिलाहरुका लागि प्रभावकारी भइरहेकाले यस्तै अन्य कार्यक्रम ल्याएर समाज विकासमा लाग्नुपर्नेमा जोड दिइन्। 

नेपालमा लगानी भित्र्याउन एनआरएनएलाई पूर्वराष्ट्रपतिको आग्रह

पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।  

पूर्वराष्ट्रपति यादवले नेपालको भूबनावट नै कृषि, जलविद्युत र पर्यटन क्षेत्रको विकासका लागि अनुकूल रहेको उल्लेख गर्दै सोही क्षेत्रमा लगानी गरेर सहज ढंगले प्रतिफल लिन गैर आवासीय नेपालीहरुलाई अनुरोध गरेका हुन्। बुधबार आइडिया फर नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपालको स्रोतआधार अनुसारको क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने बताए। पूर्व राष्ट्रपति यादवले नेपालको प्रकृतिमैत्री क्षेत्रमा लगानी गरेर नेपालीहरुलाई स्वदेशमै रोजगार बनाउन सहयोग गरिरहेको भन्दै आइडिया फर नेपालको पनि प्रशंशा गरे। 

कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रकृतिमैत्री क्षेत्रमा लगानी गर्दा वातावरणमा समेत प्रतिकूल असर नपर्ने भएकाले यस क्षेत्रमा लगानी बढाउन आग्रह गरे। 

ओलीको प्रवचन

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन्।  

एमाले अध्यक्ष ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढदामात्रै इतिहासमाथि न्याय हुने पनि उनको भनाइ  छ। संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उनले हाम्रा पूर्वजहरुसँग अरु कसैले तुलना हुन नसक्ने बताए। उनले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको समेत उनले दाबी गरे।  

एमाले अध्यक्ष ओलीले हाम्रा पूर्वजहरुले यो भूमिलाई ज्ञान भूमि, तपो भूमि भनेको सही भएको पनि बताए। उनले हाम्रो संस्कृतिले हामीलाई विषरहीत भान्साको उपहार दिएको बताए। 

संक्रमितको संख्या बढेको बढ्यै

नेपालमा पछिल्लो ४ दिन यता दिनहुँ कोरोना भाइरस संक्रिमतको संख्या बढेको छ। बुधबार यो क्रम ह्वात्तै बढेको छ। 

आज बुधबार मात्रै थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन र पीसीआर विधिबाट १०  हजार २६७ नमूना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको हो। आइतबार २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने सोमबार ३२६, मंगबार ३९३ जनामा संक्रमण पुष्टि भएको थियो। आइतबार २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने सोमबार ३२६, मंगबार ३९३ जनामा संक्रमण पुष्टि भएको थियो।   

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ११ हजार ६०१ पुगेको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २३९ जना कोरोना संक्रमण मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार हाल देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित छन्।   

१५ महिना थन्किएको रेल चलाउने तयारी

भारतसँग खरिद् गरेपछि त्रिपाल ओढाएर राखिएको रेल करिब १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो। 

मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ। सरकारले गत बर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरीद गरेको दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको बताउदैं प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशका प्रधानमन्त्री बीचको छलफलपछि उद्घाटनको मिति तय हुने जानकारी दिइन्। 

प्रधानमन्त्री देउवाले यही पुस २५ देखि २७ सम्म भारत भ्रमण गर्ने तयारी भएको छ। यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव ई. रविन्द्रनाथ श्रेष्ठले पनि भारत सरकारको तर्फबाट उद्घाटनको मितिको प्रतिक्षामा रहेको बताए। उनले रेल सञ्चालनको लागि हाल दैनिक रुपमा ट्रयाक परिक्षण भइरहेको पनि बताए। 

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव ई. श्रेष्ठले केही नदीमा आन्तरिक जल मार्ग विकासको लागि काम भएरहेको पनि जानकारी दिनुभएको छ। उहाँले चालु आर्थिक बर्षभित्रै कर्णाली, कालिगण्डकी, कोशी, नारायणी र त्रिशुली नदीमा चालु आर्थिक बर्षभित्रै जल मार्ग सञ्चालनको लागि सम्भाव्यताअध्ययन गरी यात्रा गर्नका लागि प्रयास गरि रहेको बताए। 

नेप्सेको उकालो यात्रामा ब्रेक

तीन दिनयता लगातार रुपमा उच्च अंकमा बढेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार बे्रक लागेको छ। तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दुमाथि पुगेको नेप्से परिसूचक आज ३० अंकले गिरावट आएको छ। 

साताको पहिलो कारोबार आइतबार ६० अंकले बढेको नेप्से सोमबार पनि त्यसैको निरन्तरता स्वरुप ३२ अंकले बढेको थियो भने आइतबार र सोमबारको  भन्दा मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेको थियो। तर आज नेप्से परिसूचक ३०.७५ अंकले गिरावट आएर २ हजार ६४९.२० विन्दुमा झरेको छ।  

बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको शेयर कारोबार भएको छ। नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत र फाइनान्स बाहेक अन्य सबै उपसमूह राताम्मे भएको छ।

न्युजिल्यान्डविरुद्ध बंगलादेशको जित

न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेष्ट क्रिकेटमा न्यूजिल्याण्डमाथि ऐतिहासिक जित निकालेको छ। 

विश्व टेस्ट च्याम्पियन न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै बंगलादेशले इतिहास रचेको हो। जितसँगै बंगालदेशले २ खेलको श्रृंखलामा १–० को अग्रतासमेत बनाएको छ। क्रिकेटका सबै प्रकारका फर्म्याटमा न्यूजिल्याण्डविरुद्ध बंगलादेशको यो पहिलो जित हो।

न्यूजिल्याण्डले अन्तिम दिनको खेल ५ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको अवस्थाबाट सुरु गरेको थियो। तर बाँकी ५ विकेट न्यूजिल्याण्डले २२ रनमा गुमायो। झिनो रन बनाएको न्यूजिल्याण्ड बंगलादेशसँग पहिलो पटक पराजित भयो।

प्रकाशित: Jan 05, 2022| 20:01 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।