काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन सरकारले आपसी तालमेल गर्दै जाने बताएका छन्। सिंहदरबारमा बुधबार मन्त्री र सचिवसँगको छलफलमा निर्वाचन निष्पक्ष हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले यस्तो धारणा व्यक्त गरेका हुन्।
‘निर्वाचन आयोगले निर्वाचनको तयारी गरिराखेको छ। निर्वाचनको सम्बन्धमा हामीले आयोगलाई सक्दो सहयोग गर्नुपर्छ। निष्पक्ष निर्वाचन होस् भन्ने हाम्रो चाहना रहेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचनमा गठबन्धनको सरकारले आपसी तालमेल गर्दै जानेछौं।’ देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका थिए।
न्यूनतम साझा कार्यक्रमको कार्यन्वयनका साथै, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वनका विषयमा प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। उनले भने, ‘सरकारको न्यूनतम साझा कार्यक्रम, विकासका प्राथमिकता र सुशासन प्रवर्द्धनमा ध्यान केन्द्रित गर्नुहोस्।’