काठमाडौं- नेकपा माओवादीले आज अध्यक्षसहितका पदाधिकारीहरु चयन गर्ने भएका छन्।
महाधिवेशन सकिएको भोलिपल्ट बस्न लागेको केन्द्रिय कमिटीको बैठकले अध्यक्षसहितका पदाधिकारीहरु चयन गर्ने भएको हो। केन्द्रीय सदस्य कृष्णबहादुर महराका अनुसार सोमबार दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी चयन गरिनेछ।
हिजो सम्पन्न महाधिवेशनले पदाधिकारी चयन गर्न सकेको थिएन्। पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिइएको थियो। माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन्।
अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने करिब निश्चित भएपनि अन्य पदमा भने सहमति जुट्न सकेको छैन्। माओवादीको आठौं महाधिवेशन हिजो २३६ केन्द्रीय सदस्य चयन गरेर सकिएको थियो।
भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक
राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी बैठकमा कुन दलले राष्ट्रिय सभामा कति सिट लिने भन्ने विषमया छलफल भइरहेको नेताहरुले बताएका छन्। राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका दलहरूले तालमेल गर्ने तयारी गरेका छन्। यसैबारे अन्तिम टुंगोमा पुग्न बैठक बसेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चा छन्। यही माघ १२ मा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ। भोलि उम्मेदवारहरूको उम्मेदवारी दर्ता गर्ने चुनावी कार्यतालिका छ।
कांग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गर्न केन्द्रीय समिति बैठक बोलायो
नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गर्न केन्द्रीय समिति बैठक बोलाएको छ। सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले राष्ट्रिय सभा उम्मेदवार छान्ने छ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा हालै सम्पन्न महाधिवेशनका विषयमा छलफल हुनेछ। आजको बैठकमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए।
बैठकले मुख्यगरी राष्ट्रिय सभाका उम्मेदवारहरुको टुंगो लगाउने उनले बताए। माघ १२ गते १९ सांसद्का लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। कांग्रेसले उम्मेदवार छान्नका लागि आन्तरिक तयारी पनि थालेको छ।
मतदाता नामावली संकलन अभियानमा ७ लाख ९३ हजार ७ सय ५५ मतदाता थपिए
निर्वाचन आयोगले पछिल्लोपटक चलाएको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा ७ लाख ९३ हजार ७ सय ५५ मतदाता थपिएका छन्।
निर्वाचनलाई लक्ष्य गरेर मंसिर १७ देखि जारी अभियानमा संकलित तथ्यांकमा युवाको संख्या मात्रै करिब ६ लाख रहेको निर्वाचन आयोगले जनाएको छ। यसअघि कुल मतदाता संख्या १ करोड ६० लाख हाराहारी थियो। आयोगले स्थानीय तहमै जनशक्ति परिचालन गरी फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेको थियो।
अहिले पनि २ सय २५ स्थानमा नामावली संकलन जारी छ। आयोगले स्थानीय तहको निर्वाचन आउँदो वैशाख १४ देखि २२ सम्म गर्न सरकारलाई प्रस्ताव गरेको छ। प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि ०७९ फागुन २० भित्र गरिसक्नुपर्नेछ।
२०२१ मा १ लाख ५० हजार ९ सय ६२ पर्यटकले गरे नेपाल भ्रमण
सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०२० को तुलनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ८० हजार कम अर्थात ३४ प्रतिशतले कमी हो। सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
कोभिड-१९ का कारण पछिल्लो २ वर्ष देखि ओरालो लागेको पर्यटन क्षेत्र सन् २०२१ मा झन ओरालो लागेको हो। सन् २०२० को तुलनामा नेपालमा ८० हजार पर्यटक कम आएका छन्।
सन् २०२१ मा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा बढी दक्षिणी छिमेकी मुलुक भारतबाट ६४ हजार ६ सय ७३, दोस्रोमा अमेरिकाबाट २२ हजार ८ सय ५३ र तेस्रोमा बेलायतबाट ८ हजार ७ सय ८० ले नेपाल भ्रमण गरेका थिए।
'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज सातौं चरणको अन्तिम खेल
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज सातौं चरणको अन्तिम एक खेल हुँदैछ।
काठमाडौँ स्थित त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुईटोली बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। नवप्रवेशी क्लब सातदोबाटो आज तेस्रो जितको खोजीमा रहेको छ।
सातदोबाटो ६ खेलमा ८ जोडेर सातौं स्थानमा रहेको छ। शेर्पा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ।सातदोबाटोलाई हराएर शेर्पा पनि शीर्ष पाँचमा उक्लने योजनामा रहेको छ। लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।