काठमाडौं- सिंहदरबार प्रशासनका कतिपय मामिलामा हस्तक्षेपकारी सक्रियताको आरोप खेपिरहेकी आरजू राणा देउवा प्रधानमन्त्री शेरबहादुर देउवाको 'दिल्लीदूत'का रुपमा सक्रिय हुन थालेकी छन्। व्यक्तिगत कामका लागि दिल्ली गएको भनिए पनि आरजूले आइतबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन्। देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि आरजू र चौथाइवालेबीचको यो दोस्रो भेट हो।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएको करिब दुई सातापछि आरजू राणा देउवा पुस ११ गते नयाँदिल्ली पुगेकी हुन्। यद्पि आरजू भाइ भूषण राणाको उपचारका लागि दिल्ली गएको बताइएको छ।
देउवा प्रधानमन्त्री भएको डेढ महिनापछि नेपाल भ्रमणमा आएका चौथाइवालेसँग आरजूले बालुवाटारमा पहिलो भेट गरेकी थिइन्। केपी ओलीको बहिर्गमन र शेरबहादुर देउवाको सत्ता आरोहणको करिब डेढ महिनापछि भारतीय सत्तारुढ दल भाजपाका विदेश प्रमुख चौथाइवालेको पाँचदिने नेपाल भ्रमणका आएका थिए। उनी प्रधानमन्त्री देउवासहित मुख्य राजनीतिक दलका प्रमुख र दोस्रो तहका नेताहरूसँग बाक्लो भेटघाट गरी फर्किए। सोही भ्रमणका क्रममा भदौ ६ गते चौथाइवालेलाई आरजूले 'राखी' लगाइदिएपछि 'राखी कूटनीति' का रुपमा व्याख्या गरिएको थियो।
पटकपटक भारतीय सत्तारुढ दलका प्रतिनिधिसँग भएको आरजूको भेटवार्तालाई यसअघि अमेरिकी तथा पश्चिमा शक्तिकेन्द्रहरुसँग नजिक मानिएका देउवाको दिल्ली साइनो सघन बनाउने अभ्यासका रुपमा हेरिएको छ।
पटकपटक भारतीय सत्तारुढ दलका प्रतिनिधिसँग भएको आरजूको भेटवार्तालाई यसअघि अमेरिकी तथा पश्चिमा शक्तिकेन्द्रहरुसँग नजिक मानिएका देउवाको दिल्ली साइनो सघन बनाउने अभ्यासका रुपमा हेरिएको छ। आरजू र शेरबहादुरको विवाहको चाँजोपाँजो तत्कालीन अमेरिकी राजदूत जुलिया चाङले मिलाइदिएको, देउवाले लन्डनमा अध्ययन गरेको लगायतका विषय समेटेर उनलाई अमेरिका तथा पश्चिमा मुलुक नजिक नेताका रुपमा चित्रण गरिन्छ। तर, उनकी पत्नी आरजू भने पहिलेदेखि नै भारतनजिक मानिन्छन्। भारतको पञ्जाब विश्वविद्यालयबाट स्नातकोत्तर र पीएचडी गरेकी आरजू भारतसँग पहिलेदेखि नै नजिक थिइन्।
२०५० सालमा राप्रपा महाधिवेशनमा आएका तत्कालीन भारतीय नेताहरुलाई याक एन्ड यतीमा गएर भेट्ने पहिलो महिला आरजू नै थिइन्। त्यस समय आरजूकी आमा प्रतिभा राणा राप्रपा नेता थिइन्। अहिले भारतसँग पनि देउवाको सम्बन्ध विस्तारमा आरजू दूतका रुपमा देखिएको कूटनीतिज्ञहरुले बताउने गरेका छन्। ओलीको कार्यकालमा भारतसँग नेपालको सम्बन्ध बिग्रिएको चर्चा भइरहेका बेला आरजूले दुई मुलुकबीचको सम्बन्ध विस्तारमा भूमिका खेल्नु सकारात्मक भएको कूटनीतिज्ञ दिनेश भट्टराई बताउँछन्।
प्रधानमन्त्री पत्नी र राजनीतिमा नै सक्रिय भएको हिसाबमा दिल्लीमा राजनीतिक भेटघाट हुन पनि स्वाभाविक रहेको उनले बताए। उनले भने, 'यसअघि भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले नेपाल आएको समयमा आरजू म्याडमले राखी लगाइदिएर सम्बन्ध थप बलियो र आत्मीय खोज्नुभएको थियो। अहिलेको भेट पनि त्यसैको निरन्तरता होला।'
आरजू प्रधानमन्त्रीको दूतका रुपमा प्रस्तुत हुनुभएको हो भन्ने प्रश्नको जवाफमा उनले भने, 'दूतका रुपमा भन्दा पनि भारतीय पक्षले आफ्नो कुरा सीधै प्रधानमन्त्रीसम्म पुर्याउने व्यक्ति भेट्न पाउँदा आफ्नो सन्देश दिन खोजेको देखिन्छ।'
कांग्रेस महाधिवेशनअघि आरजूकै सल्लाहमा प्रधानमन्त्री देउवाले डा. प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय टोली भारत भ्रमणमा पठाएको बताइएको थियो। महत नेतृत्वको टोलीले भारतीय सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासहितका नेताहरु, भारतीय विदेशमन्त्री एस जयशंकर र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतसँग भेट गरेको थियो। उक्त भ्रमणलाई कांग्रेसले पार्टी-पार्टीबीचको सम्बन्ध सुधारका रुपमा भएको बताए पनि देउवाको महाधिवेशन तयारी र भारतको साथको खोजीका रुपमा भएको बताइएको थियो। भाजपाका नेताहरुलाई भेटेर पार्टीको सम्बन्ध विस्तार भनिए पनि नेपाल हिन्दू राज्य हुनुपर्छ भन्दै अभिव्यक्ति दिने योगी आदित्यनाथ र उत्तराखण्डमा रहेको भारतको पशुपति भनेर चिनिने बाबा विश्वनाथको मन्दिर भ्रमण देउवाको हिन्दूप्रतिको प्रतिबद्धताका रुपमा रहेको थियो।
उक्त भ्रमणपछि डा. महतले भनेका थिए, 'भारत र नेपालको धार्मिक र सांस्कृतिक क्षेत्रमा धेरै समानता छ। हजारौं वर्षदेखि नै समान अभ्यास पनि छ। धार्मिक परम्परालाई 'एक्सचेन्ज’गर्नु राम्रो पनि हो।'
आरजूको डिजाइनमा महत नेतृत्वको भारत भ्रमणपछि शशांक र प्रकाशमानले पनि भारत भ्रमण गरेका थिए। तर, कांग्रेसको सभापतिमा भारतले शेखरलाई मन पराएको भन्दै चर्चा भएको थियो। पहिलो चरणमा शेखरले १७ सय मत मात्रै ल्याएपछि दोस्रो चरणको निर्वाचनमा भने प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई देउवासँग मिलाउन पनि भारतले भूमिका खेलेको चर्चा गरिएको थियो।
देउवाले यही पुस २५ देखि २७ सम्म भारत भ्रमण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्यमा हुन लागेको 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन जान लागेका हुन्। यस विषयमा दुवै सरकारले आधिकारिक रुपमा सूचना बाहिर ल्याउन भने बाँकी छ।
नेपाल सरकारले देउवाको भारत भ्रमणको गृहकार्य गरिरहेको छ। यही भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकीक्ष नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। यसअघि प्रधानमन्त्री देउवाले कात्तिकमा जलवायु सम्मेलन कोप२६ का क्रममा स्कटल्यान्डको ग्लासगोमा मोदीसँग द्विपक्षीय भेटवार्ताले गरेका थिए।
अहिलेको भ्रमणले भारत-नेपालबीचका समस्याका विषयमा पनि छलफल हुने अपेक्षा छ। यस कारण आरजूले देउवाको दूत बनेर वातावरण सकारात्मक बनाउन सक्रिय भएको कूटनीतिज्ञहरुले बताएका छन्। प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्रमन्त्री वा प्रधानमन्त्री निकट व्यक्तिलाई सम्बन्धित मुलुकमा पूर्वतयारीका लागि पठाउने प्रचलन छ। भ्रमणको दिन नजिक आइसक्दा पनि सरकारी पक्षबाट परराष्ट्रमन्त्री अथवा उनी निकट व्यक्ति भारत गएका छैनन्।
देउवाको यही भ्रमणलाई राजकीय बनाउने गरी तयारी भइरहेको सयमा आरजूले दिल्लीमा थालेको राजनीतिक भेटवार्तालाई नै पूर्वतयारीको रुपमा हेरिएको छ। भाजपाका विदेश विभागका प्रमुख चौथाइवालेले आरजूसँगको भेटवार्तापछि ट्विट गर्दै लेखेका छन्, 'व्यक्तिगत भ्रमणमा नयाँदिल्ली भ्रमणमा रहेकी डा. आरजू देउवा राणासँग मेरो सौहार्दपूर्ण भेटवार्ता भयो।’
प्रधानमन्त्री देउवाको भ्रमणको समयमा भारतको राजनीतिक वातावरण राम्रो होस् भन्ने सिलसिलाअन्तर्गत नै यो भेट भएको देखिन्छ।
उनले अझै कोकोसँग भेटवार्ता गर्ने भन्नेबारेमा खुलाइएको छैन। देउवाले अहिले अर्को व्यक्ति पठाउने सम्भावना कम भएको समयमा भारतसँग लामो समयदेखि राम्रो सम्बन्ध भएकी आरजू नै दूतका रुपमा सक्रिय भएको भारतका लागि पूर्वराजदूत लोकराज बराल बताउँछन्।
उनी भन्छन्, 'अहिले प्रधानमन्त्रीजीको भारत भ्रमणको तयारी भइरहेको छ। यही समयमा भाजपाका विदेश विभाग हेर्ने चौथाइवालेसँग आरजूजीको व्यक्तिगत सम्बन्धजस्तो भएकोले पनि भेट गर्नुभएको होला। यो भेट प्रधानमन्त्रीजीको भ्रमणलाई कसरी अघि बढाउने, यसैलाई राजकीय बनाउने कि के गर्ने भन्ने कुरा उठिरहेकोले सोही विषयमा छलफल भएको हुनसक्छ। प्रधानमन्त्री देउवाको भ्रमणको समयमा भारतको राजनीतिक वातावरण राम्रो होस् भन्ने सिलसिलाअन्तर्गत नै यो भेट भएको देखिन्छ।'