काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक काठमाडौंको प्रज्ञा भवन कमलादीमा जारी छ। बैठकमा क्लस्टरअनुसार सदस्यको चयन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ।
स्थायी कमिटी बैठकलगत्तै आज बिहान ११ बजे बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा नेता देव गुरुङले विधानमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन्। गुरुङले जवाफ दिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ।
माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन। सो विधान मस्यौदा पारित गर्नका लागि शनिबार बिहान ११ बजेका लागि बन्दशत्र स्थगित गरिएको थियो।
विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ। माओवादी आजै नेतृत्व चयनको प्रक्रियामा जाने छ।