बुधबार, भदौ ३, २०८३

ललिता निवास प्रकरण : २१० लाई पक्राउ पुर्जी तर सूचीमा छैन नेताको नाम

अख्तियारको अनुसन्धानका आधारमा विशेषमा यो मुद्दा दायर भइसकेको छ भने सीआईबीले पनि अर्को मुद्दा दायर गर्ने तयारी गरेको हो।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं- ललिता निवासको जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन वर्ष लगाएर गरेको अध्ययनका आधारमा मुद्दा चलाउने तयारी गरेको छ। बालुवाटारस्थित ललिता निवास परिसरको १४३ रोपनी सरकारी जग्गा हिनामिना भएको देखिएपछि सीआईबीले काठमाडौं जिल्ला अदालतबाट २ सय १० जनाविरुद्ध पक्राउपुर्जी लिएको छ। 

उक्त जग्गा हडप्न कर्मचारी, बिचौलिया र भूमाफियाको संलग्नता देखिएको सीआईबीको रिपोर्टमा उल्लेख छ। २ सय १० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको भएपनि उनीहरुको नाम भने गोप्य राखिएको छ। पक्राउ पुर्जीमा समावेश भएका नामबारे एक उच्च प्रहरीले भने, 'अहिले नाम सार्वजनिक गर्दा दोषी भाग्ने खतरा भएकाले नाम गोप्य राखिएको छ।' स्रोतका अनुसार उक्त सूचीमा कुनै पनि नेताको भने नाम उल्लेख छैन। 

यो प्रकरणमा बचौलिया भनिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी पक्राउ परेका छन्। यही प्रकरणका बिचौलिया शोभाकान्त ढकाल भने हाल डिल्लीबजार कारागारमा छन्। 

ललिता निवास प्रकरणमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विशेष अदालतमा मुद्दा दायर गरेको छ। विशेष विचाराधीन रहेको मुद्दामा ढकाललाई थुनामा पठाउन आदेश दिएको थियो। यसपछि उनलाई हाल डिल्लीबजार कारागार पठाइएको हो। 

यो प्रकरणमा दुई जना पूर्वप्रधानमन्त्रीहरूसमेत जोडिएका छन्। तत्कालीन प्रधानमन्त्रीका हैसियतमा उनीहरूको पनि संलग्नता देखिएको भन्दै उनीहरू विवादित बनेका थिए। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र माधवकुमार नेपाल यो प्रकरणमा मुछिएर विवादित बनेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू दुवै जनालाई उन्मुक्ति दिएको छ। विशेषमा दायर मुद्दामा उनीहरू प्रतिवादी बनाइएका छैनन्।  

नेकपा एमालेका नेता विष्णु पौडेलले पनि ललिता निवासको जग्गा बिचौलियामार्फत् किनेका थिए। तर अख्तियारले मुद्दा दर्ता गर्ने तयारी गरेपछि उनले हतारहतार जग्गा फिर्ता गराएका थिए। यसपछि अख्तियारले उनलाई विपक्षी नबनाइ उन्मुक्ति दिएको थियो। नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार पनि यही प्रकरणमा आरोपी बनेका छन्। अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। यो मुद्दा विचाराधीन छ। 

अख्तियारको अनुसन्धानका आधारमा विशेषमा यो मुद्दा दायर भइसकेको छ भने सीआईबीले पनि अर्को मुद्दा दायर गर्ने तयारी गरेको हो। 

सीआईबीको अध्ययनअनुसार पटकपटकमा गरी ललिता निवासको जग्गा हडपिएको हो। २०४९, २०६२ र २०६९ मा बालुवाटारको सरकारी जग्गामा बिचौलियाले लगातार हड्प्ने प्रयास गरेको थिए। र यसमा उनीहरू सफल पनि बनेका थिए। 

२०४९ सालदेखि सुरु भएको बालुवाटारको जग्गा हडप्ने कसुरमा संलग्नमध्ये ४० जना फरार सूचीमा छन्। फरारमध्ये अधिकांश २०४९ मा हडप्ने काममा संलग्न भएका व्यक्तिहरू छन्। यस्तै, ०६२ मा हिनामिनामा संलग्न भएको कसुरमा १५ जना, बालुवाटारस्थित उच्च अधिकारीको निवास विस्तारका नाममा नक्कली मोहीलाई जग्गा दिएका ८० जना र २०६९ मा सरकारी जग्गा नक्कली टिकिन्छा गुठीका नाममा कायम गर्ने ८५ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। सरकारी वकिलको कार्यालयले पुस २७ भित्रै अदालतमा मुद्दा दर्ता गर्ने तयारीमा छ। सीआईबीले करिब ३ वर्ष लगाएर गरेको अनुसन्धान गरेको थियो। 

विसं २०२२ सालमा भोगाधिकारीहरुलाई मुआब्जा दिएर सरकारले ललिता निवासको करिब २९९ रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर, २०४६ सालपछि ललिता निवासको जग्गा हडप्ने क्रम सुरु भएको हो।

प्रकाशित: Dec 31, 2021| 20:36 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...