काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित भएको छ। प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले उनको प्रतिवेदन पारित गरेको हो।
यसअघि विभिन्न २५ समूह बनाएर माओवादीले प्रचण्डको प्रतिवेदनमाथि सुझाव लिएको थियो। प्रतिवेदनका विषयमा राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलले पूरक प्रस्तुत गरेका थिए।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन। सो विधान मस्यौदा पारित गर्नका लागि शनिबार बिहान ११ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ।
विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्। विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउनेछ।
विधानमा माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ। सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी भइरहेको छ।
हालसम्म अन्य नेताले अध्यक्षमा दावी नगरेकाले प्रचण्ड नै अध्यक्षमा दोहोरिने पक्कापक्की जस्तै छ। वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ। महासचिवमा पनि विभिन्न नेताहरूको दावी छ। यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने प्रस्ताव विधानमा छ। तर पदाधिकारीमा सर्वसम्मत बनाउन प्रचण्डलाई सजिलो छैन।
अध्यक्षमा प्रचण्डलाई दोहोरिनका लागि कुनै समस्या नभएपनि उनलाई पदाधिकारीको टिम बनाउन भने सजिलो छैन। अध्यक्ष आफूले प्रस्ताव गरेका नेताहरूलाई नै सबै प्रतिनिधिले अनुमोदन गरुन् भन्ने चाहन्छन्।
पछिल्लो समय विभिन्न दलको नेतृत्व चयन निर्वाचन भएको छ। निर्वाचन गरी पदाधिकारीलगायत सदस्य चयन गर्दा प्रशंशा भएको थियो। तर केपी ओली नेतृत्वको एमालेले निर्वाचन प्रक्रियालाई कुण्ठित गरी सर्वसम्मतिका नाममा ओली निकटलाई मात्र समावेश गरी नेतृत्व चयन गर्न खोज्दा उनको आलोचना भएको थियो। यो विषयलाई पनि प्रचण्डले नजिकबाट नियालेर आफूहरू सर्वसम्मत रूपमा नभए चुनावमा जान सक्ने पनि बताउन थालेका छन्।
विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने माओवादी निर्वाचन आयोगको भनाइ छ। आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुनेछ। माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन समितिका अनुसार त्यसअघि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टङ्क राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गरेका छन्।
बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा प्रस्तुत ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिएका थिए। दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार संश्लेषणका लागि महान बहसको थालनी गरेको निष्कर्ष सुनाउँदै तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव पेस गरे।
बुधबार र बिहीबार दुई दिन २५ समूहका नेताले प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिएका थिए। प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित भएको हो। महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ।
भरोसायोग्य शक्ति माओवादी मात्रै हो भन्ने स्थापित भयो : प्रचण्ड
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने कुरा स्थापित भएको दाबी गरेका छन्। बन्दसत्रमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन्।
'पार्टीलाई जनपक्षीय बनाउन र देश तथा जनताको हितमा केन्द्रीत गर्न आफैबाट शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्दै माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित गराएरै छाडिने छ,' प्रचण्डको भनाइ थियो।
हाम्रो पृष्ठभूमि र विरासतको कारणले माओवादी नामका क्रान्तिकारी जनयुद्ध र जनआन्दोलनको संवाहक पार्टी भएको नाताले, यो परिवर्तनसँग पार्टी आन्दोलन विरासत जोडिएकाले यो महाधिवेशनप्रति देश तथा दुनियाँको ध्यान भएको प्रचण्डको दाबी थियो।
'माओवादीले कस्तो कार्यक्रम ल्याउने हो, कस्तो सङ्गठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने आम रूपमा चासो पैदा भएको बताएका उनले भने, 'कसैले २१ शताब्दी फड्को हान्न खोजे पनि भने। कतिले २०औँ शताब्दीमा फर्कन खोजेको भने। कतिले किताबबाट सारेको पनि भने। कतिले पुरानै बाटोमा जाने भयो पनि भने। तर, यो महाधिवेशन अरुभन्दा फरक रह्यो।'
सुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राखेको भन्दै उनले पार्टी रुपान्तरणमा केन्द्रित बनेको र सोही आधारमा कम्युनिस्ट आन्दोलनको इतिहासमा समेत दर्ज भएको उल्लेख गरेका थिए। 'दक्षिण, वाम या मध्यमार्गी कोणबाट नै किन नआएको होस्, यो महाधिवेशनमा विचारको विकास गर्ने सन्दर्भमा वा आत्मसमीक्षाको रुपमा पनि जनतासँग जोडिने सवालमा महत्वपूर्ण छ। नयाँ बहसको सृष्टि गर्ने महाधिवेशनका रूपमा पनि दर्ज भएको छ,' प्रचण्डको भनाइ छ, 'राजनीतिक एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने भएको छ। महाधिवेशन उद्घघाटन शत्रमा पनि यहाँहरूले सुन्नु भो प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, सङ्घीयता सबैसबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै भन्नुभयो।'
प्रवक्ताको दाबी- सर्वसम्मत नेतृत्व चयन हुन्छ
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महाराले सर्वसम्मत रूपमा भोलि महाधिवेशन सकिने दाबी गरेका छन्। ६ दिनदेखि जारी महाधिवेशनले भोलि नै नेतृत्व चयन गर्ने उनले दाबी गरेका हुन्।
'अध्यक्ष प्रचण्डको प्रतिवेदनको मूल स्पिरिट ठीक छ भन्ने आयो, सुझावलाई स्वीकार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ,' उनले भने, 'सर्वसम्मतिमा नै नेतृत्व चयन भएर भोलि महाधिवेशन सकिन्छ।'
केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राखेको फरक मतलाई फरक मतकै रुपमा राख्ने र सम्मानपूर्वक बहस गर्ने गरी प्रतिवेदन सर्वसम्मत पारित भएको महराको भनाइ थियो।