काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिन माग गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय पदाधिकारीहरुको बैठकले यस्तो माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो।
'राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तिको उपलक्ष्यमा पुस २७ गते सार्वजनिक बिदा घोषणा गर्न सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष ज्ञापनपत्र बुझाउने,' बैठकपछि राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै पुस २७ गते सबै जिल्लाहरुमा सार्वजनिक स्थानमा नारा, जुलुस, सभाको आयोजना गरी गरी पृथ्वी जयन्ती मनाउने र काठमाडौं उपत्यकाका तिनै जिल्लाहरुका पार्टीका पदाधिकारी, सदस्य, समर्थक भृकुटीमण्डमा भेला भई सिंहदरबारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा सम्मान अर्पण गर्ने निर्णय समेत राप्रपाको छ।
काभ्रेपलाञ्चोक जिल्ला कार्य समिति अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा, सचिव धनजित लामालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णयसमेत राप्रपाले गरेको छ।
यस्तै राप्रपा प्रवेश गर्ने १४३ जनालाई उपयुक्त जिम्मेवारी दिने निर्णयसमेत राप्रपाको छ। स्थानीय तह निर्वाचन परिचालन समिति सदस्यमा प्राडा जयन्तनाथ खनाल, केन्द्रीय सदस्य डा राजेश गिरी र केन्द्रीय सदस्य आशा लामालाई मनोनयन गर्ने निर्णय भएको राप्रपाले जानकारी दिएको छ।