काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म रहेको बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपाल एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका हुन्।
उनले भने, àअहिले हामी जुन राजनीतिक यात्रामा अघि बढेका छौँ, त्यो राजनीतिक यात्रालाई हामीले भनेका छौं, जनतादेखि जनतासम्म। कसैकसैले त्यसलाई भन्ने गर्दछन्, चुनावदेखि चुनावसम्म। हाम्रो उद्देश्य चुनाव होइन, जनता हुन्। जनताका समस्या र पिरमर्का हुन्।
उनले जनताको हित र कल्याणका लागि सुकुम्वासीको समस्या, समावेशिताको राजनीति, समाजवादको यात्रालगायतका धेरै लोकप्रिय कार्यक्रमहरु अघि सारेको बताए। नेपालले आफ्नो पार्टीले अन्याय, अत्याचारको बिरुद्धमा, शोषण उत्पीडनकाबिरुद्धमा, विभेदहरुको बिरुद्धमा, अनेकौँ आन्दोलन, मजदुर, किसान, श्रमजीवीको हकहितको बारेमा विभिन्न कार्यक्रम गरिरहेको पनि बताए।
अध्यक्ष नेपालले नयाँ पुस्ता, पुरानो पुस्ता, आम जनता, मजदुर, किसान, निम्न पुँजीपति वर्ग, मध्यम वर्गका मानिसहरुले भोगिरहेका समस्याहरुलाई आफ्नो समस्याको रुपमा लिने गरेको बताए।