काठमाडौं- बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ठप्प भएको छ। हुस्सुले गर्दा भिजिबिलिटी कम भएपछि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। शुक्रबार बिहानैदेखि नै आन्तरिक उडान हुन सकेका छैनन भने कुनै पनि अन्तराष्ट्रिय विमान अवतरण गर्न सकेका छैनन्।
हुस्सुले विमानस्थल ठप्प भएपछि कुवेतबाट आएको जजिरा एयरलाइन्सका विमान आकाशमै होल्ड भएको थियो भने दोहाबाट आएको हिमालय एयरलाइन्स र कतार एयरलाइन्सको जहाज आकाशमा लामो समय घुमेको थियो।
काठमाडौंबाट जहाजलाई बाहिर निस्किन कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने गर्छ। यहाँबाट दैनिक करिब ५० अन्तर्राष्ट्रिय र ३ सयको आन्तरिक उडान हुने गर्छन्।
उपत्यकासहित देशका अधिकांश स्थानमा बाक्लो हुस्सु
काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बाक्लो हुस्सु, कुहिरो लागेको छ। बिहानैदेखि देशका धेरै ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु बिस्तारै हटेर घाम लाग्ने सम्भावना छ।
तर, तराईका जिल्लामा लागेको हस्सु, कुहिरो हट्न समय लाग्ने छ। बाक्लो हुस्सुका कारण तराईमा कठ्याङ्ग्रिँदो चिसो बढेको छ। आज पनि हिमाली भूभागमा हिमपात भैरहेको छ। यो क्रम भोलि पनि जारी रहने मौसमविद्हरुले बताएका छन्। हिउँदे वर्षा र हिमपातले चिसो झनै बढाएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज प्रचण्डले प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिने
६ दिनदेखि जारी माओवादी केन्द्रको आठौं महाविधेशनमा आज अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।
शुक्रबार दिउँसो एक बजेपछि लेखा, अनुशासन र निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत एवं छलफल गर्ने कार्यक्रम रहेको छ। तीन वटै आयोगको प्रतिवेदन पेश भएपछि पार्टी अध्यक्ष दाहालले जवाफ दिने भएका हुन्। अध्यक्षको जवाफसँगै प्रतिनधिको आवाश्यक सुझाव समेटेर दस्तावेजहरु पारित गर्ने माओवादीको तयारी छ। त्यसपछि माओवादी केन्द्रको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने सम्भावना छ।
माओवादी केन्द्रको विधानअनुसार महाधिवेशनबाट सुरुमा २ सय ९९ केन्द्रीय सदस्य मात्र चुनिनेछन्। पछि तिनै सदस्यमध्येबाट अध्यक्षसहित पदाधिकारी चयन गरिनेछ। शुक्रबारको बैठकले नयाँ केन्द्रीय सदस्यको नाम पनि लगभग टुंगो लगाउने स्रोतले जनाएको छ।
आज कांग्रेसले ४६औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्ने
नेपाली कांग्रेसले आज '४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस' विभिन्न कार्यक्रम गरी मनाउँदैछ।कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि यस वर्ष औपचारिक कार्यक्रम राखेको छैन। तर विभिन्न जिल्लामा नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएका छन्।
दिवसका अवसरमा कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्। यस अवसरमा बिपी संग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्न लागिएको जनाइएको छ।
पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक पुस १६ गतेलाई 'राष्ट्रिय एकता तथा मेलमिलाप दिवस'का रुपमा काँग्रेसले मनाउँदै आएको छ।
नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज ग्राउन्डेड
नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज ग्राउन्डेड भएको छ।अन्तर्राष्ट्रिय उडान गरिरहेको जहाज प्राविधिक समस्याका कारण ग्राउन्डेड भएको हो। काठमाडौं–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ। निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउन्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको बताइन्।
उनका अनुसार जहाजको बायाँ इञ्जिनमा समस्या पहिचान भइसकेको र इञ्जिन उत्पादनकर्ता पीए/आईएईसँग निगम व्यवस्थापनले परामर्श गरेको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारो बडी जहाज छन्। यी जहाजले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएका छन्।
लुम्बिनी प्रदेशले करारमा माग्यो ४३६ कर्मचारी
लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठुलो संख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ।
मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो। त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको छ। १५ दिनभित्र आवेदन दिन भनिएको छ।
मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधि सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो।
नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु
नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणका लागि ३० खेलाडीलाई हिजो छनोट गरेको थियो। क्यानको छनोट समिति र मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेको हो।
क्यानले आईसीसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि बन्द प्रशिक्षण गर्न लागेको हो। बन्द प्रशिक्षणमा कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल लगायतका खेलाडीलाई समावेश गरिएको छ।