काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले, कांग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रुपमा जनताको अगाडि मुख देखाउन लायक नभएको बताएका हुन्। राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु आकारको हिसाबले ठूलो भएको उनको दाबी छ।
अध्यक्ष लिङ्देनले जनताले देश र धर्मलाई शिरमा बोकेर हिँड्ने राप्रपा पार्टी नै खोजेको भन्दै पार्टी नेतृत्वले कुनै किसिमको कमीकमजोरी नगर्ने बताए। उनले भने, ‘अहिले राजनीतिक रुपले र नैतिक रुपले कांग्रेस, एमाले, माओवादीहरु जो आफुलाई यो देशको ठुलो पार्टी भन्छन्। उनीहरु जनताको बीचमा गएर मुख देखाउन लायक छैनन्। उनीहरुसँग कुनै आधार नै छैन। यस्तो बेला देशलाई शिरमा बोकेर, धर्मलाई शिरमा बोकेर हिड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी जनताले खोजिराखेको पार्टीको रुपमा छ।’
उनले विगतमा विभिन्न कारणले राप्रपा छोडेका र अन्य पार्टीमा भएर पनि राप्रपाको विचार मन पराउनेहरुलाई राप्रपामा आउन आह्वान गरे। राप्रपामा आउने सबैलाई योग्यता क्षमताअनुसारको उचित सम्मान र अवसर प्रदान गर्ने उनको आश्वासन थियो। विगतमा भएका मानिसहरु मात्रै बसेर पार्टी नचल्ने भन्दै अध्यक्ष लिङदेनले अन्य पार्टीबाट ल्याएर जिम्मेवारी दिन नसके पार्टी ठूलो नहुने भनाइ राखे।