काठमाडौं- महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले गरेका छन्।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष पेश गर्दै प्रतिनिधिहरुले यस्तो माग गरेका हुन्।
निष्कर्ष प्रस्तुत गर्ने क्रममा १३ नम्बर समूहका नेता गोपाल शर्माले भने, ‘पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको भन्ने बाहिर आइरहेको छ। यसलाई पनि ख्याल गरिनुपर्छ। महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ।’
शर्माले जनवर्गीय संगठनहरुमा नेतृत्व र पदाधिकारीविहीन बनाउँदा राम्रो सन्देश नगएको बताए। ‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनु हुँदैन। माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको छ,’ उनले भने।
माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ। ती समूहले आआफ्नो समूहको निष्कर्ष बन्दसत्रमा प्रस्तुत गरिरहेका छन्। समूहगत छलफलका निष्कर्षहरु प्रस्तुत भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्नेछ। त्यसपछि अध्यक्ष प्रचण्डले जवाफ दिनेछन्।