बिहीबार, भदौ ४, २०८३

समाजवादको आधार निर्माण गर्ने माओवादीका ७ प्रश्‍न

'मुलुकको राजनीतिक परिस्थिति निकै तरल र चुनौतीपूर्ण छ। विभिन्‍न दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरुले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधीनतामाथि नै हस्तक्षेप बढेको छ।'
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो पहिल्याउन सकिने दाबी गरेका छन्। प्रचण्डले पार्टीको जारी आठौं महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा माओवादी आन्दोलनको मागअनुसार अझै पनि देशमा संघीयता र पहिचानका मुद्दा संस्थागत हुन नसकेको जनाइएको छ। उनले भनेका छन्, 'मुलुकको राजनीतिक परिस्थिति निकै तरल र चुनौतीपूर्ण छ। विभिन्‍न दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरुले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधीनतामाथि नै हस्तक्षेप बढेको छ।' 

यस्तो परिस्थिति छिचोल्दै शान्तिपूर्ण बाटोबाट समाजवादको लक्ष्य पूरा गर्न सकिने दाबी उनको छ। यसका लागि प्रचण्डले सातवटा प्रश्न उठाएका छन्। यद्यपि उनले सार्वजनिक गरेका प्रश्न पुरातन, काल्पनिक र कार्यान्वनयमा जटिल रहेको भन्दै आलोचना भइरहेको छ।

'२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’शीर्षकमा पेस गरिएको ४५ पृष्ठ लामो प्रतिवेदनमा प्रचण्डले नेपाली बाटो पहिल्याउने समाजवादको परिकल्पना गरेर सात प्रश्‍न उठाएका हुन्। ती प्रश्न छन् : 

- के शान्तिपूर्ण प्रतिस्पर्धाको चुनावी बाटोबाट समाजवादको आधार निर्माण सम्भव छ? 

अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनको बिसौं शताब्दीमा स्थापित मान्यताअनुसार शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट समाजवाद सम्भव नभएको उल्लेख गरेका छन्। तर, विगतका प्रतिक्रान्तिका अनुभव २१ औं शताब्दीका विशेषता र मुख्यत: नेपालको पुँजीवादी जनवादी क्रान्तिमा कम्युनिस्ट पार्टीको नेतृत्वमा जनताले खेलको भूमिकालाई विचार गर्दा त्यो सम्भव भएको अध्यक्ष प्रचण्डको ठम्याइ छ। 

- के खुला शान्तिपूर्ण र प्रतिस्पर्धाको राजनीतिक प्रक्रियाबाट निजी सम्पत्ति उन्मूलन गर्ने तथा सामूहिक जीवन पद्धति अँगाल्‍ने दिशातिर अग्रसर हुने उच्च सांस्कृतिक आचरणसहितका नेताकार्यकर्ताहरुको कम्युनिस्ट पार्टी विकास गर्न सम्भव छ? 

पार्टीमा व्यक्तिगत पद, प्रतिष्ठा, लाभ र स्वार्थका निमित्त जस्तोसुकै अनुचित कार्य गर्न पछि नपर्ने प्रवृत्ति हाबी हुँदै गएको परिस्थितिमा क्रान्तिकारी रुपान्तरणको प्रश्‍न जिकै जटिल बनेको जनाइएको छ। अध्यक्ष प्रचण्डले भनेका छन्, 'उत्पादक शक्तिको विकासले स्वत: समाजवादको आधार तयार पार्छ भन्‍ने प्रतिक्रान्तिकारी विचारका विरुद्ध सर्वहारा विश्‍व दृष्टिकोणसहित सचेत प्रयत्‍नका रुपमा सोच र संस्कृतिमा निरन्तर क्रान्तिले मात्रै समाजवादको बाटोमा अगाडि बढ्न सकिने सत्यलाई आत्मसात् गर्नुपर्छ। आजको अवस्था सुहाउँदो सांस्कृतिक क्रान्तिको प्रक्रिया अघि बढाउनुपर्छ।' 

- सशस्‍त्र-संघर्ष र अधिनायकत्वबारे समाजवाद निर्माणसँग कस्तो सम्बन्ध रहन्छ? 

वर्ग-संघर्षको सिद्धान्त मार्क्सवादको एक आधारभूत सिद्धान्तलाई आत्मसात् गर्दै नेपालको ठोस परिस्थितिमा शान्तिपूर्ण रुपले सडक, सदन र सरकारको मोर्चाबाट समाजवादको आधार तयार पार्न अधिकतम तयारीमा जोड दिनुपर्ने माओवादीले जनाएको छ।

- के सर्वहारा अन्तर्राष्ट्रियवादको सिद्धान्तअनुसार कम्युनिस्ट क्रान्तिकारीहरुको अन्तर्राष्ट्रिय संगठन निर्माण आवश्यक छन्? 

कम्युनिस्ट क्रान्तिकारीहरुले अन्तर्राष्ट्रवादको सिद्धान्तलाई आत्मसात् गर्ने गर्ने उल्लेख गर्दै त्यसको सम्भावना र आवश्यकताबारे कम्युनिस्ट आन्दोलन र अन्तर्राष्ट्रिय वर्षसंघर्षको ठोस स्थितिमा निर्भर हुने जनाइएको छ। भूमण्डलीकृत साम्राज्यवादविरुद्धको संघर्षमा सहकार्यको प्रयासलाई निरन्तर अगाडि बढाउनुपर्ने र कम्युनिस्ट अन्तर्राष्ट्रियसम्बन्धी विगतका सकारात्मक र नकारात्मक अनुभवको गहिरो समीक्षा र त्यसबाट शिक्षा लिएर समान धारणा बनाउनुपर्ने कुरामा जोड दिइएको छ। 

- के विज्ञान प्रविधिमा भएको विकासको ज्ञान र प्रयोगबिना समाजवादको आधार निर्माण सम्भव छ? 

त्यसैगरी विज्ञान प्रविधिको विकास र प्रयोगबिना समाजवादको आधार निर्माण सम्भव नभएको माओवादीको ठम्याइ छ। विज्ञान-प्रविधिको विकासलाई आत्मसात् गरेर नै सामाजिक क्रान्ति र उत्पादश शक्तिको विकास तथा मानिसहरुको आपसी सम्बन्धको विकासलाई बल पुग्‍ने जनाइएको छ। आज कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यावरणलगायत सामाजिक र मानवीय जीवनका सबै पक्षमा विज्ञान प्रविधिको प्रयोगका लागि दक्ष जनशक्तिको विकास गर्ने तथा परिचालन गर्ने कामलाई विशेष प्राथमिकता दिनुपर्ने र त्यसका लागि योजनाबद्ध स्कुलिङको व्यवस्था गर्नुपर्ने उल्लेख छ। 

- के समाजवादको आधार निर्माण गर्न संयुक्त मोर्चा सम्भव र आवश्यक छ? 

विशिष्ट राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा कम्युनिस्ट पार्टीले समाजवादको आधार निर्माण गर्न जनताका विभिन्‍न वर्ग, जनसंगठन र सम्भव भएसम्म राजनीतिक दलहरुसँग विभिन्‍न रुप र स्तरमा संयुक्त मोर्चा कायम गर्न जोड लगाउनुपर्ने जनाइएको छ। अहिलेको प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन पनि संयुक्त मोर्चाकै एक रुप भएको माओवादीको ठम्याइ छ। समाजवाद उन्मुख समृद्धिका पक्षधर वाम लोकतान्त्रिक शक्तिहरुसँग अल्पकालीन र दीर्घकालीन प्रकृतिका मोर्चा बनाउने नीति र पहल गरिने माओवादीले जनाएको छ। 

- के वैदेशिक प्रतिक्रियावादी दबाब हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई नयाँ उचाईमा नउठाइकन समाजवादको आधार निर्माण गर्न सम्भव छ? 

सम्राज्यवादी हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनताको प्रश्‍न पुँजीवादी जनवादी क्रान्तिकै एक आधारभूत प्रश्‍न हो। नेपालमा पुँजीवादी जनवादी क्रान्तिका आधारभूत रुपले सम्पन्‍न भए पनि वैदेशिक हस्तक्षेप र राष्ट्रिय स्वाधीनताको आधारभूत प्रश्‍न समाधान नभएको जनाइएको छ। माओवादीले भनेको छ, 'हाम्रो पार्टीले समाजवादी क्रान्तिको रणनीति एवं समाजवाद उन्मुख समृद्धिको कार्यनीतिअन्तर्गत सामन्तवादका अवशेष र वैदेशिक दबाब र हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधिनताको मुद्दालाई पनि जोडर अगाडि बढाउने कुरा गरेको छ।' माओवादीले तत्काल एमसीसीको परियोजनालाई आवश्यक परिमार्जन संशोधन र राष्ट्रिय सहमति बनाएर मात्र अगाडि जाने नीति लिनुपर्नेसमेत जनाएको छ। 

समाजवादको आधार तयार पार्ने प्रयास असफल पार्न सबैखाले प्रतिक्रियावादी, दलाल तथा अवसरवादी तत्वहरु लागिपर्नेसमेत प्रचण्डले आफ्नो प्रतिवेदनमा भनेका छन्। उनले लेखेका छन्, 'हामीले आफ्नो विचार, राजनीति, संगठन, जन-सम्बन्ध र विकास निर्माणका कामद्वारा प्रतिक्रियावादी षड्यन्त्रको प्रतिवाद गर्दै समाजवादको आधार तयार पार्ने कामलाई योजनाबद्ध र दृढतापूर्वक सफल पार्नुपर्दछ।'

प्रकाशित: Dec 29, 2021| 18:03 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...