काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका छन्। अध्यक्ष लिङ्देनले सिक्किम विलय भएको दृष्टान्त पेस गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरासमेत औंल्याए।
राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दाबी गरेका हुन्। अध्यक्ष लिङदेनले देशलाई अन्य देशको खतराबाट टार्नसमेत राजसंस्था अनिवार्य रहेको बताए। उनले राजा वीरेन्द्रले देशलाई अन्य देशबाट झुक्न नदिन २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौंता गरेर संवैधानिक राजाका रुपमा आफूलाई उभ्याएको पनि बताए। उनले राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको उल्लेख गरे।
अध्यक्ष लिङदेनले भने, ‘म केटाकेटी नै थिएँ– २०३२ सालतिर होला। जब सिक्किममा राजसंस्थाको अन्त्य भयो। जनताका प्रतिनिधिहरुले भन्नेले त देशै भारतमा बिलाइदिए। ओहो, राजा भएन भनेत देशै सकिने रहेछ, जब मेरो बाल मस्तिष्कमा प¥यो। राजाको अभावमा, राजसंस्थाको अभावमा हाम्रो पनि देश कुनै पनि बेला त्यस्तो खतरामा पर्न सक्छ भन्ने मलाई लागेको थियो। आज पनि म त्यही जहाँ जाँदा पनि राजसंस्थाको कुरा गर्दा खेरी आज जनतालाई भन्ने गरेको छु –२०३२ सालसम्म हाम्रो छिमेकमा सिक्किम भन्ने देश थियो। त्यसबेला भन्दा अझ मैले अहिले बढी बुझ्छु। किन, त्यस बेला त थोरैथोरै बुझें। ए, राजा हट्यो, सिक्किम पनि सकियो। पछिल्लो दिनमा त्यही खतरा हाम्रो देशले बोकिराखेको छ। त्यसका लागि नेपालका सन्दर्भमा राजसंस्थाको आवश्यकता छ भनेर मैले भन्ने गर्छु।’
अध्यक्ष लिङदेनले राजनीतिक दलका नेताहरुभन्दा राजा बढी देशभक्त हुने दाबी गरे।