मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • प्रचण्डको प्रतिवेदनमा माओवादी नेताले उठाए प्रश्न, एसपीलाई जनकारबाही गर्ने सीके राउतको धम्की [२०७८-९-१३]

प्रचण्डको प्रतिवेदनमा माओवादी नेताले उठाए प्रश्न, एसपीलाई जनकारबाही गर्ने सीके राउतको धम्की [२०७८-९-१३]

मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

प्रचण्डको प्रतिवेदनमाथि छलफल सकियो

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र बुधबार दिउँसो १ बजे सुरु हुने भएको छ। मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

माओवादी केन्द्रको महाधिवेशनमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। सो प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ। समूहगत छलफलका लागि २५ समूह बनाइएको छ। बुधबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा समूहका संयोजकहरुले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन्।

यसैबीच, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नयाँ केन्द्रीय कमिटी संविधानले व्यवस्था गरे अनुरुपको समानुपातिक प्रतिनिधित्वको आधारमा बनाउने छलफल भएको छ। मंगलवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी क्लष्टरको आधारमा युवा, मुस्लिम, महिला, जनजाति लगायतको प्रतिशत र कमिटी बनाउँदा संविधानमा व्यवस्था गरिए अनुरुप समानुपाति प्रतिनिधित्व हुनेगरी गर्ने र त्यसको निम्ति तयारी गर्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा स्थायी कमिटी सदस्यहरु र प्रदेश ईन्चार्जहरुले समुहगत छलफल चलिरहेको ग्रुपमा गएर सहजीकरण गर्ने भएका छन्।

स्थायी कमिटी सदस्य मातृका यादवले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्माआलोचना गरिसकेको भन्दै अन्य नेताहरुले पनि आ–आफ्नो ठाउँबाट आत्माआलोचना गर्नुपर्ने बताए। महाधिवेशनबाट निस्किदाँ एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताए। 

अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी केन्द्रले लिने आर्थिक नीति देशको आत्मनिर्भरता, वेरोजगारीको अन्त्य हुने बताए। यस्तै, उत्पीडित वर्ग, जाति र समुदायको स्थानीय स्रोत, साधनमाथि स्वामित्व स्थापना गर्दै समृद्धिको अभियान सञ्चालन गर्ने उनको भनाइ छ। 

जारी माओवादी केन्द्रको आठौँ महाधिवेशनमा आफ्नो मत लिखित रुपमा राखेका नेता राम कार्कीले नेपाललाई नयाँ विचार चाहिएको बताए। नेपाल विचारमा गरिब भएको उनको भनाई छ। उनले संघीयता सहि अर्थमा लागु हुन नसकेको बताए।  

नेता कार्कीले संघीयताका कारण स्थानीय तहमा अनियमितता बढेको भन्दै स्थानीय तहमा पुगेका बजेट कार्यान्वयनको निगरानी गर्न संयन्त्र बनाउनुपर्ने आफ्नो माग रहेको बताए। 

नेकपा जनवादी नेकपा एसमा विलय

नेकपा एकीकृत समाजवादीमा नेकपा जनवादी विलय भएको छ। मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच दुई पार्टीले एकता गरेका हुन्।

एकता समारोहमा दुवै पार्टीका शीर्ष तहका नेताहरु सहभागी थिए। पार्टी एकता कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा जनवादीका अध्यक्ष देवेन्द्र सिंह महता सहितका नेताहरुलाई अबिर लगाएर स्वागत गरेका थिए। नेकपा एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो।  त्यस्तै, तत्कालीन नेकपा माओवादीबाट अलग्गिएर नेकपा जनवादी गठन भएको थियो।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवाहरुलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छन्। 

मंगलवार काठमाडौंमा भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उद्यमी युवाहरुलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका हुन्। उनले सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता नबढाएको हुनाले मानिसहरुमा आत्मविश्वास बढ्न नसकेको दाबी गरे। अध्यक्ष नेपालले दलाल पूँजीको दबदबा बढीरहेकोले देशमा मेहेनत नगरीकन पैसा कमाउने प्रवृत्ति, रातारात अर्बपति बन्ने चाहना र अरुलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको भन्दै त्यस्ता प्रवृत्तिलाई समाप्त पार्नुपर्ने बताए।  

अध्यक्ष नेपालले इमान्दारिता, निष्ठा र समर्पण नै एउटा नेताको लागि आवश्यक र उचित हुने भन्दै जनताको मन जित्न यी काममा ध्यान दिनुपर्ने बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अरु सरकार भन्दा यो सरकार फरक हुनुपर्ने कुरा राखेको र देशका प्राथमिकता र नीति बनाउने कुरामा विज्ञसँग सुझाव लिन सुझाएको बताए। अध्यक्ष नेपालले देश विकास गर्नका लागि आफैँ अघि सरेर काम गर्न तयार रहेको भन्दै समस्याको समाधान गर्ने कुरामा आफू प्रतिवद्ध रहेको बताए। 

अध्यक्ष नेपालले सरकारले व्यवहारमा प्रयोग गर्ने योजना र प्राथमिकता तय गर्न नसकेको बताए। उनले सुदूरपश्चिमको प्रदेशसभामा एक नम्बर पार्टीको रुपमा नेकपा समाजवादी स्थापित भएको दाबी समेत गरे।

सेन्ट्रल जोन महिला भलिवलको उपाधि नेपाललाई

उज्वेकिस्तानमाथि सनसनी जित हासिल गर्दै नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गेको छ।

साविक विजेता समेत रहेको नेपालले मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो। ढाकामा मंगलबार भएको ५ सेटको फाईनल खेलमा उज्वेकिस्तानविरूद्ध २६–२४,२४–२६,२५–१५,२२–१५,१५–११ को शानदार जित निकाल्दै नेपाल उपाधि रक्षा गर्न सफल भएको हो। पहिलो खेलमा श्रीलंकामाथि ३–२ को नाटकीय जित निकालेको नेपालले दोस्रो खेलमाा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। 

यस्तै, तेस्रो खेलमा आयोजक बंगलादेशविरूद्ध ३–० को जित निकालेको थियो। चौथो खेलमा उज्वेकिस्तानविरूद्ध ३–० को जित निकालेको थियो। प्रतियोगितामा महिलातर्फ आयोजक बंगलादेश, किर्गीस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको थियो।

जिप दुर्घटना हुँदा ५ जन्तीको मृत्यु, ४ घाइते

रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए। उक्त जिपमा ९ जना सवार रहेका थिए। बाँकी ४ जना घाइते रहेका उनले बताए। उनका अनुसार गरुडा नगरपालिकाको जयनगरमा बेलुकी करिब सवा चार बजे तिर दुर्घटना भएको हो। दुर्घटनाग्रस्त जिप अनियन्त्रित भई सडकबाट झण्डै २० फिट तल खसेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते ९ जनामध्ये पाँच जनाको विभिन्न  अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र चार जनाको उपचार भइरहेको मल्लले जानकारी दिए। दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबैको अहिलेसम्म सनाखत हुन सकेको छैन। मृतक र घाइते सबै भारतीय पुरुष नागरिक रहेको मल्लले बताए।

सर्लाहीमा निषेध आदेश

सवारी दुर्घटनाको विषयलाई लिएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ। 

कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो ३ बजेदेखि भोलि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो। निषेधित क्षेत्रमा हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पूर्व ईश्वरपुर नगरपालिका–४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका–८ रामपुर टोलसम्म निषेधाज्ञा लागू हुनेछ।

इलाका प्रहरी कार्यालय केशरगंजको गस्ती टोलीको ना १ झ ८६९ नम्बरको गाडीले आइतबार राति ईश्वरपुर नगरपालिका–५ का व्यापारी रामकुमार महतोलाई ठक्कर दिएको थियो।उनको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले सोमबार प्रहरीको ना. १ झ ७४८२ नम्बरको गाडी जलाएका थिए। प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनीलगायत घटना बढेकाले सर्वसाधारणको सुरक्षा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

उता जनमत पार्टीका अध्यक्ष सिके राउतले सिराहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई सामाजिक सञ्जालमा धम्की दिएका छन्।

उनले २४ घण्टाको अल्टिमेटम सहित पाण्डेलाई सिराहा चोकमा ‘जनकारवाही’ गर्ने भन्दै फेसबुकमार्फत खुल्ला धम्की दिएका हुन्। राउतले फेसबुकमा लेखेका छन्, ‘यदि २४ घन्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भने कारवाही गर्न जनतालाई पनि आउँछ। सिरहा बजारको बीच चोकमा जनकारवाही हुन्छ।’

राउतको पार्टीले अहिले विभिन्न मागसहित सिरहामा आन्दोलन गरिरहेको छ। आन्दोलन हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दुई दिन निषेधाज्ञा जारी गरेको छ। प्रशासनले आज बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लगाएको थियो भने भोलि पनि बिहान ५ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा लगाउने जनाएको छ। सिके राउत समूहको आन्दोलन रोक्नका लागि प्रशासनले निषेधाज्ञा लगाएको हो। 

२६४ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा देशभर २ सय ६४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १२ हजार ५ सय ६६ जनामा गरिएको परिक्षणमा २ सय ६४ जना संक्रमित थपिएका हुन्। आज २ जना संक्रमितको मृत्यु भएको छ। आज २ सय ६० जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ९ सय १० जना सक्रिय संक्रमित रहेका छन्। यस्तै आज  २ लाख ८३ हजार २ सय ६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

राज्यको प्राथमिकतामा नपर्दा सेयर बजार असुरक्षित : चिरञ्जीवी नेपाल

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले शेयर बजार सुरक्षित रुपमा विकास हुन नसेकेको बताएका छन्। 

पूर्वगभर्नर नेपालले नेपाली शेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको बताएका हुन्। उनले विगत ७ वर्ष अगाडि गति शेयर बजारको विकास र विस्तारको लागि परिर्वतन भएको थियो त्यसपछि कुनै परिर्वतन नभएको बताए। पूर्वगभर्नर नेपालले लामो समय देखि पँुजी बजारको विकासको लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु शेयर लगानीकर्ताको लागि राम्रो नभएको बताए। यहाँले पछिल्लो समय शेयर बजार लगानीकर्ताहरु उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको टिप्प्णी गरे। 

पूर्वगभर्नर नेपालले विश्वमा नै शेयर बजार अन्तर्राष्ट्रिय रुपमा छरिएर रहेको पैसा बचत गरेर उद्योग व्यवसाय स्थापित गर्ने अत्यन्त उपयोगी संस्था भएको बताए।  

सर्वोच्चको आदेशले खेलकुदमा दीर्घकालीन असर : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर गरेको बताएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी) को साधारण सभाको मंगलबार उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपछि खेलकुदमा दीर्घकालिन असर गरेको औल्याएका हुन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको विषयमा सर्वोच्च अदालतको आदेशले खेलकुदमा दुर्भाग्यपूर्ण अवस्थामा पुगेको बताएका हुन्।

मन्त्रि गहतराजले अहिलेको खेलकुदको विषय कुनै व्यक्तिसँगको नभई देशको समग्रह खेल क्षेत्रको विसकासँग जोडिएकाले यस विषयलाई अदालतले अग्राधिकारमा राख्दै हेर्नु पर्ने धारणा राखे। उनले अदालतको निर्णय जसको पक्षमा आए पनि आफुलाई स्वीकार्य रहेको बताए। यता नेपाल ओलम्पिक कमिटिमा अध्यक्ष जीवनराम श्रेष्ठाले, मैदान र खेल संघमा हुनु पर्ने खेलकुदल सर्वोच्च अदालतमा भइरहेको आरोप लगाए। 

सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई हटाएर टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेपछि पूर्व सदस्य सचिवन रमेश कुमार सिलवाल अदालत पुगेका थिए। सोहि विषय अदालतमा पुगेपछि अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलका लागि बोलाएको थियो। तर १२ गते समय अभावको कारण देखाउँदै अदालतले मुद्दा हेर्दाहेर्दैमा राखेको छ। 

नेपाल आइपुगे पुबुदु

नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन्। 

यस अघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु आज नेपाल आईपुगेका हुन्। विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे। क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले पुनः नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन्। मंगलबार विमानस्थल ओर्लिपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुुले नेपाली क्रिकेट नयाँ उचाईमा पु¥याउने जिम्मेवार थपिएको बताए।

प्रशिक्षक पुबुदुले हाल नेपाली टोलीमा खेलाडी र क्यानबीचको समस्या संसारका सबै जसो देशमा हुने गरेको र नेपालको समस्या सामान्य भएको भन्दै बन्द कोठा भित्र रहेर छलफल गरेको खण्डमा समाधान हुने विश्वास व्यक्त गरे। प्रशिक्षक दासानायकेले क्रिकेट अगाडि बढाउनका लागि खेलाडी र क्यानले सहयोग गर्ने विश्वास ब्यक्त गरे।

प्रशिक्षक दासानायकेले यस अघि सन २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसेका छन्। उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन २०१४ मा आईसीसी ट्वान्टी–२०  विश्वकप खेलेको थियो। सोही हिसाबाले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ।


प्रकाशित: Dec 28, 2021| 19:48 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।